मुलुकको अर्थतन्त्र गम्भीर संकटमाः पूर्वअर्थमन्त्री

लुम्बिनी- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पुगेको बताउँदै तर आवश्यकताअनुसार सरकार भने गम्भीर बन्न नसकेको बताएका छन् ।
रुपन्देही उद्योग संघको ४५औं साधारणसभा तथा २३औं अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै नेता पौडेलले देशको अर्थतन्त्र मन्दीको अवस्थामा पुग्दासमेत सरकारले स्वीकार गर्न नसकेको र जनता र राष्ट्रका समस्या समाधान गर्न सरकारले चासो नदिएको बताए ।
उनले बजार मन्दीको अवस्थामा पुगेको भन्दै अर्थतन्त्र गम्भीर संकटमा फसेकाले सामान्य ढंगबाट यो समस्याको समाधान हुन सक्ने अवस्था नरहेको बताए । उनले अर्थतन्त्रको हिसाबमा हेर्दा मुलुकको अहिलेको परिस्थिति विशेष रहेकाले त्यसै बमोजिमको अग्रसरता र सरकारको निर्णय हुनुपर्नेमा हुन नसकेको बताए ।
पूर्वअर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या साधानका लागि संसद्मा रहेका सबै राजनीतिक दल, आर्थिक क्षेत्रका विज्ञ र निजी क्षेत्रको विश्वास जितेर सरकारले गम्भीर कदम चाल्नुपर्नेमा त्यसो हुन नसकेको बताए । उनले सरकारको नीति र कार्यशैलीप्रति कुनै पनि उद्योगी, व्यवसायी सन्तुष्ट हुने अवस्था नरहेकोसमेत बताए ।
“सरकारले उद्योगी र व्यवसायीहरूको टाउकामा लाठी बर्साएको छ, उद्योगीका समस्या सुनेर समाधान गर्न सकेको छैन र उल्टै उद्योगी र व्यवसायीलाई त्रसित गर्ने काम गरेको छ”, उनको आरोप छ । मुलुकको आर्थिक संकटका कारण पूँजी पलायन हुँदै गएको र भएका उद्योग पनि बन्द हुने अवस्था सिर्जना हुँदै गएको उनको भनाइ थियो ।
अहिले देशका उद्योगहरूले आफ्नो क्षमताको ५० प्रतिशत मात्र उत्पादन गर्न सकेको उनले बताए । उनले भने, “उद्योगहरुमा उत्पादन घटेको छ, माग, आपूर्ति पनि घटेको छ ।” उनले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र र तिनाउ दानव करिडोर बन्न नदिने प्रयत्न भइरहेको भन्दै त्यो कार्य सफल नहुने बताए ।