प्रचारप्रसार नहुँदा महले पाएन बजार

दाङ– घोराही उपमहानगरपालिका–१८ निवासी दिनेश वलीले उत्पादन गरेको मह बिक्री नहुँदा घरमै रहेको छ । मह बिक्री नभएपछि उनले मौरीलाई त्यही मह खुवाएको वली बताउँछन् ।
हाल उनीसँग ४ क्वीन्टल मह रहेका छ । उनले अहिले ८० वटा घार मौरी पालन गरेका छन् । वर्षाभन्दा पहिले एक सय घार भएपनि वर्षातको समयमा घटेर ८० घार भएको उनले बताए । ‘यो वर्षको मह काड्ने समय आउन थालेको छ, तर अघिल्लो वर्षको मह बिक्री हुन सकेको छैन’ वलीले भने । गत मंसिरम काडेको महसमेत बिक्री नभएको उनी बताउँछन् ।
अघिल्ला वर्षहरूमा यस प्रकारको समस्या भोग्नु नपरेको उनी बताउँछन् । ‘पहिले घरबाटै सबै मह बिक्री हुने गरेको थियो, अहिले भने बिक्री हुन सकेको छैन’ कृषक वलीले भने । कृषकको मह बिक्री नहुँदासमेत कतैबाट पनि मह बिक्रीको लागि प्रयास हुन नसकेको उनले बताए । आफू मात्र नभई धेरै कृषकको यस प्रकारको समस्या रहेको उनको भनाइ छ ।
जिल्लामा अहिले पनि बिक्री नभएर चार सय क्वीन्टल मह मौज्दात रहेको बताइएको छ । मौरीपालक कृषक भिमकान्त देवकोटाले जिल्लामा अहिले पनि बिक्री नभएर चार सय क्वीन्टल मह मौज्दात रहेको बताए । धेरै निकायसँग मह बिक्री नभएको समस्याबारे जानकारी गराए पनि समाधान हुन नसकेको उनको भनाइ छ ।
काठमाडौं र देशका अन्य सहरमा नक्कली मह बरामद भएको सूचना आएसँगै जिल्लामा उत्पादन भएको महले बजार नपाएको कृषक देवकोटा बताउँछन् । ‘जिल्लाका कृषकले मह उत्पादन गरेपनि मह बिक्री नभएर थन्किएको छ’ उनले भने, ‘अब महको ब्राण्डिङ र बजारीकरण गर्न आवश्यक छ ।’ यसका लागि राज्यले सहयोग गर्नु पर्छ ।
जिल्लामा करिब १८ हजार मौरीको गोला रहेको मौरी पालन महासंघ दाङका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले बताए । धेरै मेलीफेरा जातको मौरीको घार रहेको उनले बताए । जिल्लामा वार्षिक ६ सय टन भन्दा बढी मह उत्पादन हुने गरेको महासंघको भनाइ छ । जिल्लाका करिब एक हजार मौरी पालक कृषक रहेको बताइएको छ । व्यावसायिक रूपमा ५० घारभन्दा बढी मौरी पालन गर्ने कृषकको संख्या पाँच सय भन्दा बढी रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।
पछिल्लो समय आर्थिक मन्दीका कारण नागरिकको आयस्रोत घटेको कारणले पनि मह खान छोडेको अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘शुद्ध महबारे प्रचार प्रसारसमेत हुन सकेको छैन’ अध्यक्ष श्रेष्ठले भने । पछिल्लो समय मौरीपालन गर्ने कृषकको संख्या बढ्दै गएको उनको भनाइ छ । मौरी चरणका लागि सामुदायिक वन, क्लबहरूले समेत रकम लिने गरेको छन् । जसले उत्पादन मूल्यसमेत बढ्ने गरेको मौरी पालक कृषकहरू बताउँछन् ।
थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले कृषकहरू बढ्दै गएका छन् । दाङ मौरी पालनको लागि उर्वर जिल्ला मानिन्छ । यसको उचित सदुपयोग हुन नसकेको यसका जानकारहरू बताउँछन् । वनमा चिउरी बिरुवा र तोरीको खेती गरिने भएकाले मौरी चरणका लागि सहज हुने गरेको हो । किसानले चरणका लागि अन्य जिल्लाबाट समेत मौरी ल्याउने गरेका छन् ।