आर्थिक क्षेत्रमाथि बहसको खाँचो

विकासका लागि आर्थिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यसअन्तर्गत खासगरी कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, उद्योगजस्ता क्षेत्रहरू पर्छन् र यिनीहरूको विकासबाट नै राज्यले जनतालाई विकास तथा सेवा पुर्याउन सक्छन् । त्यस कारण आर्थिक क्षेत्रलाई विकासको मेरुदण्डका रूपमा लिइएको हुन्छ ।
आर्थिक क्षेत्र भन्नेबित्तिकै उत्पादनसँग जोडिएको हुन्छ । नेपालजस्तो अतिकम विकसित मुलुकमा कृषि नै मुख्य पेसा भएको छ र यसैमा ठूलो जनसंख्या आश्रित भएको पनि छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने कुल जनसंख्याको करिब ६७ प्रतिशत कृषि पेसामा नै लागेका देखिन्छन् र कुल गार्हस्थ्य उत्पादनको २४ प्रतिशत अंश यही क्षेत्रले ओगटेको छ । पेसा र व्यवसाय दुवै भएको हुँदा यो क्षेत्रको विकास गर्न सकियो भने मात्र पनि नेपालको अर्थतन्त्रमा ठूलो सुधार आउने देखिन्छ ।
मानिसले जीवन धान्न र व्यवसाय सञ्चालन गर्न दुवै कार्यका लागि उपयोगी हुने भएकाले नेपालको विकासका लागि कृषिक्षेत्रले बढी महत्व राखेको छ । यस क्षेत्रको विकास नगरी अन्य क्षेत्रको विकासको सम्भावना देखिँदैन । सर्वप्रथम मानिस बाँच्न सक्ने विकासको आधार निर्माण गरिनुपर्छ । यो भनेको कृषिक्षेत्रको विकास हो ।
विडम्बना के छ भने नेपाल कृषिप्रधान देश भए पनि कृषिमा आत्मनिर्भर हुन सकेको छैन । क्षेत्रफलका आधारमा कृषिले ठूलो ठाउँ लिएको छ भने जनसंख्याको दृष्टिकोणबाट पनि अधिकांश जनसंख्या यसै क्षेत्रमा संलग्न छन् । यद्यपि, कृषि र कृषिजन्य पदार्थ विदेशबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य भने हुन सकेको छैन । यसरी कृषिको महत्व हुँदाहुँदै पनि यो क्षेत्रको विकास हुन सकेको छैन । अहिलेसम्म पनि खेती लगाउने समयमा कृषकले मल, बीउ पाउन सकेका हुँदैनन् । समयमा कृषि सामग्री सरकारले उपलब्ध नगराउँदा कृषिमा प्रतिकूल असर परेको छ र उत्पादनमा वृद्धि हुन सकेको छैन । सिँचाइको सुविधा त झनै परको कुरो हो ।
कृषिक्षेत्रमा देखिएका समस्या प्रस्ट छन् र तिनीहरूको समाधान पनि प्रस्टै छन् । तैपनि यस्ता समस्याको पुनरावृत्ति प्रत्येक वर्ष भइ नै रहेको हुन्छ । समस्याको पहिचान गरेर समयमै समाधान गर्नेतर्फ राज्यका संयन्त्र लाग्नुपर्ने हो, त्यसतर्फ उन्मुख नभएकाले पनि कृषिक्षेत्र राष्ट्रिय विकासमा ओझेलमा परेको छ । देशको चौतर्फी विकासका लागि यस क्षेत्रको विकास नगरी अन्य क्षेत्रको विकासको सम्भावना नै छैन । तैपनि यस क्षेत्रको विकासका लागि राज्यको ध्यान त्यति गएको छैन । प्रत्येक वर्षको वित्त नीतिले कृषिक्षेत्रलाई उपेक्षा नै गरेको देखिन्छ । बुझ्नुपर्ने कुरा के छ भने बजेट विनियोजन गरेर मात्र पनि हुँदैन । त्यसको सफल कार्यान्वयनको आवश्यकता परेको हुन्छ ।
