राजमार्गका जीर्ण पुल मर्मत गरिँदै

महेन्द्रनगर– कञ्चनपुर र कैलालीका १६ वटा पुलको मर्मत सम्भार कार्य सुरु भएको छ । महेन्द्र राजमार्गका १४ वटा पुल र महाकाली राजमार्गका दुईवटा पुल गरी १६ वटा पुलको मर्मत सम्भारको कार्य भइरहेको महाकाली पुल योजना महेन्द्रनगर कञ्चनपुरले जानकारी दिएको छ ।
त्यसैगरी महाकाली पुल योजना महेन्द्रनगर कञ्चनपुरका सबइन्जिनियर दुर्गादत्त अवस्थीले अहिले भुजेला खोलादेखि लिएर दैजी खोला, राधा, सुनवरा डोन्डा, मोहना, गोदावरी र गेटा नजिकको पुलमा काम भइरहेको बताए । उनले भने, ‘महेन्द्र राजमार्ग र महाकाली राजमार्गमा रहेका पुलहरू विगत २० देखि २५ वर्षसम्म पनि मर्मत सम्भार नभएको अवस्थामा जीर्ण रहेको मुख्य पुलमा पहिलो पटक कुल लागत १६ करोड ९३ लाखमा पुलको मर्मत सम्भार भइरहेको छ ।’
विश्व बैंकको आर्थिक सहयोगमा हिम सगरमाथा भरतपुर चितवनले २०८० साल असार २२ गते सम्झौता गरेको र चैत २२ गतेभित्र सम्पन्न गरिसक्नु पर्ने गरी काम भइरहेको उनले बताए । त्यसैगरी पहिले सामान्य मर्मत सम्भार भएता पनि ठूलो किसिमको मर्मत यो पहिलो पटक भएको र पुलमा (इपोक्सि मोटार) यसले उप्किएका प्लास्टरलाई टाल्ने, टुटेका एक्सपान्सनलाई बदलेर नयाँ जडान गरिएको, जसले गर्दा पुलमुनि पानी जान नदिने, (ग्राउटिङ) यसले पुलभित्र परेका चिरामा झोल पदार्थ पठाएर बन्द गर्ने विधिको प्रयोग गरेर पुल मर्मत भइरहेको महाकाली पुल योजना महेन्द्रनगर कञ्चनपुर सबइन्जिनियर अवस्थीले बताए ।
उनले भने, ‘कार्बन फाईबर र कार्बन लेमिनेटिड स्ट्रिपको प्रयोगले पुलको बीचमा चिरा नपर्ने पुरानो प्लास्टरलाई टुट्न फुट्न नदिने प्रविधिको प्रयोग गरिएको छ । सडकमा रहेका पुलको सम्बन्धित पालिकाले पनि संरक्षण गरिदिने, फोहर नफाल्ने हो भने पुलको आयु बढने र पुललाई मर्मत सम्भार गर्न आवश्यक नहुने अवस्थीले बताए ।
उनका अनुसार उक्त क्षेत्रका सबै स्थानीयले आफ्नो फोहर पुलनजिक लगेर फाल्ने, रेलिङमा भएका फलाम चोरेर लैजाने पिल्लरलाई तोडफोड गरिदिनाले राज्यलाई आर्थिक भार पर्ने उनले बताए । त्यसैगरी झलारी बजारमा रहेको पुल र गोदावरी नदीमा रहेको पुलमा स्थानीय बजारबाट आएको फोहोरलाई ल्याएर सिधै पुलमा फालिदिने र पुल पनि विस्तारै कमजोर बन्ने भएकाले सम्बन्धित पालिकाले उक्त विषयमा ध्यान दिन उनले आग्रह गरेका छन् । उनले बारम्बार पत्र काटेर उक्त विषयमा जानकारी दिएको भएता पनि पालिकाले कानमा तेल हालेर अटेरी गरेको उनले गुनासो गरेका छन् ।
अवस्थीले मर्मत सम्भारको लागि आउने रकम बारम्बार नआउने र सबैले मिलेर यसको सुरक्षा संरक्षण गरिनुपर्ने बताए । नेपाल टेलिकमले पनि पुल बिगार्नेमा भूमिका खेलेको उनले बताए । पुलको दक्षिण भागमा आफ्नो नेटको तारलाई रोक्न पुलको पिल्लरमा मोटा फलामको डण्डी बाँधेर पुललाई अनावश्यक भार दिएको अवस्थीले बताए । उनले भने, ‘उक्त फलामे डण्डीले गर्दा पिल्लरहरू टुट्ने, फलाम खस्ने र पुल बिग्रिने समस्या देखिएको छ ।’ उक्त विषयमा पनि नेपाल टेलिकमलाई जानकारी दिएको भएता पनि नेटको तार व्यवस्थापनमा खासै चासो नदिएको अवस्थीले बताए ।