इलामको ललिपप अमेरिका निर्यात

इलाम– इलाममा उत्पादित दूधजन्य पदार्थ अमेरिकामा निर्यात हुन थालेको छ । दूधबाट निर्माण हुने छुर्पी कुकुरको आहाराको लागि (डग च्यू) अमेरिकालगायतका देशमा निर्यात हुने गरेको भए पनि पछिल्लो समय ललिपप र बम्बैसनसमेत अमेरिका जान थालेको छ । इलामेली ललिपप उद्योगबाट पछिल्लो समय दूधको कुराउनीबाट निर्माण भएको मिठाइ अमेरिका जान थालेको सञ्चालक शुष्मा राईले जानकारी दिइन् ।
निकै पहिलादेखि नै विदेश निर्यात गर्न प्रयास गरेपनि पछिल्लो समय मात्र विदेशीले सो मिठाई मन पराएको उनको भनाइ छ । हाल सेम्पलका रूपमा मात्र मिठाइ अमेरिका गइरहेको छ । अमेरिकन नागरिक फर्किदासमेत लैजाने गरेका छन् । नेपालबाट अमेरिका बस्ने नागरिकले समेत लैजाने गरेका छन् । राईले इलाम नगरपालिका ७ सुन्तलाबारीमा जग्गा लिजमा लिएर दूधजन्य परिकार निर्माण गर्दैं आएकी छन् । हाल उनको उद्योगबाट सात प्रकारका दूधजन्य मिठाइका परिकार बन्ने गरेका छन् ।
पहिला छुर्पी घिउलगायतका परिकार समेत निर्माण गर्ने गरेको भए पनि नभ्याएर छुर्पी र घिउ निर्माण गर्न छोडेको उनी बताउँछिन् । हाल राईको उद्योगमा ३४ महिला र दुई पुरुष गरेर ३६ जनाले रोजगारी पाएका छन् । दूधलाई पकाएर खुवा बनाउने, बेल्ने, कागजमा बेर्ने, तयार भएको मिठाइ प्याकेजिङ र बजारसम्म लैजाने कामका लागि राईले ३६ जनालाई रोजगारी दिएकी छन् । श्रीमान् र छोराछोरीसमेत बजारीकरणमा काम गर्छन् । हाल उत्पादित वस्तु,थोरै मात्रामा अमेरिकालगायतका देशमा जाने गरेको छ ।
अन्य काठमाडौं, धरान, बिराटनगर, पोखरासहित स्थानीय बजारमा बिक्री हुने गरेको उनले बताइन् । उनले हाल दैनिक एक लाख बराबरको कारोबार गर्दै आएकी बताइन् । एक लाखको कारोबार गर्दा १५ देखी २० हजार दैनिक नाफा हुने गरेको उनी बताउँछिन् । घरका परिवार नै सोही उद्योगमा आवद्ध भएका कारण व्यवसाय सफल भएको उनको भनाइ छ । उत्पादित ललिपप र बम्बैसनसहित पछिल्लो समय उनले कुराउनीबाट नै चक्लेटी मिठाइ समेत निर्माण गर्ने गरेकी छन् ।
उक्त मिठाईकोसमेत बजारमा अत्याधिक माग बढेको कारण बिक्रीमा समस्या नभएको उनको भनाइ छ । प्रतिलिटर ६५ रुपैयाँले दूध खरिद गरेर कुराउनी बनाइने गरेको सञ्चालक राईको भनाइ छ । चार लिटर दूधको एक किलो ग्राम कुराउने निर्माण हुने गरेको छ । उनले प्रतिकिलो तीन सय ४५ ले कुराउनीसमेत खरिद गर्ने गरेकी छन् । इलाममा उत्पादित दूधजन्य परिकार जिल्ला बाहिरबाट आउनेहरुले कोसेलीका रूपमा समेत लैजाने गरेका छन् । इलामबाट बाहिर पाहुना जाँँदासमेत उत्पादित वस्तु कोसेलीकै रूपमा लैजाने गरिएको छ ।
इलामेली ललिपपलाई सुरुसुरुमा बजार खोज्न समस्या भएपनि पछिल्लो समय बजारको समस्या नरहेको सञ्चालक राइ बताउँछिन् । सानो रकमबाट सुरु गरेको व्यवसाय हाल करोडौंको भएको उनको भनाइ छ । उनले दूधका परिकारसहित पछिल्लो समय आलुचिप्ससमेत निर्माण गर्ने गरेकी छन् । तर सो चिप्सको बजार भने इलामभित्र मात्र रहेको छ । इलाममा १५० बढी ललिपप उद्योगहरू सञ्चालनमा रहेको घरेलु तथा साना कार्यालय इलामका प्रमख एकनाथ दाहालले बताए । उनले प्राय यस्ता उद्योगहरू महिलाकै नाममा दर्ता हुने गरेको जानकारी दिए ।
महिलाका नाममा उद्योग स्थापना गर्दा छुट पाउने भएकाले पनि महिलाको नाममा नै उद्योग स्थापना गर्ने गरिएको छ । वैदेशिक रोजगारीमा गएकाहरूले समेत घरमा नै यो उद्योग स्थापना गर्न सक्ने भएका कारण पनि महिलाहरू बढी यस्ता उद्योग स्थापना गर्न लागेका हुन् । पहाडी जिल्ला भएर पनि इलाममा उत्पादित वस्तु गुणस्तरिय हुने गरेको छ । चिसो मौसम भएका कारण पनि इलाममा यसको व्यवसाय फस्टाएको हो । अमेरिकालगायतका देशमा पठाउँदा भने यसको क्वालिटी परीक्षण गरेर मात्र पठाउने गरिन्छ ।
इलामबाट यसको परीक्षण गर्न खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगर पठाउनु पर्ने भएकाले यहाँ निर्माण भएको सामग्री बिग्रन सक्नेसमेत खतरा रहेको घरेलु तथा साना उद्योग कार्यालय इलामका प्रमुख दाहालले बताए । खाद्य तथा गुण नियन्त्रण कार्यालयको सेवा इलाममासमेत विस्तार गर्न सके पहाडी जिल्लामा उत्पादित वस्तुहरुसमेत विदेश निर्यातमा सहजता आउने यहाँका व्यवसायीको भनाइ छ । इलाममा गत असार मसान्तसम्ममा साना तथा मझौला गरेर पाँच हजार आठ सय ९० उद्योगहरु दर्ता भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।