Logo

इयुको सुरक्षा सूची र हवाई दुर्घटना

नेपाली आकाश असुरक्षित रहेको आरोप लाग्दै आएका बेला शनिबार बिहान फेरि अर्को हवाई दुर्घटना भएको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडान भरेको मनाङ एयरको कलसाइन ९–एन एएनजेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा हेलिकप्टरका पाइलट प्रकाशकुमार सेढाईं घाइते भएका छन् । त्यस उडानमा पाइलटबाहेक अरू यात्रु थिएनन् । हेलिकप्टर कार्गाे उडान पूरा गरी लोबुचेमा रहेका पर्यटक लिन जाँदा दुर्घटना परेको हो ।

यसअघि असार २६ मा मनाङ एयरकै ९–एन एएमभी (एएस–५०) कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा पाइलटसहित ६ यात्रुको मृत्यु भएको थियो । सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका–५, लामजुरमा हेलिकप्टर दुर्घटनामा परेको थियो । तीन महिनाको अन्तरमा एउटै कम्पनीका दुई हेलिकप्टर दुर्घटनामा परेका छन् । सरकारले यो कम्पनी जहाज उडान अनुमति खारेज गरेको छ । यो मात्र होइन, पछिल्लो १६ महिनामा नेपालमा ६ वटा हवाई दुर्घटना भएका छन् ।

०७९ जेठदेखि शनिबारसम्म ५ हेलिकप्टर र २ विमान दुर्घटना भएका हुन् । यसमा परेर १ सय १ यात्रुले ज्यान गुमाएका छन् । संयोग नै मान्नुपर्छ, अर्थमन्त्री प्रकाशशरण महतले युरोपेली संघ (इयु) का कमिसनर जुक्ता उर्पियालिनेनलाई हवाई सुरक्षा चासोको सूचीबाट नेपाललाई हटाउन आग्रह गरेको तेस्रो दिनमा यो हवाई दुर्घटना भएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिने क्रममा मोरक्को पुगेका अर्थमन्त्री महतले साइडलाइन वार्तामा नेपाललाई हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका थिए ।

जुन मुलुकमा प्रत्येक वर्षजसो हवाई दुर्घटनाहरू भइरहन्छन्, त्यस्तो मुलुकको आकाशलाई कसरी सुरक्षित मान्ने ? यस अर्थमा हेर्दा इयुको सुरक्षा चासोलाई त्यसै नकार्न सकिँदैन ।

सन् २०१३ देखि इयुले नेपालका वायुसेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ । यही कारण नेपाली वायुसेवा कम्पनीले युरोपको आकाशमा उडान गर्न पाउँदैनन् । इयुले हवाई सुरक्षा अडिट गर्दै मापदण्ड नपुगेको भनेर हवाई सुरक्षा चासोबाट हटाउन अस्वीकार गर्दै आएको थियो । पछिल्लो समय गत साउन र भदौमा इयुको हवाई सुरक्षा कमिटीले नेपाली वायुसेवा कम्पनी र हवाई सुरक्षाका विषयमा स्थलगत अध्ययन गरेको थियो । इयुको सुरक्षा कमिटीले ६–६ महिनामा हवाई सुरक्षा चासोसम्बन्धी प्रतिवेदन अद्यावधिक गर्छ । स्थलगत अनुगमन गरेर टोली फर्केको अवस्थामा महतले आग्रह गरेका छन् ।

महतको आग्रहपछि नेपालमा रहेको दूतावासबाट काम गर्ने र हवाई सुरक्षाका विषयमा छलफल गर्ने आश्वासन मात्र दिइएको छ । कतिपयले इयुले नेपाललाई सुरक्षा सूचीमा राख्नुका पछाडि हवाई असुरक्षा नभई अरू भिन्दै कारणहरू रहेको बताउँछन् । नेपाल वायुसेवा निगमले चिनियाँ जहाज खरिद गरेको, एयरबसका स्थानमा बोइङ खरिदतर्फ चासो बढी दिएको लगायतका कारण नेपाललाई सुरक्षा सूचीभित्र राखिएको आरोप लगाउँछन् । नेपाली आकाशलाई इयुले जेजस्ता कारण देखाएर सुरक्षा सूचीमा राखे पनि यथार्थमा नेपाली हवाई सेवा त्यति बढी सुरक्षित भने देखिँदैनन् ।

हवाई यात्रालाई विश्वमा नै सबैभन्दा बढी सुरक्षित मानिन्छ । त्यो हो पनि । तर, नेपालको हकमा हवाई यात्रालाई सुरक्षित मान्न सकिने स्पष्ट आधार देखिँदैन । नेपालमा हवाई सेवा सुरु भएको जति वर्ष भएको छ, त्योभन्दा धेरै पटक हवाई दुर्घटना भएका छन् । साना–ठूला सबैलाई हेर्ने हो भने हवाई दुर्घटना नभएको सायदै कुनै वर्ष देखिन्छ । जुन मुलुकमा प्रत्येक वर्षजसो हवाई दुर्घटनाहरू भइरहन्छन्, त्यस्तो मुलुकको आकाशलाई कसरी सुरक्षित मान्ने ? यस अर्थमा हेर्दा इयुको सुरक्षा चासोलाई त्यसै नकार्न सकिँदैन । नेपालमा हवाई दुर्घटना हुनुपछाडि धेरै कारण छन् । त्यसमध्ये पनि मुख्य विषय चारवटा रहेका छन् ।

भौगोलिक अवस्था, मौसम, पाइलटको जबर्जस्ती र मर्मत–सम्भार । नेपालमा भइरहेका हवाई दुर्घटनामध्ये सबैभन्दा बढी दुर्घटना उच्च हिमाली क्षेत्रमा हुँदै आएको छ । यो भूगोल र मौसमले निम्त्याएको विपत्ति हो । उच्च पहाडी र हिमाली क्षेत्रको गन्तव्य सबैभन्दा जोखिममा छन् । गत वैशाखमा पोखरामा भएको यति एयरको ठूलो दुर्घटनाबाहेक उच्च हिमाली क्षेत्रमा भन्दा तराईमा ठूला हवाई दुर्घटना कम भएको देखिन्छ । यस्तै प्रतिकूल मौसमको अवस्था पनि तराई क्षेत्रमा भन्दा हिमाली वा पहाडी क्षेत्रमा बढी जोखिमयुक्त देखिन्छ । अर्को विषय, पाइटलहरूको लापरवाहीका कारणले पनि नेपालमा धेरै हवाई दुर्घटना भएका छन् ।

अनावश्यक रूपमा मौसम प्रतिकूल हुँदा वा जहाजमा समस्या आउँदा पनि उठाएर दुर्घटना भएका उदाहरण धेरै छन् । अर्को, सबैभन्दा ठूलो कारण समयमा मर्मत–सम्भार नहुनु हो । जहाज त्यो बेलासम्म पुरानो हुँदैन जुन बेलासम्म समयमा मर्मत र पार्टपुर्जा फेरिन्छ । तर, हामीकहाँ सरकारी कर्मचारी र कतिपय एयरलाइन्सहरूबीचको मिलेमतोमा समयमा गर्नुपर्ने मर्मत–सम्भारमा हेलचेत्र्mयाइँ गरिन्छ । निश्चित अवधि पुगेपछि फेर्नुपर्ने पार्टपुर्जा फेरिँदैन । दुर्घटनाको मुख्य विषय यही नै हो । यिनै प्रमुख विषयहरूलाई न्यूनीकरण नगरेसम्म दुर्घटना कम हुने छैनन् ।

प्रतिक्रिया दिनुहोस्