फिफा विश्वकप छनोटका लागि नेपाली टोली घोषणा «

फिफा विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

कतारमा सन् २०२२ मा आयोजना हुन लागेको फिफा विश्वकप अन्तर्गत एसियन छनोट दोस्रो चरणका नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक जोहान कालिनले छनोट अन्तर्गत कुवेत र चाइनिज ताइपेइसँगको लागि बिहीबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।
घोषित टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् । डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल छन् ।
मिडफिल्डमा सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, सन्तोष तामाङ, विशाल राई र रोहित चन्द छन् । फर्वाडमा विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ छन् ।
नेपालले छनोट अन्तर्गत आगामी विहिबार समूह बि को पहिलो खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दै विश्वकप छनोट यात्रा सुरु गर्नेछ । यस्तै भदौ २४ गते मंगलबार चाइनिज ताइपेइसँग खेल्नेछ । मलेसियन लिग च्याम्पियन टोलीसँगको मैत्रीपूर्ण खेलका लागि टोलीमा समावेश नगरिएका विराज महर्जन विश्वकप छनोटमा पनि पर्न असफल भएका छन् ।
यस्तै गोलकिपर एलन न्यौपाने र विमल राना पनि टोलीमा अटाएनन् । न्यौपानेको स्थानमा किरण थपिँदा विमल रानाको स्थानमा रोहित चन्द समावेश छन् । रोहित आज इन्डोनेशियाबाट नेपाल फर्किंदैछन् ।

यू–१५ साफ च्याम्पियनसिप फुटबलको फाइनलमा
यसैबीच, भुटानमाथि सहज जित निकाल्दै नेपाली युवा टोली यू–१५ साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । बिहीबार भएको अन्तिम खेलमा भुटानमाथि ५–० को नतिजा निकाल्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको हो ।
नेपालको फाइनल यात्रामा प्रदिप लम्सालले दुई गोल गर्दा निराजन खत्री, असिम राई र कृष्ण सापकोटाले एक–एक गोल थपे । भारतस्थित कल्याणी रंगशालामा पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल गरेको हो । खेल सुरु भएको पाँचौं मिनेटमा नेपालका लागि प्रदिपले पहिलो गोल गरेका थिए । लगत्तै ४ मिनेटपछि निराजनले अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २ गोलको अग्रता लिएको नेपालले दोस्रो हाफमा ३ गोल गर्दा ४८ औं मिनेटमा प्रदिपले टोलीका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे । ७५ औं मिनेटमा असिम राईले नेपाललाई ४–० को अवस्थामा पु-याए । खेल सकिन ५ मिनेट बाँकी रहँदा कृष्णले गोल गर्दै नेपालको जित ५–० ले सुनिश्चित गरेका थिए । जितसँगै फाइनलमा स्थान बनाएको नेपालले अब उपाधिका लागि शनिबार भारतसँग खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्