नेपालगञ्ज नाकाबाट ४९ अर्बको व्यापार घाटा «

नेपालगञ्ज नाकाबाट ४९ अर्बको व्यापार घाटा

गत आर्थिक वर्ष २०७५-०७६ मा नेपालगञ्ज नाकाबाट करिब ४९ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । नेपालगञ्जस्थित जमुनाह नाका हुँदै ५१ अर्ब ७ करोड २५ लाख रुपैयाँभन्दा बढीको सामग्री आयात भएकोमा दुई अर्ब ३६ करोड ८५ लाख रूपैयाँको सामान मात्र निर्यात भएको हो ।
नेपालगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार गत आवमा ४८ अर्ब ७० करोड ४० लाख रुपैयाँभन्दा बढीको व्यापार घाटा भएको हो । यो अघिल्लो आर्थिक वर्ष २०७४-०७५ को भन्दा करिब आठ अर्ब रुपैया बढी भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७४-०७५ मा यस नाकाबाट करिव ४१ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो । गत आर्थिक वर्षमा अघिल्लो वर्ष भन्दा आयातमा करिव आठ अर्ब वृद्धि भएको र निर्यातमा १२ करोड मात्र वृद्धि भएको कार्यालयले जनाएको छ ।
सरकारले आयातलाई घटाउँदै निर्यातलाई बढाउने नीति लिएपनि यस नाकाबाट आयात उल्लेख्य रूपमा बढ्दै गएको र निर्यातको अवस्था स्थिर रहेकाले वर्षेनी व्यापार घाटा बढ्दै गएको हो । सरकारी उदासीनताका कारण वर्षेनी व्यापार घाटा बढ्दै गएको भन्दै नेपालगञ्जका व्यवसायीहरूले चिन्तासमेत व्यक्त गरेका छन । नेपालगञ्ज नाकाबाट करोडौं रुपैयाँ बराबरको जडीबुटीलगायत अन्य उत्पादन निकासी हुन नसक्दा वर्षेनी व्यापार घाटा बढ्दै गएपनि सरकार मौन बसेको नीजि क्षेत्रका अगुवाहरूको भनाई छ ।
नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठले व्यापार घाटा कम गर्न नेपालगञ्ज नाकाले पनि महत्वपूर्ण भूमिका खेल्ने भएकोले नीतिगत रुपमा निर्णय गरेर जानुपर्ने बताए । खुला सिमानाका कारण भारतबाट निर्वाध रूपमा यहाँ सामाग्री आयात बढीरहेपनि यहाँबाट निकासी हुने घीउ, जडीबुटी, अल्लो, खोटो रोजिन, तारपिनको तेल, रिट्ठा, पत्थरलगायत वस्तु निकासीमा असहज वातावरण सिर्जना भएको उनको भनाई छ । उद्योगी व्यापारीका तर्फबाट आफूहरूले धेरै पटक सरकारको ध्यानाकर्षण गराएपनि सरकार उदासीन भएका कारण व्यवसायीको करोडौंको सामग्री गोदाममा थन्क्याउनु परेको छ ।
त्यसैगरी नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भारतबाट सामान ल्याउँदा सहज रूपमा आयात हुने भएपनि भारतमा नेपालको उत्पादन पठाउँदा विभिन्न बहाना गरेर अन्यत्र पठाएर झमेला गर्ने गरेको बताए । ‘जबसम्म व्यवसायिक डिलिङ हुँदैन, तबसम्म अनुदानले देश अघि बढ्दैन ।’ उनले भने, ‘यसले गर्दा राज्य आर्थिक रूपमा कमजोर बन्छ ।’ उद्योग वाणिज्य संघका महासचिव अजयकुमार टण्डनले व्यापार घाटा बढ्दै गएपनि सरकारी तवरबाट कुनै पहल नभएको बताए ।
भन्सार कार्यालयका अनुसार नेपालगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थ, चामल, सिमेन्ट क्लिङ्कर, आलु, प्लास्टिकका सामान, सेरामिक्स, खरानी स्ल्याग, तरकारी र फलफूल, विभिन्न खाद्यान्न तथा ट्याक्टरलगायत अन्य मेसिनरी सामान बढी आयात हुने गरेको छ । त्यस्तै नेपालबाट जडीबुटी, खोटो रोजिन, तारपिनको तेल, रिट्ठालगायतका वस्तुहरू भारतलगायत तेस्रो मुलुकमा निर्यात हुने गरेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाको भनाई छ ।
केही वर्ष पहिलेसम्म उक्त नाकाबाट सबैभन्दा बढी जडीबुटी निर्यात हुँदै आएकोमा गत वर्षदेखि ५४ प्रकारका जडीबुटीमा भारतले प्रतिबन्ध त्यसको निकासीमा कमि आएको छ ।

प्रतिक्रिया दिनुहोस्