केपी ओलीको फिल्म फ्लप भयो «

केपी ओलीको फिल्म फ्लप भयो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद डा. चन्द्र भण्डारीले सरकार गठन हुनुभन्दा अघि केपी शर्मा ओलीको अभिनय रहेको फिल्म चलेको र त्यही फिल्मका कारण नेकपाले दुईतिहाई बहुमत हासिल गरेको टिप्पणी  गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, “अहिले दुईतिहाई बहुमत प्राप्त ओली सरकारको फिल्म फ्लप भयो ।” समाजलाई भड्काउनको लागि होली–वाइन प्रकरण भएको सुनाउँदै उनले सरकारको आलोचना गरे । भण्डारीले भने, “बुद्धको मूर्र्ति तोडफोडको घटना भयो । नेपालमा के हुँदैछ ? होली वाइन प्रकरणमा हाम्रा जनप्रतिनिधिहरुलाई लम्पसार बनाइयो । अहिले तीन–चार सय गाईलाई भीरबाट खसालेर मारिएको छ । जसले गरे पनि, यो मुलुकमा द्वन्द्व फैलाउन खोज्ने षड्यन्त्र हो ।”
अहिले मुलुकको प्रणालीमाथि नै औंला ठड्याउने षड्यन्त्र भैरहेको उनको चिन्ता छ । उनले भने, “हामीले हाम्रो देशको क्षमता आँकलन गर्न सकेनौं । ९–१० खर्बको राजस्व उठ्छ, तर देशका तलदेखि माथिल्लो तहका सबै कर्मचारीको तलबमा देशको बजेट खर्च हुन्छ ।”
विगतमा देशमा एउटा राजामात्रै भएको तर अहिले आएर सयौं राजा, सयौं युवराज र सयौं युवराज्ञीहरु बन्न थालेको पनि उनको आरोप छ । उनले भने, “हाम्रा नेता तथा मन्त्रीहरुलाई फरक कुर्सी चाहिन्छ । नेताहरुलाई खोकी लाग्यो भने उपचारको लागि विदेश जानुपर्छ ।” आफूहरुले प्रणालीलाई चलाउन नजानेको उनको टिप्पणी छ ।
नेता भण्डारीले व्यक्ति असफल भएपनि व्यवस्था कहिल्यै पनि असफल नहुने तर्क गरे । उनले भने, “हाम्रा थुप्रै कमिकमजोरीहरु छन् । यस्तो पाराले त जुनसुकै बेला दुर्घटना हुनसक्छ ।”
उनले देशमा पछिल्लो समय देखिएको डेंगु संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकार गम्भिर हुनुपर्ने पनि सुझाव दिए । उनले भने, “यदि डेंगु नियन्त्रण गर्न सेना सक्षम छ भने यसलाई प्रयोग गर्नुपर्छ । सरकारले यसबारेमा स्पष्ट कुरा गर्नुपर्छ । बोल्न डराउनु हुँदैन । सेना पनि राज्यको संयन्त्र हो ।”
भण्डारीले संघीय प्रणाली आफैंमा नराम्रो नभएको जिकिर गरे । उनले भने, “यो प्रणाली आफैंमा धेरै नराम्रो होइन, तर यो धेरै महँगो भयो भन्न थालिएको छ ।” उनले वाइडबडी खरिद प्रकरणमा सरकार र अख्तियारले दोषीलाई कारबाही गर्नुपर्ने सुझाव दिए । उनले भने, “जोसुकै होस्, यसमा दोषी देखिए कारबाही गरे भैगयो नि । किन कारबाही गर्न डराउनु ? तर, कारबाही निष्पक्ष हुनुपर्छ ।”
भण्डारीले देश बनाउने हो भने भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि कारबाही गर्नुपर्ने धारणा राखे । उनले भने, “भ्रष्टाचारीहरुलाई धमाधम कारबाही गर्ने हो भने धेरै नेताहरु अहिले जेल पर्छन् । सरकारसँग काम गर्ने क्षमता छैन । भ्रष्टहरुलाई कारबाही गर्ने हुति छैन ।” उनले नेताहरुको पनि सम्पत्ति छानबिन गर्नुपर्ने माग गरे ।
आफ्नो पार्टीका सभापति एवम्् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि वाईडबडी खरिद घोटालामा संलग्न दोषीहरुलाई कारबाही गर्नुपर्ने भनेर संसदमै बोलिसकेको भण्डारीले सुनाए ।

प्रतिक्रिया दिनुहोस्