बजेट पाएपछि गेटामा ओपीडी सुरु «
Logo

बजेट पाएपछि गेटामा ओपीडी सुरु

धनगढी– सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुने तयारी भएको गेटामा बुधबार (आज)बाट अस्पताल सञ्चालनमा आउने भएको छ । गेटा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी बहिरंग सेवा (ओपीडी) सुरु हुने जनाएका हुन् ।

उनले अस्पतालमा ११ जना विशेषज्ञबाट बुधबारबाट सेवा सुरु हुने बताए । अस्पतालले ओपिडी सेवासँगै आधारभूत ल्याब सेवासमेत दिने उनले बताए । अस्पतालमा जनरल, हार्डजोर्नी तथा नसा रोग, स्त्रीरोग, जनरल सर्जरी, अल्ट्रासाउण्ड, एक्स रे, प्रयोगशाला, फार्मेसी सेवा कात्तिक १ गते (आज) बुधबारबाट सुरु हुने निर्देशक जोशीले बताए ।

अस्पतालले सेती प्रादेशिक अस्पतालले लिइरहेको बराबरकै शुल्कमा उपचार सेवा दिने निर्देशक जोशीले बताए । अस्पताल सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ११० जनाको राजपत्रांकित सहायकस्तर र श्रेणीविहीन ११० जनाको मन्त्रीस्तरीय निर्णयबाट अस्थायी दरबन्दी स्वीकृत भएको छ भने मन्त्रिपरिषद्बाट अधिकृतस्तरको ३१ जनाको दरबन्दी स्वीकृत भएको छ । हाल २६ जना चिकित्सक र स्वास्थ्यकर्मी लगायतको जनशक्तिसहित सेवा सुरु गर्न लागिएको निर्देशक डा. जोशीले बताए ।

उनले कात्तिक महिनाभित्रै एमसिएच क्लिनिक, मंसिर महिनाभित्रै खोप सेवा र अन्तरंग सेवा, पुस महिनाभित्रै इमरजेन्सी सेवा र प्रसूति सेवा, चैत महिनाभित्रै शल्यक्रिया सेवा, वैशाख महिनाभित्रै आईसियू तथा एनआईसियू सेवा विस्तार गर्ने तयारी रहेको बताए । यसैगरी, अस्पतालले बिमाबाट प्राप्त हुने सेवा दिनका लागि पनि तयारी थालेको छ । संघीय सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमार्फत् एक सय शैयाको अस्पताल सञ्चालन गर्ने घोषणा गरी बजेट विनियोजन गरेको थियो ।

निर्देशक डा. जोशीले पुँजीगततर्फ ८० करोड र चालुतर्फ साढे तीन करोड रुपैयाँ गेटा अस्पतालका लागि बजेट विनियोजन भएको बताए । उनले उपकरण खरिद गर्न, जनशक्ति नियुक्त गर्न र भौतिक संरचनाको अख्तियारी पाउन बाँकी रहेकोले पहिलो चरणमा ओपिडी सेवा सञ्चालन गरिरहेको बताए । गेटा अस्पताललाई सरकारले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने लक्ष्य राखेको छ । त्यसका लागि सरकारले राष्ट्रिय सभामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनसम्बन्धी विधेयक दर्ता गराइसकेको छ ।

विश्वविद्यालय सञ्चालनका लागि गेटामा साढे पाँच अर्ब लगानीमा अस्पताल, कजेल, प्रशासनिक, आवासीय भवन ३६ वटा भवन निर्माण भएका छन् । तीमध्ये कतिपय भवन निर्माण सम्पन्न भई गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिलाई हस्तान्तरण भइसकेका छन् भने केही निर्माणको अन्तिम चरणमा छन् । मेडिकल कलेज सञ्चालन गर्ने भनी २०६६ बाट निर्माण प्रक्रिया थालिएको गेटामा भौतिक पूर्वाधार निर्माण गर्न अझै अढाइ अर्ब लागत लाग्ने अनुमान छ ।

अस्पताल कम्पाउण्डभित्रको सडक, बगैंचा, गेट, फोहोर मैला व्यवस्थापन लगायतका संरचना निर्माण गर्न अझै बाँकी छ । निर्देशक डा. जोशीले भौतिक संरचना अख्तियारी पाउँदै अस्पताल सेवा विस्तार गरिने बताए । विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरी अस्पताल सञ्चालन गर्ने बजेट विनियोजन गरेकोमा सरकारले यहाँका नागरिकलाई झुक्याएको भन्दै आन्दोलन पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्