स्थायी जागिर छाडेर कुखुरापालन «

स्थायी जागिर छाडेर कुखुरापालन

दोलखा– सरकारी जागिर खाने अधिकाँश नेपालीको रहर हुन्छ । स्थायी जागिर भएपछि जीवनभरलाई नियमित जीवन निर्वाहका लागि ढुक्क हुने भएकाले पनि धेरैको रोजाइ सरकारी जागिरकै हुन्छ । करार र अस्थायी जागिर हुनेहरू स्थायीका लागि सक्दो प्रयास गर्छन् ।

कृषि र पशुपन्छी पालनलाई भने नेपालीहरूले हेला पेशाको रूपमा लिने गरेका छन् । त्यसैले पछिल्लो समय उत्पादनशील खेतबारी बाँझै छाडेर सहर पस्नेहरू दिनप्रतिदिन बढ्दो क्रममा छ । तर त्यसको ठीकविपरीत भीमेश्वर नगरपालिका–४ जिलूकी जिष्णुकुमारी उप्रेती भने जागिर स्थायी हुने बित्तिकै जागिर छाडेर कुखुरापालनमा लागिन् ।

झण्डै दुई दशक अस्थायी शिक्षकको रूपमा काम गरेपछि लोक सेवाबाट जब जागिर स्थायी भयो, त्यही बेला जागिर छाडिन् । २० वर्ष प्रावि तहमा अस्थायी जागिरपछि स्थायी भयो, माविको पनि स्थायीको लिखितमा नाम पनि निस्कियो । जागिर पनि सदरमुुकाम नजिकैको राजमार्ग छेउमै थियो । यहीबेला उनलाई आफैंले केही गरौं भन्ने लाग्यो र कुखुरापालनमा लागिन् ।

उप्रेतीले भीमेश्वर नगरपालिका–७ साखिनेमा पाँच रोपनी जग्गा लिएर अण्डाका लागि कुखुरापालन सुरु गरिन् । अहिले उनको कुखुराफर्ममा ६ हजार कुखुरा छन् । तीन हजार कुखुराले दैनिक अण्डा दिन्छन् । दिन बिराएर एक गाडी अण्डा बजारमा जान्छ । यही फारामको अण्डा चरिकोट, सिंगटी, मैनापोखरी र जिरी बजारसम्म पुग्छ ।

स्थानीय बजारमा खपत नभएको अण्डा बनेपासम्म पुग्छ । २० वर्ष दैनिक १० बजेदेखि चार बजेसम्म पढाउने काम गर्ने उप्रेती राजनीतिक पार्टीमा पनि झुकाव छ । उनको पार्टीमा अहिले पनि जिम्मेवारी छ । तर कुखुराको स्याहारसुसारमा बिहान चार बजेदेखि दिनभर फुर्सद निकाल्न गाह्रो छ । साढे दुई करोड लगानीमा सुरु भएको उनको कुखुरा फाराममा पाँच जनालाई रोजगारी दिएकी छिन् ।

छोराछोरीको उच्च शिक्षा, पारिवारिक खर्चसमेत गरेर अहिले ऋणसमेत चुक्ता हुने अवस्थामा पुगेको छ । २०७४ देखि सुरु भएको फाराममा सुरुवाति चरणमा प्राविधिक र व्यवस्थापकीय ज्ञानका कारण केही घाटा भयो तर कामलाई निरन्तरता दिंँदा उनलाई पूर्ण सन्तुष्टि भएको बताउँछिन् । उनको कुखुरा फाराम दोलखाकै ठूलो र नमुना फारामकै रूपमा चिनिन्छ ।

वैतेश्वर गाउँपालिका–४ घिमिरेटारका पुण्यप्रसाद घिमिरे पनि ६ महिना अघिसम्म स्थायी शिक्षक हुन् । २५ वर्ष बढी शिक्षण पेशामा रमाएका घिमिरेले गाउँमै गाई फाराम सुरु गरेपछि घर छेउकै जागिर छाडे । १५ वटा गाई पालेका घिमिरेको फारामबाट दैनिक एक सय लिटर बढी दूध निस्किन्छ । दूध लिन गाडी फारामसम्मै पुगेर दैनिक डेरीले चरिकोटसम्म ल्याउँछ ।
जागिरभन्दा आफ्नो व्यवसायबाटै सन्तुष्टि रहेको उनी बताउँछन् ।

‘जागिर खाएपछि तलबका लागि महिनाभर कुर्नुपर्ने त्यो पनि निस्चित हुन्छ,’ उनले भने, ‘यहाँ त दैनिक पैसा हातमा पर्छ, अझ मेहेनत गरे परिश्रम अनुसारको कमाइ पनि हुन्छ ।’ ग्रामीण क्षेत्रमा कृषि र पशुपालनमै सम्भावना भएकाले युवाहरूलाई रोजगारीका लागि अन्यत्र नभौतारिन आग्रह गरे ।

मेलुङ गाउँपालिका–१ पवटीका सोभित उप्रेती कुनै बेलाका काठ व्यापारी हुन् । राजनीतिमा पनि सक्रिय हुने उप्रेती आजभोलि कुखुरा पालनमा व्यस्त छन् । सडकनजिकै जग्गा भाडामा लिएर कुखुरा पालन थालेका हुन् । अहिले आठ हजार कुखुरा रहेको उप्रेतीको फाराममा दैनिक पाँच हजार अण्डा संकलन हुन्छ । त्यो लिनका लागि गाडी फारामसम्मै आइपुग्छ ।

उनका कुखुराको अण्डा जिल्लाभरका बजार पुग्छन् । अण्डाको मूल्य पनि राम्रो भएकाले यो वर्ष व्यवसायीहरू पनि सन्तुष्ट छन् । पशुसेवा तथा भेटेरिनरी अस्पताल दोलखाका प्रमुख डा. ज्ञानबहादुर जिरेल फाराममार्फत् पशुपन्छी पाल्ने किसान बढ्दो क्रममै रहेको बताए । केही गर्छु भन्ने किसानलाई अस्पतालले प्राविधिक ज्ञान र सेवा दिँंदै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्