Logo

जुम्लामा रैथाने फूलको व्यापार बढ्दो

जुम्ला– पछिल्ला वर्षमा जुम्लामा रैथाने फूलको व्यापार हुन थालेको छ । आयातित प्लास्टिक मालाकै भरमा दसैं तिहार मनाउने जुम्लामा केही वर्षयता रैथाने फूलको प्रयोग र व्यापार बढेको हो । कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरमा नयाँ लिङ्गा फेरिएसँगै जुम्लामा घटस्थापना भित्र्याउने र विधिवत दसैं सुरु भएको मानिन्छ ।

घटस्थापनाका दिन सयौ भक्तजनले फूल माला लिएर मन्दिरमा चढाउने र घरघरका ढोकामा फूलका माला लगाउने परम्परागत चलन छ । विगतका ४/५ वर्ष पहिला हरेक घरघरमा आयातित प्लास्टिकका माला लगाएका हुन्थे भने बजारभरि प्लास्टिक मालाले भरिएको हुन्थ्यो । तर पछिल्लो २/३ वर्ष यता जुम्लामा व्यावसायिक पुष्पखेती हुन थालेपछि रैथाने फूलको व्यापार हुन थालेको छ ।

फूलको अभावमा यहाँका घरघरमा यसअघि प्लास्टिकका फूलहरू देखिने गरेकोमा यो वर्ष भने जुम्ली फूलका माला प्रयोग भइरहेको देखिन्छ । फूलको अभावमा घटस्थापनाका दिन चन्दननाथ भैरवनाथ मन्दिरमा पूजा गर्न जाँदा अधिकांश मानिस खाली हात नै मन्दिर जान्थे । यस पटक भने जुम्ली फूलले यहाँको अभावलाई टारेको छ । जुम्ला चन्दननाथका महिला पुष्पखेतीमा आकर्षण भएपछि रैथाने फूलको व्यापार बढेको हो ।

दसैं र तिहारसम्म रैथाने फूल बिक्री गर्ने तयारीमा पुष्प व्यवसायी छन् । तर तिहार ढिला हुँदा पुष्प व्यवसायी चिन्तामा छन् । चन्दननाथ नगरपालिका–७ कि विष्णुमाया रावतले ३/४ वर्षदेखि दुई भारी खेतमा पुष्प व्यवसाय गर्दै आएकी छन् । जुम्लामा पुष्पखेतीको सम्भावना राम्रो छ । बजारको पनि समस्या छैन । उनले भनिन्, ‘गत वर्ष दसैं तिहारमा मात्रै फूल बेचेर १५–२० हजार कमाएकी थिएँ । तर यसपालि तिहार मंसिरमा परेकोले फूल बचाउन मुस्किल छ । दसैंमा सकेजति बिक्री गर्ने । यसपालि १५ हजार कमाइ हुने आशा छ ।’

त्यस्तै चन्दननाथ–७ कै पुष्प व्यवसायी कृष्णमाया कठायतले पनि दुई वर्षदेखि फूलखेती गर्दै आएकी छन् । उनले गत वर्ष फूल बेचेर करिब १० हजार कमाएकी थिइन् । त्यही आशा यस वर्ष फूलखेती गरेकी कठायत चिन्तामा छन् । सयपत्री, मखमली, सुपारी, टोकेरे फूल उत्पादन गरेकी कठायत वर्ष तिहार पछि परेपछि फूल बचाउन नसकिने चिन्तामा छन् । उनी भन्छिन्, ‘चिसो बढेपछि फूल ओेइलाउँदै गएको छ । दसैं तिहार खर्च मज्जाले उठ्थ्यो । रैथाने फूलमा आकर्षण पनि बढेको छ । तर तिहार ढिला पर्दा समस्या हुने देखिएको छ ।’

चन्दननाथ–१० की झुमा सार्कीले गत वर्ष फूल बेचेरै १५ हजार कमाएकी थिइन् । दुई भारी खेतमा पुष्पखेती गरेको उनको भनाइ छ । पुष्प व्यवसायी महिलालहरूले फूलपातीदेखि बजारमा फूल बेच्न थालेका छन् । बजारमा माग बढे पनि मौसम प्रतिकूलताका कारण तिहारसम्म फूल जोगाउन मुस्किल भएको कृष्णमाया कठायत बताउँछिन् । फूलको प्रतिकिलो ३०, ५० र एक सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ ।

अझै स्थानीय सरकारले पुष्प व्यवसायका लागि लगानी गर्न सकेका छैनन् । प्लास्टिकका माला आयातमा रोक लगाउन रैथाने उत्पादनमा जोड दिन जरुरी छ । वर्षाैदेखि गाउँमै १२ प्ररकारका फूल उत्पादन गर्दै आएकी चन्दननाथ नगरपालिका–८ की पुष्प व्यवसायी पुस्तक धरला जुम्लामा व्यावसायिक फूलखेती नहुँदा आयातित मालाले बजार पाएको बताउँछन् ।

आयातित मालालाई पूर्ण रूपमा रोक लगाउन एक्लो प्रयासले सम्भव नहुने पकेटका रूपमा फूलको उत्पादन बढाउनु पर्नेमा किसानको जोड छ । पुष्प व्यवसायबाट पनि आम्दानी राम्रै हुन्छ भन्ने उदाहरण देखाउनसमेत उदाहरणका रूपमा केही महिला पुष्पखेतीमा लागेका छन् । घटस्थापनाका दिनमा मात्रै झुमा सार्की, कृष्णमाया कठायत र विष्णुमाया रावतले करिब २० हजार बराबरको फूल बिक्री गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्