Logo

जाजरकोट–जुम्ला सुरुङमार्ग

सम्भाव्यता अध्ययनको मिति सकिनै लाग्दा प्रगति निराशाजनक

जाजरकोट– तोकिएको मितिभित्र सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम पूरा हुनुपर्ने भए पनि जाजरकोट–जुम्ला सुरुङमार्गको अध्ययन निराशाजनक छ । २०८० जेठ महिनामा प्रि–फिजिबिलिटीको अध्ययनका लागि सडक विभागले ईटीको–टिएमएस–रेज जेभीसँग अध्ययन सम्झौता गरेको थियो ।

सम्झौताअनुसार असोज महिनाभित्र काम पूरा गरी प्रतिवेदन उपलब्ध गराइसक्नुपर्ने थियो । प्रस्तावित मार्गले जाजरकोटको कुसे गाउँपालिका–८ साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने योजना बनाएको छ । अहिले चालु रहेको सडकभन्दा यो सडकमा यात्रा गर्दा झण्डै सात घण्टा छिटो हुने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।

यो सुरुङमार्ग अध्ययन गर्न २०७८ मा नै योजना अगाडि सारिएको थियो । प्रि–फिजिबिलिटीको म्याद सकिने केही दिन बाँकी रहँदासम्म सडक डिभिजन चौरजहारीलाई ईटीको–टिएमएस–रेज जेभीले सम्पर्क नगरेको सडक डिभिजन चौरजहारीका प्रमुख इन्जिनियर तेजस्वी शर्माले बताए । सडक विभागबाट भने प्रि–फिजिबिलिटी अध्ययनबारे फोन आएको उनले बताए । प्राविधिक टोलीले फिल्डमै गएर सुरुङ निर्माण गर्ने क्षेत्रको अध्ययन गर्ने भनिए पनि फिल्डमा पुगेर अध्ययन हुन नसकेको पाइएको छ ।

भूगोल अध्ययन गर्न सुरुमा पहिलो पटक प्राविधिक टिम पुगे पनि फेरि अर्को पटक प्रि–फिजिबिलिटीको अध्ययन गर्न पहिला नटेकेको कुशे गाउँपालिकाकी उपाध्यक्ष देवीका सिंहले बताइन् । पालिकासँग उक्त जेभीले कुनै पनि सम्पर्क नगरेको भन्दै उपाध्यक्ष सिंहले काममा ढिला सुस्ती भएको बताइन् । ‘गाउँपालिका अध्यक्षसँग सम्पर्क गरेको भए पनि आफूलाई जानकारी हुने हो तर अध्यक्षलाई पनि सम्पर्क नगरेको अवस्था छ,’ उनले भनिन् ।

पाँच महिनामा अध्ययनको काम सम्पन्न गरेर अन्य काम अघि बढाउनुपर्ने भए पनि काम हुन नसकेको उनको भनाइ छ । ‘सुरुङमार्ग निर्माणका लागि स्थान उपयुक्त छ–छैन भनेर प्रि–फिजिबिलिटी अध्ययनको काम थालिएको हो । फिल्डमा काम हुन सकेको छैन ।’ दुई महिना अघिसम्म सडक नहुँदा काम गर्न मुस्किल भएको बताउदै जेभीले अहिले कामको प्रगतिका विषयमा सम्पर्क गर्न खोज्दा फोन नउठाउने गरेको छ । हामीले प्रि–फिजिबिलिटीको प्रगतिका विषयमा प्रगति लिन पटकपटक सम्पर्क गरे पनि उक्त जेभी सम्पर्कमा आउन चाहेन ।

काठमाडौंमा बसेर कागजी काम गरेको जेभीले फिल्डमा पाइला नै नटेकेर के काम गरिरहेको छ भन्ने लागेको सरोकारवालाको भनाइ छ । प्राविधिकको टोलीले सुरुङमार्गका लागि टनेल निर्माण, माटोको परीक्षण, लागत अनुमानलगायतको अध्ययन गर्नुपर्ने काम छन् । सम्झौताअनुसार यही असोजमा अध्ययनको काम सक्नुपर्ने हो । तर अहिलेसम्म फिल्ड अध्ययनको काम हुन सकेको छैन । सुरुङमार्ग निर्माणको अध्ययनमा आलटाल भइरहेको पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताए ।

उनका अनुसार सम्झौता भएको पाँच महिनामा प्रि–फिजिबिलिटी अध्ययनको काम सकेर अन्य कामको थालनी हुने भनिएको थियो । तोकिएको समयमा काम हुन सकेको छैन । हालसम्म अध्ययनकै काम सकिएको छैन । यो आयोजनालाई अगाडि बढाउनुपर्छ भनेर हामी लागिपरेका छौं ।’ विविध कारण देखाउँदै सुरुङमार्गको अध्ययनमै अलमल भइरहेको छ । सुरुङमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट हुनेछ । गौरवको आयोजनाका रूपमा सुरुङमार्ग निर्माण योजनाअघि सारिएको छ ।

दूरी र व्यापारका हिसाबले सुरुङमार्ग नै उपयुक्त विकल्पका रूपमा लिइएको छ । काठमाडौँ बसेर अधिकांश काम गर्ने चलनका कारण कालान्तरमा गएर योजनास्थलमा काम गर्दा स्टिमेट नमिलेका घटना धेरै भएका कारण समस्या हुने गरेको छ । अहिले लुम्बिनी–रारा सडक खण्डको अन्तर्गत खलंगा पाँचकाटिया हुँदै सुरुङ मार्गसम्मको सडक निर्माणकार्य जारी छ । फिल्डकामा काम गर्न नआउने तर अनेक बहाना गर्ने निर्माण कम्पनीका कारण यहाँको विकास निर्माणमा बाधा पुग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्