अधिकांश जनता कृषिमा आधारित भएको हुँदा कृषिक्षेत्रको विकास नगरी देशको आर्थिक अवस्थामा सुधार आउने देखिँदैन । कृषि यस्तो पेसा हो, घरका सबै सदस्य सहभागी हुन सक्छन् र जीविकोपार्जन गर्न पनि सहज हुन्छ । नेपालमा यदि कृषि पेसाको सम्भावना नभएको भए मानिस बाँच्ने सक्ने अवस्था नै हुँदैनथ्यो । भाग्यवश हामी नेपालीलाई कृषिले बचाएको छ । अन्य उद्योगका लागि पनि कृषिले योगदान पुर्याएको हुन्छ । किनभने कृषि उत्पादनसँग सम्बन्धित कतिपय वस्तु अन्य उद्योगहरूका लागि कच्चा पदार्थ हुन सक्छन् । त्यसकारण कृषि अन्य उद्योगका लागि आधार बनेको हुन्छ ।
आत्मनिर्भर अर्थतन्त्रका लागि पनि कृषिक्षेत्रको विकास नगरी सुखै छैन । धेरै सम्भावना बोकेको यही क्षेत्र हो । कृषि उत्पादनका लागि आवश्यक पर्ने आधारभूत सामग्री राज्यको तर्फबाट उपलब्ध हुन सके कृषकहरूले मनग्य उत्पादन गर्न सक्छन् र निर्यातमा वृद्धि गर्न सकिने पनि हुन्छ । मौसमी पेसालाई पूर्णकालीन बनाउन पनि सकिन्छ । यसबाट रोजगारी यसरी बढाउन सकिन्छ कि राष्ट्रिय उत्पादनमा पनि वृद्धि ल्याउन सकिन्छ । यसरी कृषिक्षेत्रको विकासले देशको अर्थतन्त्र दरिलो हुन सक्छ ।
नेपालको अर्को आर्थिक क्षेत्र भनेको जलविद्युत हो । यस क्षेत्रको सम्भावना प्रचुर मात्रामा भए पनि यसको पूर्ण उपयोग गर्न सकिएको छैन । चन्द्रशमशेरको पालादेखि सुरु गरिएको बिजुली अहिलेसम्म पनि देशको सबै भागमा पुग्न सकेको छैन । दुर्गम गाउँघर अन्धकारमै बस्न बाध्य छन् । विद्युत उत्पादन गर्न सके बजारको समस्या छैन । दक्षिणतर्फ विशाल छिमेकी देश भारत भएकाले निर्यात गर्न सकिनेछ र अहिले पनि नेपालले न्यून मात्रामा भए पनि निर्यात गरेको छ । भारत नेपालको विकासको ठूलो साझेदार भएको हुँदा ऊर्जा क्षेत्रमा भारतको लगानी आवश्यक छ । किनभने विद्युत व्यापारका लागि भारतसँग जति सहज छ, अरू मुलुकसँग त्यति सहज देखिँदैन ।
नेपालका नदीनाला उत्तरबाट दक्षिणतर्फ बगेका र पहाडी भूभाग भएको कारणले गर्दा नदीको प्रवाह पनि तीव्र छ । यसले गर्दा विद्युत उत्पादनमा कुनै समस्या छैन । मुख्य समस्या भनेको उत्पादन गर्न नसक्नु नै हो । भारतबाहेक बंगलादेशले पनि नेपालको बिजुली खरिद गर्ने भएकाले नेपालको लागि विद्युत् व्यापारको ठूलो सम्भावना रहेको छ । विद्युत व्यापारका लागि उत्तरी छिमेकी मुलुक चीन सरकारले पनि चासो लिएको अवस्था छ ।
नेपालको विकासका लागि पर्यटन क्षेत्रको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण देखिन्छ । किनकि यस क्षेत्रको विकासबाट देशको अर्थतन्त्रलाई मजबुत बनाउन सकिने हुन्छ । नेपाल प्राकृतिक दृश्यले भरिपूर्ण छ । विश्वको सबैभन्दा उच्च हिमशिखर यहीं पर्छ । एसियाको प्रकाश भनेर चिनिने गौतम बुद्धको जन्म यहीं भएको हो । पाटीपौवा, मठमन्दिर, गुम्बाजस्ता अनुपम धार्मिक स्थलहरू भएका कारण पनि पर्यटन विकासको सम्भावना एकदमै छ । भौगोलिक अवस्थितिले पनि नेपालको पर्यटन क्षेत्रको विकासमा अनुकूलता दिएको छ । दक्षिणबाट उत्तरतिर जमिनको उचाइ बढ्दै गएको कारणले गर्दा विभिन्न हावापानी पाइन्छ र मानिसहरूको रहनसहन, धर्म–संस्कृति, रीतिरिवाज, वेशभूषा पनि फरक–फरक भएको हुँदा पर्यटन व्यवसाय फस्टाउने देखिन्छ । यो क्षेत्रको विकास गर्न सकियो भने नेपालले राम्रो विदेशी मुद्रा आर्जन गर्न सक्छ ।
