पोखरा विमानस्थलको निर्माण कार्य प्रभावित «

पोखरा विमानस्थलको निर्माण कार्य प्रभावित

पोखराको विजयपुर खोलामा रहेका दुई वटा पुलबाट निर्माण सामाग्री ल्याउन नपाएपछि पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य प्रभावित भएको छ । आयोजना निर्माणका लागि आवश्यक सामान ल्याउन नपाएपछि विमानस्थल निर्माण कार्य प्रभावित भएको निर्माण कम्पनीले जनाएको छ । चाइनिज कम्पनीका ६ वटा ट्रक बिगत ४ दिनदेखि पोखराको गगनगौडाको सडकमै अलपत्र अवस्थामा रहेको चाइनिज कम्पनी सिएएमसीका जनसम्पर्क अधिकृत कृष्णप्रसाद चापागाइँले बताए । हाल कम्पनीका ३६ टन भारवान क्षमताका गाडीहरू सडकमै रोकिन पुगेको उनले जनाए ।
निर्माण स्थलमा निर्माण सामग्रीहरू ल्याउन कसैले पहल नगरेको उनले गुनासो गरे । १० टन भारवाना क्षमताको मोटरेवल पुल जोखिमका कारण त्यसको विकल्पमा हाल ३५ टन भारवान क्षमताको बेलिवृज निर्माण भएका छन् । तर विमानस्थलका सामानहरू ३५ टन भन्दा बढी क्षमताका भएकाले आयोजनास्थलमा ल्याउन नपाएको जनसम्पर्क अधिकृत चापागाईले बताए । उनका अनुसार हाल टर्मिनल भवन निर्माणको काम प्रभावित भएको छ । दैनिक २ सय जना नेपाली र ३ सय ५० जना चिनियाँ कामदार विमानस्थल निर्माणमा लागेको चापागाईले बताए ।
‘हामीले पटक पटक गरी करिब ७÷८ पटकसम्म डाईभर्सन पुल बनायौं तर खोलाले बगाएपछि निर्माण सामग्री ल्याउन कठिन भएको छ’, उनले भने, ‘निर्माण सामग्री बाटोमै रोकिएपछि निर्माणको काम पभावित भएको छ ।’ आयोजनाका स्टिल स्टक्चर, टर्मिनल भवनका सामानसहितका ३५ टन भन्दा बढी क्षमताका ५ सय भन्दा बढी गाडीहरू पोखरा आउने तयारी भएको उनले जनाए । पोखरा विमानस्थलको निर्माण कार्यलाई तिव्रता दिन परियोजनाका निर्माण सामग्री सहज ढंगले निर्माण स्थलमा पु¥याउने व्यवस्था मिलाउन जनसम्पर्क अधिकृत चापागाईले आग्रह गरे । टर्मिनलका विभिन्न पोलहरूमध्ये एउटै ३६ टन भारवान क्षमताका भएको उनले बताए ।
जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी प्रमुख मुराहरी मिश्रले विजयपुरमा हालै निर्माण भएको बेलिवृज पुलको क्षमता ३५ टनसम्म भएकोले त्यस भन्दा माथिको भारवान क्षमताका सामानहरू ओसार पोसार गर्न रोक लगाइएको बताए । ‘हामीले जोखिमका हिसावले विजयपुरमा ३५ टन भारवान क्षमता भन्दा माथिका सवारी साधनहरु रोकेका छौं, उनले भने, ‘भारवान क्षमता बढी भएमा दुई पटक गरी ल्याउन पनि सकिन्छ ।’ सडक डिभिजन कार्यालय पोखराका निमिक्त प्रमुख कल्याण खड्काले विजयपुर खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएकाले त्यसबारे कुनै निर्णय नभएको बताए ।
पोखरा विमानस्थल निर्माण कम्पनीलाई प्रतिगाडी ३५ टनसम्मका निर्माण सामग्री ल्याउन आग्रह गरेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण आयोजनका प्रमुख विनेस मुनाकर्मीले बताए । पोखराको विजयपुर खोलामा समस्या भएकोले प्राविधिक हिसावले ३५ टन भन्दा बढी भारवान क्षमताका सामानहरू विमानस्थलमा ल्याउनका लागि डाइभर्सनसमेत पुनः मर्मत गर्ने पक्षमा आफूहरु रहेको उनले जनाए । विमानस्थलमा सिमेन्ट एवं क्रंक्रिटबाट निर्माण भएका १० वटा भवनको निर्माण कार्य सकिएको, टर्मिनल भवन, कार्यालय बनाउन सुरु भएसँगै ग्याङगरमा छाना हाल्ने काम समेत शुरु गरिएको प्रमुख मुनाकर्मीले जनाए । विमानस्थलमा निर्माण हुँदै गरेको टावरको पाँचौं तलाको काम भइरहेको विमानस्थलले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पोखरा विमानस्थल निर्माणकार्य निर्धारित मिति भन्दा ६ महिनाअघि सके निर्माण कम्पनीलाई रथ यात्रा गराउने आस्वासन दिएका छन् । हालै पर्यटन मन्त्रीमा नियुक्त भएका मन्त्री भट्टराईले बुधबार निर्माणाधीन अवस्थामा रहेको पोखरा विमानस्थलको अवलोकन गर्दै निर्माण कम्पनीलाई निर्धारित मितिभन्दा अघि निर्माण कार्य पूरा गर्न आग्रहसमेत गरे । गण्डकी प्रदेशकै पर्यटनको विकासमा पोखरा विमानस्थल महत्वपूर्ण रहेको भन्दै मन्त्री भट्टराईले विमानस्थल निर्माण भएसँगै यस क्षेत्रको पर्यटनमा थप वृद्धि हुने विश्वास व्यक्त गरे ।
पोखरा विमानस्थल करिब २२ अर्ब रुपैयाँको लगानीमा सन् २०२१ जुलाइ १० भित्र सकिने गरी चाइनिज कम्पनी सिएएमसीले निर्माणको जिम्मा लिएको होे । पोखरा विमानस्थलको निर्माण कार्य हालसम्म करिब ४५ प्रतिशत सम्पन्न भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्