दसैं बजारमा छैन रौनक

जुम्ला– नेपालीहरूको महान पर्व दसैं नजिकिए पनि जुम्लामा दसैंको रौनकता छाएको छैन । घटस्थापनासँगै चहलपहल बढ्ने बजार सुनसानजस्तै छ । घटस्थापनाका दिन प्रसिद्ध चन्दननाथ भैरबनाथ मन्दिरका लिङ्गा हाल्न नागरिकको बाक्लो भीड भए पनि कोभिडपछि जुम्लाको व्यापार व्यवसाय अझै लयमा फर्किन सकेको छैन ।
आर्थिक मन्दि, बढ्दो ब्याजदर, घट्दो व्यापारका कारण अधिकांश व्यापारी पलायन भइसकेका छन् भने कोभिडले रोजगारी, आर्थिक उपार्जनका काम ठप्प हुँदा त्यसको प्रभाव दसैंमा देखिन थालेको छ । एकातिर उपभोक्तासँग पैसा नहुनु र अर्काेतिर व्यवसायी पलायन हुनुले जुम्लाको बजारमा दसैंको रौनक छाउन नसकेको हो ।
घटस्थापनापछि नयाँ कपडा किन्ने, दैनिक उपभोग्य सामग्री खरिद गर्ने, टेलर्समा नयाँ लुगा सिलाउनेको बाक्लो भीड हुन्थ्यो । उपभोक्ताको भीड थामी नसक्नु हुने पसलमा पनि फाट्टफुट्ट रूपमा आइरहेका छन् । २०३८ सालतिर जुम्लामा घडी रेडियो बनाउँदै व्यवसायमा होमिएका व्यापारी रज्जवअलि मनिहार पछिल्लो समय व्यापार संकटमा रहेको बताउँछन् । २०४२ सालदेखि औपचारिक व्यवसाय थालेका मनिहार सफल व्यवसायीकै परिचय स्थापित गरेकै कारण उनी जुम्ला उद्योग वाणिज्य संघको अध्यक्षसमेत भए ।
बितेको ४० वर्षमा उनले व्यापार व्यवसायबाट कहिले घाटा बेहोर्नु परेन । ग्रामीण बजारदेखि सदरमुकामका पसलमा दैनिक उपभोग्य सामान पुर्याउँछन् । उनी जिल्लाका डिलर सञ्चालकसमेत हुन । तर कोभिडपछि थलिएको अर्थतन्त्रका कारण अझै व्यवसाय लयमा फर्किन सकेको छैन । व्यापारी मनिहार भन्छन्, ‘दसैं नजिकिए पनि अपेक्षित व्यापार छैन । बैंकको साँवा ब्याज तिर्नै मुस्किल छ । विगतमा उपभोक्ताको भीड लाग्ने गरे पनि अहिले सामान पुर्याउन जाँदासमेत लिन मान्दैनन् । विगत जस्तो बजारमा दसैंको रौनक छैन ।’
विगतमा दैनिक मुस्किलले ३० प्रतिशतमात्रै व्यापार हुने गरे पनि दसैं नजिकिएपछि थोरै बढे पनि अपेक्षानुसार व्यापार नभएको उनको भनाइ छ । जुम्लाकै व्यापारी मीनप्रसाद पौडेलका अनुसार विगतको जस्तो दसैं बजारमा उत्साह छैन । उनी भन्छन्, ‘हामीसँग वस्तु छ । पहिलाको भन्दा केही सस्तो पनि छ । तर उपभोक्तासँग पैसा छैन । व्यापारीले ऋण गरेर पनि वस्तु ल्याइरहेकै छ । तर उपभोक्तासँग पैसा नहुँदा व्यापार ठप्प छ । ऋण जोहो गरेर भए पनि चाडपर्वमा निको मसिनो खाने गर्छन् तर अहिले त्यो स्थिति पनि रहेन ।’
मुलुकमा बढ्दो आर्थिक संकटको मारमा व्यापारी परेका छन् । बढी पुँजी लगानी भएको सहरी क्षेत्रभन्दा कर्णाली जस्तो दुर्गम भेगका व्यापारीलाई आर्थिक मन्दीले मारमा पारेको छ । उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटा कोभिडले थलिएको व्यापार क्षेत्र उठ्न नसकेकै कारण अहिले दसैं बजारमा रौनकता नछाएको बताउँछन् । उद्योग वाणिज्य संघ जुम्लामा दर्ता भएका १८ सय व्यवसायमध्ये ५६५ वटा व्यवसायबाहेक अन्य नवीरकण हुन सकेका छैनन् ।
त्यो पनि अर्थतन्त्र संकटको प्रत्यक्ष प्रभाव हो । बजारमा दैनिक उपभोग्य पसलबाहेक अन्य व्यवसाय बढी संकटमा छन् । फेन्सी व्यवसायी बढी घाटामा छन् । दसैं तिहारका बेला हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्न जिल्ला प्रशासनले बजार अनुगमनलाई समेत जोड दिएको छ । सदरमुकामदेखि ग्रामीण बजारको अनुगमनलाई तीव्रता दिइँदै छ । सामान किन्दा विशेष ख्याल गर्न, मिति हेर्नसमेत अनुरोध गरिएको छ ।
जुम्लामा बाली भित्र्याउने चटारो
बजारमा दसैंको रौनक देखिनुमा कामको चटारो सुरु हुनु पनि एक कारण हो । यस वर्ष दसैं टीका कात्तिक ७ गते छ । विगतमा असोज दोस्रो सातासम्म दसैं हुन्थ्यो र जसका कारण बाली केही ढिला भित्र्याइन्थ्यो । तर यसपालि पछि दसैं परेकाले सबै काम सकाएर दसैं मनाउने तरखरमा किसान छन् । जसका कारण बजारमा अझै रौकनता छाउन नसकेको देखिन्छ ।
जुम्लाको तातोपानी गाउँपालिका–५ श्रीनगर जिउलोदेखि चन्दननाथ क्षेत्रमा मार्सिधान काटिरहेका छन् भने जिल्लाभरका किसान, सिमि, कोदो, भित्र्याउने, घाँस काट्ने भण्डारण गर्ने काममा व्यस्त छन् । जसका कारण दसैंका लागि किनमेल गर्न बजारमा आउन सकेका छैनन् । गाउँमा कामको चटारोे लागेकाले पनि बजारमा दसैंको उत्साह नदेखिएको उद्योग वाणिज्य संघका अध्यक्ष पुरिचन्द्र देवकोटाले बताए ।
उनले भने, ‘हिउँदको जोहो गर्न किसानलाई किनमेलभन्दा अन्न भित्र्याउन महत्वपूर्ण छ । धेरैसँग बजारको किन्न आर्थिक अभाव छ । तर अन्न छ । अन्न भए हिउँद वर्षका ४/५ महिना सहजै कट्छ । त्यसैले किसान आफ्नै घरायासी काममा बढी व्यस्त छन् । किनमेलको खासै मतलब छैन ।’ दसैंमा कामका कारण केही कम व्यापार भए पनि तिहारमा व्यापार उत्साहजनक हुने व्यापारीको आशा छ ।