Logo

दसैंमा हवाई टिकट नपाउँदा कर्णाली र सुपुका यात्रु समस्यामा

नेपालगन्ज– नेपालीहरूको घर आँगनमा दसैंको रौनक बढिरहेका बेला विभिन्न जिल्लाबाट कर्णाली र सुदूरपश्चिम प्रदेश घर जान हिँडेका यात्रु नेपालगन्जमा अलपत्र परेका छन् । हवाई टिकट नपाउँदा दसैं मनाउन विभिन्न स्थानबाट आएका कर्णाली र सुदूरपश्चिम प्रदेशका सर्वसाधारण नागरिक नेपालगन्जमा समस्यामा परेका हुन् ।

हुम्लाका धनञ्जय जेठाराले टिकट नपाउँदा पाँच दिनदेखि नेपालगन्जमा अलपत्र हुनु परेको बताए । शिक्षण पेशामा भोजपुर जिल्लामा कार्यरत उनी दसैं मनाउन हुम्ला जान भनी नेपालगन्ज आए पनि टिकट पाउन नसक्दा होटलमा बस्न बाध्य भएको बताए । टिकट पाउन नसकेपछि हाल उनी दैनिक रूपमा नेपाल वायुसेवा निगमको टिकट बिक्री तथा आरक्षण कक्ष धम्बोजीमा बिहान सबेरै धाउने गरेका छन् ।

‘बिहान चार बजे टिकटका लागि यहाँ आएको हुँ,’ उनले भने, ‘अहिलेसम्म पाउन सकेको छैन ।’ उनीजस्तै कोल्टी बाजुराकी संगिता विष्टले दसैं मनाउन घरजान टिकट काट्न आए पनि टिकट पाउन नसकेको बताइन् । नेपाल वायुसेवा निगमले पहुँचवालालाई मात्र टिकट वितरण गर्दा आफूहरूले पाउन नसकेको उनको भनाइ छ । एउटा फ्लाइटमा १७ सिट हुन्छ,’ उनले भनिन्, ‘तर यहाँ सातवटा टिकट मात्र सर्वसाधारणलाई दिने गरिन्छ, बाँकी टिकट पहुँचवालाले पाउँछन् ।’

स्थलमार्ग सुरक्षित नभएका दुर्गम पहाडी जिल्लाका यात्रु हवाई टिकट नियमित नहुनुका साथै सहजै नपाउँदा समस्यामा परेका छन् । सडक यातायातको पहुँच नभएका कर्णाली प्रदेशको डोल्पा र हुम्लाका साथै सडक यातायात पुगे पनि त्यति भरपर्दो नभएका जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुराका बासिन्दाले हवाई टिकटसमेत नपाउँदा सास्ती झेल्नु परेको छ ।

नियमित उडान नभएकाले हवाई टिकटको व्यापक दुरुपयोग हुने गरेको यात्रुहरूको गुनासो छ । नेपाल वायुसेवा निगमका उडानहरू अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सहरूले पनि नियमित उडानलाई भन्दा चार्टर उडानलाई प्राथमिकतामा राखेका कारण नियमित हवाई उडानमा सर्वसाधारणलाई टिकट पाउन मुस्किल हुने गरेको उनीहरू बताउँछन् ।

खासगरी दसैंको समयमा अन्य समयभन्दा बढी यात्रुको चाँप बढे पनि पर्याप्त उडान नहुँदा यात्रुले सास्ती पाएका हुन् । निजी एयरलाइन्सहरूले नियमित उडानलाई भन्दा चार्टरलाई बढी प्राथमिकता दिएका छन् । हाल नियमित उडान भर्दै आएको नेपाल वायुसेवा निगममा पनि पहुँचवालाले मात्र टिकट पाउँदा आफूहरू समस्यामा परेको हुम्लाका कृष्णबहादुर सिंहले बताए ।

यसअघि सातामा तीन दिनमात्र उडान भर्दै आएको नेपाल एयरलाइन्सले भने दसैंलाई लक्षित गरी आइतबारदेखि आठ दिनका लागि उडान थप गरेको जनाएको छ । नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मानबहादुर चौधरीका अनुसार दसैंको समयमा यात्रुको चाप बढी हुँदा उडान थप गरिएको छ । ‘यसअघि हप्तामा तीन दिनमात्र उडान हुँदै आएको थियो,’ उनले भने, ‘अहिले आठ दिनका लागि उडान थप गरी नियमित बनाइएको छ ।’

यात्रुलाई सहज रूपमा सेवा दिने प्रयास भइरहेको बताउँदै बिरामी, बच्चाबच्ची, वृद्धवृद्धालाई प्राथमिकतामा राखेर टिकट वितरण गरिए पनि यात्रुको चाप बढ्दा सबैले पाउन असहज भएको उनको भनाइ छ । टिकट वितरणको काम व्यवस्थित नहुँदा हरेक वर्षको दसैं तिहारमा पहाडी तथा हिमाली जिल्लाका यात्रुले सास्ती खेप्नुपरेको छ । स्थल यातायात पनि भरपर्दाे नभएका दुर्गम जिल्लाका यात्रुहरू चाडवाड तथा बिरामी पर्दा पनि सहज रूपमा गन्तव्यमा पुग्न नपाएको भन्दै आक्रोशित छन् ।

प्रतिक्रिया दिनुहोस्