Logo

धान भित्र्याउन किसान व्यस्त

दाङ– दाङ, देउखुरीका किसानहरू अहिले धान काट्न, दाउन र धान घरमा भित्रयाउन व्यस्त छन् । कोही खेतमा धान झारिरहेका छन् भने कोही थ्रेसरबाट पराल र धान छुट्याइरहेका छन् । धान स्याहार्न यहाँका किसान बिहानैदेखि बेलुकी अबेरसम्म खेतमै व्यस्त रहेका छन् ।

राप्ती गाउँपालिका–६ निवासी तेजुलाल चौधरी धान काट्न व्यस्त छन् । गत वर्ष बेमौसमी बर्खाले पाकिसकेको धानबाली भित्र्याउने बेलामा क्षति गर्दा घाटा बेहोर्नुपरेको थियो । गत वर्ष काटेर खेतमा सुकाएको धान वर्षाका कारण खेतमै उम्रिएर कुहिएको थियो । गत सालजस्तै नहोस् भनेर वर्षाको त्रासमा उनले यसपटक बर्खा रोकिएपछि धान धाटन थालेको उनी बताउँछन् ।

अझै पनि आकाशमा बादल देखिने क्रम रहेकाले हतारमा धान काटेर स्याहार्ने तयारी उनको छ । सोही ठाउँका राजकुमार चौधरीले पनि धान काट्न सुरु गरेका छन् । धान दाउने थ्रेसर मिलेसम्म काट्नेबित्तिकै दाना निकालेर भित्रयाउने योजना छ । केही किसानले खेतमै थ्रेसरले धान दाएर धान घरमा भित्रयाइसकेका छन् । देउखुरीका अधिकांश किसान धान खेतमा भेटिन्छन् ।

गढवा गाउँपालिका–६ का पुरन चौधरीले बिहानैदेखि काटेको धान जम्मा गर्न व्यस्त रहेका छन् । धान भित्रयाएपछि मात्रै दसैंको सरजाम जुटाउने उनको योजना छ । दसैं आउन केही दिन बाँकी छ । यो बेलामा खेत पहेंलपुर भएकाले पाकिसकेको धान स्याहार्न किसानलाई भ्याइनभ्याइ छ । सकेसम्म पानीबाट धान सुरक्षित गर्न पाए हुन्थ्यो भन्ने योजनामा किसानहरू रहेका छन् ।

गत साल धान स्याहार्ने समयमा परेको वर्षाले धानमा ठूलो क्षति पुगेपछि वर्षाको त्रासले बाली भित्राउन किसानहरू कस्सिएका हुन् । ‘खेतमा काट्न बाँकी धान जसोतसो छ, तर काटेर राखेको धान पानी परेर भिज्यो भने बर्बाद हुन्छ, यस्तो बेलाको धान काम लाग्दैन’, राप्ती–७ का महेश चौधरीले भने, ‘यो बेला दिनरात नभनी धान बाली स्याहार्नुपरेको छ । यो बेला चनाखो भएर बाली स्याहारिएन भने वर्षभरि खाने अन्न किनेर खानुपर्ने अवस्था आउँछ ।’

गत वर्ष दसैंको मुखमा परेको बर्खाले देउखुरी क्षेत्रका किसानलाई ठूलो नोक्सानी गरेको थियो, जसका कारण आकाश हेर्दै यो बेला बाली स्याहार्नुपर्ने अवस्था आएको उनीहरू बताउँछन् । ‘गत वर्ष पानीले धान भिज्यो, धानमा ठूलो नोक्सानी बेहोर्नुपर्‍यो, अहिले समयमै भित्र्याऊँ भनेर हतारो गरेका हौं,’ लमही–६ का विष्णु पौडेलले भने, ‘मानो छरेर मुरी फलाएको धान बाली भित्र्याउन पनि सकस छ ।’

दसैंको मुखैमा परेको पानीले किसानलाई त्रास दिएपछि यो पटक किसान बढी झस्किएका छन् । देउखुरीको राप्ती, लमही, गढवा, राजपुरका किसान घरमा कम, खेतमा धेरै समय बिताउने गरेका छन् । धान काटेर सकेका किसान थ्रेसरको प्रयोगले धान झार्ने, केलाएर घर लैजाने, पराल सुकाउने काममा अहिले व्यस्त छन् । जिल्लाको अरू पालिकामा पनि धान पाक्ने अवस्था पुगेको छ । तुलसीपुर, दंगीशरण, शान्तिनगरलगायत पालिकामा पनि किसानले रोपेको धान पाकेर पहेंलो भइसकेको छ ।

तर, केही ठाउँमा धानमा कालो पोके कीराले समस्या थपेको किसानको दुखेसो छ । राप्ती गाउँपालिका वडा नम्बर–५, कालापानीका मदन पोख्रेलले जेठको पहिलो साता रोपेको धानका बोट राम्रो भएको भए यो पटक मनग्गे धान फलाउने अवस्था थियो । तर, फड्के कीरा अर्थात् राइस होपरको प्रकोपले सबै धानबाली सखाप पारेपछि यो वर्ष चामल किनेर खानुपर्ने बाध्यता आइलागेको छ ।

फड्के कीरा अर्थात् राइस होपरको प्रकोपले राप्ती गाउँपालिकाको वडा नम्बर १, २, ५ र ७ का वडाका किसानलाई यसले बढी क्षति गरेको छ । देउखुरी क्षेत्रमा करिब साढे १२ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ, जसमा सबैभन्दा बढी धानखेती राप्ती गाउँपालिकामा हुने गरेको तथ्यांक छ । जिल्लाभर ३९ हजार हेक्टरमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्