Logo

पासाङ ल्हामु सडकको लगत कट्टा नहुँदा

सार्वजनिक सडकको तिरो तिर्न बाध्य

रसुवा– सडक निर्माण भएको ४१ वर्ष बित्दा पनि सडक नक्शांकन तथा लगत कट्टा नगर्दा जनता सार्वजनिक सडकको समेत तिरो तिर्नुपर्ने बाध्यतामा छन् । सडक विभागले सडक नक्शांकन तथा लगत कट्टा नगर्दा घर तथा जग्गा किनबेच गर्दा जिल्लाको सार्वजनिक सडक समेत रकम तिर्नु परेको छ ।

काठमाण्डाैं–त्रिशूली–धुन्चेहुँदै सोमदाङ सडकको तथा अन्य ग्रामीण सडकको पनि तिरो तिर्नु परेको हो । जसका कारण अहिले पनि व्यक्तिगत जग्गा सरह सडक किनबेच हुन्छ । सरोकारवालाले बेवास्ता गरेकोले सडक आसपासको जग्गा किनबेच गर्न अहिले पनि सडक किनबेच हुने गर्दछ । जिल्लामा दर्जन बढी सडक निर्माण भएपनि नक्शांकन भएको छैन ।

सडक कित्ताकाट गरेर लगत लिनुपर्ने सडक विभागले सडक नक्शांकन तथा लगत कट्टा नगरेकाले जिल्लावासी मर्कामा परेको कालिका गाउँपालिका–३ का खिलप्रसाद आचार्य बताउँछन् । नेपाली सेनाको कालीबक्स गणले खनेको पासाङ ल्हामु सडक वि सं २०३९ सालमा सञ्चालन भएको हो । सडक निर्माणअघि आफ्नो नाममा रहेको जग्गामा सडक बनेर गाडी गुडेको वर्षौ बिते पनि अहिले पनि जग्गा किनबेच गर्दा सडकको पनि तिरो तिरेर किनेच गर्छन् ।

स्याफ्रुबेशी–रसुवागढी, गोल्जुङ–गत्लाङ चिलिमे, कालिकास्थान–जिवजिवे, लोकिल–यार्सा, भोर्ले–नौकुण्ड, बेत्रावती–परेबेशी, मैलुङ्ग–स्याफ्रुबेशी, बनुबा–कर्मीडाँडाँ–कालिकास्थान लगायतका ग्रामीण सडकको पनि लगत कट्टा नभएको गुनासो छ । लगत कट्टा हुन्छ तर नापीले फिल्डमा पुगेर गर्नुपर्ने र सडकलाई कति छाडेर काट्ने भनेर एकीन नगरेकोले समस्या भएको हो । यसअघि १५/१५ मिटर छाड्ने भने पनि तथ्यमा कति काट्ने एकीन नभएकोले अझै समस्या अन्यौलमा रहेको मालपोत कार्यालयका प्रमुख गणेश श्रेष्ठले बताए ।

स्थानीय सरकार तथा सरोकारवालाले नापीसँग समन्वय गरेर ग्रामीण सडकको समेत लगत निकाल्नुपर्ने तर कुनै पनि स्थानीय तहले सुरु नगरेको प्रमुख श्रेष्ठले बताए । उनले भने, ‘पासाङल्हामु साजमार्ग सडकको त लगत कट्टा हुन सकेन ग्रामीण सडकको त कुरै भएन ।’ यसअघि जिल्ला भूमि अधिकार मञ्च, संवाद समूहलगायतले जिल्लाको ठूलो समस्याको रूपमा रहेको सडकको लागत कट्टा गर्ने विषयमा जिल्ला प्रशासन, जिल्ला समन्वय समितिलगायत सरोकारवाला निकायमा मागपत्रसमेत पेस गरेका थिए ।

पासाङ ल्हामु सडक काठमाडौंको बालाजुदेखि सोमदाङसम्म फैलिएको छ । यो सडक बेत्रावतीदेखि गतलाङ हुँदै धादिङको सिमाना सोमदाङसम्म जोडिन्छ । स्याफ्रुबेशी–रसुवागढी सडक, बेत्रावती–मैलुङ–रसुवागढी अन्तर्राष्ट्रिय सडकको समेत हालसम्म लगत कट्टा भएको छैन । यसले गर्दा लामो समयदेखि जिल्लाबासी समस्यामा छन् ।

प्रतिक्रिया दिनुहोस्