निश्चय नै यस क्षेत्रको विकासमा समस्या नभएका होइनन्, समस्याको समाधान खोज्न सकियो भने देशको आर्थिक विकासको सम्भावना देखिन्छ । उत्पादनमूलक उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ प्रशस्त हुँदाहुँदै पनि उद्योगहरू फस्टाउन सकेका छैनन् । यसको मूल कारण भनेको पुँजीको अभाव हो । पुँजीकै कारणबाट कतिपय उद्योग सञ्चालन हुन सकेका छैनन् भने सञ्चालनमा रहेकाहरू पनि पूर्ण क्षमतामा आउन सकेका छैनन् । रुग्ण अवस्थामा रहेका उद्योगहरूलाई जगाउन नसकिएको हुँदा उद्योग व्यवसाय थला परेको अवस्था छ । त्यसकारण यस क्षेत्रमा देखिएका समस्याहरूको पहिचान गरेर सुधार गर्नुपर्छ । आन्तरिक उत्पादनमा वृद्धि गर्न सकियो भने आयातित वस्तुलाई विस्थापित गर्न सकिन्छ र देश आर्थिक रूपले आत्मनिर्भर बन्न सक्छ ।
नेपालमा खानीजन्य उद्योगको सम्भावना पनि त्यत्तिकै प्रबल छ । पहिचान र उत्खनन हुन नसकेकाले यो उद्योग फस्टाउन सकेको छैन । विभिन्न भूबनोट भएकाले यहाँ अनेक प्रकारका खनिज पदार्थ छन् भन्ने कुरा थाहा हुँदाहुँदै पनि यसको विकास गर्न सकिएको छैन । फलाम, तामा, पित्तलजस्ता धातुजन्य पदार्थ विदेशबाटै आयात गरिँदै आएको छ । उद्योग सञ्चालनका लागि आवश्यक पर्ने कच्चा पदार्थ पनि आयातमा नै भर पर्नुपर्ने अवस्था छ । मुलुकमा खानीजन्य उद्योगका लागि कच्चा पदार्थको उपलब्धता हुँदाहुँदै पनि यस क्षेत्रको विकास हुन सकेको छैन र जति पनि कच्चा पदार्थ आवश्यक हुन्छ सबै बाहिरबाटै आयात गरिएको अवस्था छ । कच्चा पदार्थलगायत तयारी वस्तुसमेत विदेशबाटै आयात गर्नुपरेका कारण देशको आर्थिक अवस्था कमजोर बन्दै गएको छ । देशमा उद्योगधन्दा सञ्चालन गर्न सकिने प्रशस्त आधार र सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रको विकास किन हुन सकेन, बहसको विषय बनाइनुपर्छ ।
हो, अब नेपालको आर्थिक क्षेत्रमा सुधार नगरी अर्थतन्त्रमा सुधार आउन सक्दैन । कृषि, ऊर्जा, उद्योग, पर्यटनजस्ता आर्थिक क्षेत्र विकासका मेरुदण्ड हुन् । यिनै क्षेत्र अहिले थला परेको अवस्था छ । कृषिप्रधान देश भएको र कृषिमा ठूलो जनसंख्या आश्रित भए पनि कृषिमै पनि आत्मनिर्भर हुन नसकेकोलाई विडम्बना नै भन्नुपर्छ । त्यस्तै ऊर्जाको प्रचुर सम्भावना भए पनि त्यसको पूर्ण उपयोग गर्न सकिएको छैन । उद्योगको अवस्था झनै दयनीय हुँदै गएको छ । लामो अवधिदेखि उद्योगी तथा व्यवसायीले राखेका माग सम्बोधन हुन सकेका छैनन् ।
पर्यटन क्षेत्रले अर्थतन्त्रमा केही थेगे पनि यसमा सुधार गरेर पर्यटकहरूलाई आकर्षण गर्ने काम पनि धेरै बाँकी नै छन् । बहुमतको सरकारको अभाव र वर्तमान गठबन्धनको सरकार अस्थिर भएका कारण पनि कतिपय आर्थिक नीति टालटुले भएका छन् । यस्ता नीतिले गर्दा पनि देशको आर्थिक अवस्थामा सुधार हुन सकिरहेको छैन । त्यस कारण आर्थिक क्षेत्रमा देखिएका समस्याहरूको पहिचान गरेर ठोस नीति लिनुपर्ने देखिन्छ । यिनै कुरालाई केन्द्रबिन्दु बनाई नयाँ ढंगबाट आर्थिक क्षेत्रमाथि बहस गरिनुपर्छ ।