Logo

सिमरा सेजमा औद्योगिक क्षेत्र बनाइने

बारा– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सिमरा सेजमा औद्योगिक क्षेत्र बनाउने बताएका छन् । बाराको सिमरा सेजमा आयोजित अन्तक्र्रियामा मन्त्री रिजालले चाँडै विज्ञहरूसँगको छलफलपछि सेजको पूर्वाधार निर्माण नभएका र बाँकी रहेका खाली ‘डी’ र ‘ई’ ब्लकमा जुनसुकै प्रकारका उद्योग आउन सक्ने गरी सरकारले औद्योगिक क्षेत्र बनाउने बताए ।

मुलुकको समृद्धिको आधार उद्योग–व्यवसाय रहेको बताउँदै मन्त्री रिजालले सेजको बाँकी जग्गामा औद्योगिक क्षेत्र बनाउँदा स्थानीयले रोजगारी पाउने र आय वृद्धि हुने तथा नेपाल सरकारले राजस्वसमेत पाउने हुँदा सरकारले सेजको दुई ब्लकमा औद्योगिक क्षेत्र बनाउन लागेको बताए । उद्योग मन्त्री रिजालले सेजमा उद्योगीहरूको आकर्षण बढाउन निर्यातलाई ३० प्रतिशतमा झार्ने तयारी सरकारले गरेको बताउँदै सेज सञ्चालनको सामान्य मर्मतबापत लाग्ने खर्चबाहेक जग्गा भाडामा दबाब नपर्ने गरी उद्योगीसँग शुल्क लिने निर्णय गर्ने तयारीमा रहेको बताए ।

‘सेजमा उद्योगपतिहरूले रोजगार लगाए भने रोजगारी बढ्छ, कर संकलन हुन्छ, मुलुक समृद्घितिर जान्छ, केही कर स्थानीय सरकारले पाउँछ, यहाँको स्थानीयको जीवनस्तर पनि बढ्छ,’ मन्त्री रिजालले भने, ‘प्राथमिकतामा सिमरा, पथलैया, वीरगन्जका स्थानीय पर्छन् । तर, भारतीय कामदार ल्याएर काममा राख्न नहुने कुरामा म सचेत छु । यहाँका मान्छेले काम पाउनुपर्‍यो, नेपाली जनताले काम पाउनुपर्‍यो ।’

सोही कार्यक्रममा पूर्व श्रममन्त्री तथा सांसद किसान श्रेष्ठले सेजमा उद्योग ल्याउन नेपाली उद्योगीलाई विदेशमा दिएजस्तै सरकारले कर, भाडालगायतमा प्रोत्साहन गरी आकर्षित गर्नुपर्ने बताए । उनले चिनी मिलको जग्गालाई सदुपयोग गरी त्यसमा उद्योगधन्दा चलाउने उद्योगपतिहरूलाई आमन्त्रित गरेर सुविधाहरू दिनुपर्नेमा जोड दिए ।

उद्योग मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सेजको खुला रहेको दुई ब्लकमा औद्योगिक क्षेत्र निर्माण गर्न निजी क्षेत्रको माग आएकाले मन्त्रालयले यसबारे छुट्टै अध्ययन थाल्नेमा जोड दिए । एक महिनाअघि पथलैया–वीरगन्ज औद्योगिक कोरिडोरका उद्योगी–व्यवसायीले मन्त्रालयका प्रतिनिधिसँग संयुक्त सेजको स्थलगत निरीक्षण गरी सेजका बाँकी रहेका दुई ब्लकमा सबै प्रकारका उद्योग स्थापना गर्ने गरी औद्योगिक क्षेत्र बनाउनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा स्थानीयको मागबारे कुरा राख्दै जितपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले सेज सञ्चालनमा स्थानीय सरकारको सबै खाले सहयोग गर्ने बताए । सेजका कार्यकारी निर्देशक चण्डिका भट्टले कार्यक्रममा सहजीकरण गरेका थिए । ८ सय ३३ बिघा क्षेत्रफलमा रहेको सिमरा सेजमा ५ ब्लक रहेका छन् ।

जसमध्ये ‘ए’ ब्लकमा पूरै २१ उद्योगले कारखाना सञ्चालनका लागि पूर्वाधार निर्माण गरिरहेका छन् । ब्लक ‘बी’ र ‘सी’ मा सेजले सञ्चालन गर्न पूर्वाधार निर्माण भइरहेको र ‘डी’ र ‘ई’ खुला तथा केही क्षेत्र स्थानीयले अतिक्रमित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्