१ अर्ब लगानीमा आयुर्वेद अनुसन्धान केन्द्र स्थापना हुने

पूर्वमा जडिबुटी खोज तथा अनुसन्धानका लागि एक अर्ब लगानीमा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र स्थापना हुने भएको छ । एक नम्बर प्रदेशलाई नै ध्यानमा राखेर १० बिघा क्षेत्रफलमा स्थापना गरिने केन्द्रको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गरेका छन् ।
सुनसरीको लौकहीमा प्रादेशिक शाखा कार्यालयको उद्घाटन गरिएको हो । कोसी गाउँपालिकाले उपलब्ध गराएको भाडाको भवनबाट अनुसन्धान केन्द्रले तत्काल काम थाल्नेछ । केन्द्रको अत्याधुनिक भवन भने सोही गाउँपालिकास्थित खुनियाधारमा बन्ने छ । अत्याधुनिक आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको निर्माणका लागि नेपाल सरकारले ५ करोड रकम निकासा गरिसकेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
चीन सरकारको सहयोगमा निमाण हुने अत्याधुनिक भवन एक नम्बर प्रदेशकै नुमना केन्द्र बन्ने अर्थमन्त्री कार्कीले बताए । चुनावी दौडाहामा मतदातासमक्ष गरेको बाचा अनुरुप प्रदेश शाखा कार्यालय स्थापना गरिएको उनले सुनाए । अनुसन्धान केन्द्रको निर्माणले स्वास्थ्य सेवासँगै रोजगारीको अवसर पनि प्राप्त हुने कार्कीको भनाइ छ । सुनसरी जिल्लालाई कृषि र जडिबुटी खेतीको माध्यमबाट आर्थिक समृद्ध बनाउन सकिने उनको दाबी छ ।
आयुर्वेद अनुसन्धान केन्द्र स्थापनाका लागि १० बिघा जग्गा उपलब्ध गराइसकिएको कोसी गाउँपालिका अध्यक्ष अयुब अन्सारीले जानकारी दिए । आयुर्वेद अनुसन्धान कार्यालयको स्थापनाले गाउँपालिकाका जनताले स्वास्थ्य सेवा पाउने र रोजगारीको अवसर पनि हुने अपेक्षा गरिएको अध्यक्ष अन्सारीले बताए ।
शाखा कार्यालयको उद्घाटन समारोहमा बोल्दै राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा.सिद्धार्थ ठाकुरले शाखाको स्थापना, चिकित्सकीय सेवासहित पूर्वमा रहेका
जडिबुटीको अध्ययन र अनुसन्धानका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
उनले भने, “अथाह जडिबुटीको भण्डार रहेको प्रदेश १ मा स्थापना हुने यो अनुसन्धान केन्द्रले खेर गएको जडिबुटीको सदुपयोग गर्नुका साथै नयाँ अवसर पनि ल्याउनेछ । नयाँ अनुसन्धानबाट आयुर्वेदिक उपचारको क्षेत्रमा पनि विकास गर्न सकिने उनको विश्वास छ । यो प्रदेशको योजना सफल भए अन्य क्षेत्रमा पनि विकास र विस्तार गर्न सकिने उनले बताए ।
–विवेक भट्टराई