नवीकरणीय ऊर्जा परियोजना व्यवस्थापनमा जोड

काठमाडौं– सरोकारवालाहरूले नवीकरणीय ऊर्जा परियोजनामा दिगो वित्त र सामाजिक द्वन्द्व व्यवस्थापनमा जोड दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इन्टरनेसनल सेन्टर फर हाइड्रोपार (आईसीएच) को सहआयोजनामा दुईदिने दीगो वित्तीय उपकरण व्यवस्थापनसम्बन्धी तालिममा सरोकारवालाहरूले सो कुरा बताएका हुन् ।
असोज २९ र ३० गते आयोजना गरिएको उक्त कार्यक्रममा नवीकरणीय ऊर्जामा काम गरिरहेका २८ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । दुई दिने तालिमको उद्घाटनमा बोल्दै इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा उद्यमीहरूको क्षमता वृद्धिका लागि आईसीएच र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको सहकार्यमा आयोजना गरिएको दिगो वित्तीय उपकरणसम्बन्धी तालिमले नवीकरणीय ऊर्जाको क्षेत्रमा वित्त व्यवस्थापनमा ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै आईसीएचकी प्रबन्ध निर्देशक लिने अम्लुन्ड हेगनले नवीकरणीय ऊर्जाको दिगो वित्त व्यवस्थापनका लागि तालिम आयोजना गरिएको बताइन् । सामाजिक–पर्यावरण द्वन्द्व व्यवस्थापनमा पाँचदिने तालिम इप्पान र आईसीएचकै सहकार्यमा नवीकरणीय ऊर्जा परियोजनामा सामाजिक–पर्यावरण द्वन्द्व व्यवस्थापनसम्बन्धी पाँचदिने तालिम केही दिनअघि मात्र सम्पन्न भएको थियो ।
असोज २२ देखि २६ सम्म आयोजना भएको तालिममा स्थानीय र पर्यावरणसम्बन्धी द्वन्द्व व्यवस्थापनका बारेमा आईसीएचका तर्फबाट दर्जनौं पेपरहरू प्रिजेन्टेसन गरिएको थियो । उक्त तालिममा नेपालको ऊर्जा क्षेत्रमा सक्रिय १५ जना र फिलिपिन्सका तीन जना ऊर्जा उद्यमीहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई इप्पानकी सचिव कविता पोखरेलले प्रमाणपत्र वितरण गरेकी थिइन् । इप्पान र आईसीएचबीच विगत डेढ दशकदेखि नवीकरणीय ऊर्जा क्षेत्रका विविध विषयमा सहकार्य हुँदै आएको छ ।