हस्तकला क्षेत्रमा जनशक्ति अभावले ९१ प्रतिशत बजार खेर गइरहेको छ

नेपाल हस्तकला महासंघको ४४औं साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएका प्रचण्ड शाक्यले हस्तकलाका क्षेत्रमा साढे तीन दशकको अनुभव सँगालिसकेका छन् । वि.सं. २०५८ देखि महासंघमा सक्रिय शाक्य यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको भूमिकामा रहेका थिए भने हस्तकला डिजाइन तथा विकास केन्द्रको सभापतिको जिम्मेवारी पनि निर्वाह गरेका छन् । विगतका वर्षहरूमा हुने गरेका हस्तकला मेलाको मुख्य जिम्मेवारी लिएर सफलतापूर्वक सम्पन्न गरेको श्रेय उनलाई जान्छ भने उनी सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् ।
परम्परागत धारका कलाकार मानिने उनले २००६ देखि पुल्चोकमा नेपाल परम्परा तथा हस्तकला प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका छन् । केन्द्रमा १२ सय युवाले कला सिकिरहेको र अहिले ८० प्रतिशतले व्यावसायिक रूपका काम सुरुसमेत गरेका छन् । शाक्यकै पहलमा लुम्बिनी विश्वविद्यालयसम्मको समन्वयमा ब्याचलर्स लेभलमा हस्तकला कोर्स राख्न पहल भएको छ । अध्यक्ष शाक्यसँग नेतृत्व लिएपछि भएका कामको समीक्षा, आगामी योजना, कोभिड महामारीपछि हस्तकला क्षेत्रमा थपिएको चुनौती र यस क्षेत्रका विभिन्न पक्षबारे कारोबारका लागि सरस्वती ढकाल र गीत काफ्लेले गरेको कुराकानीको सार :
अहिले हस्तकलाको वर्तमान अवस्था कस्तो छ ?
नेपालबाट १० देखि १२ अर्ब रुपैयाँबराबरको हस्तकला बर्सेनि निर्यात हुँदै आएको छ । निर्यातसँगै आन्तरिक कारोबार पनि सोही रकमबराबर नै छ, किनकि नेपालमा पनि जन्मदेखि मृत्युसम्मका विविध कार्यका हस्तकलाका सामग्रीहरू प्रयोगमा छन् । चाडपर्वमा पनि हस्तकलाका सामानहरू खपत बढी हुने हुनाले पनि १२ अर्बकै हाराहारीमा आन्तरिक बजार छ । निर्यातमा सबैभन्दा धेरै हिस्सा फेल्टका वस्तु ६ अर्बबराबरको छ ।
त्यसैगरी २/३ अर्बको पस्मिना, हाते कागज निर्यात भएको छ । त्यसैगरी पोतेजन्य सामान, काष्ठकला, सुनचाँदीका गहना निर्यात हुँदै आएको छ । यसअघि दुई वर्ष कोभिडका कारणले गर्दा धराशायी नै भएको अवस्था हो । यो वर्ष गएको वर्षको तुलनामा १३ प्रतिशत वृद्धि भएको छ । केरुङको नाका खुलिसकेपछि चीनतर्फ धातुकला, मूर्तिकलाको निर्यात बढेको छ । हालको अवस्थालाई विश्लेषण गर्दा आगामी दिनमा हस्तकलाको भविष्य राम्रोसँग नै अगाडि बढ्ला भन्ने अनुमान गर्न सकिन्छ ।
गलैंचा, हस्तकला, फेल्ट सबै हस्तकलाअन्तर्गत नै पर्ने भएकाले दोहोरो गणना हुँदैन ? तपाईंहरूको गणना विधि के छ ?
गलैंचालाई हस्तकलाअन्तर्गत नै राखिए पनि हस्तकलामा गणना हुँदैन । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले एकद्वार पद्धतिबाट गणना गर्दै आएको छ । हस्तकलामा ४२ विधालाई समेटिएको छ । परम्परागततर्फबाट धातुकला, मूर्तिकला, पेन्टिङमा पौवा पेन्टिङलगायत रहेका छन् ।
पस्मिना, फेल्ट, हाते कागज, सेरामिक, प्राकृतिक रेशा जति पनि कपडाका वस्तुहरू आधुनिकमा छन्, ४२ विधा रहेकोमा सबैभन्दा धेरै निर्यात युरोपमा गइरहेको छ । विधाहरू पनि समयअनुसार बढ्दै छ । अहिले नवोदित गरगहनामा हातेकागजको पनि छ । प्राकृतिक रेशामा पनि विविधिता छ । यसरी छुट्ट्याएर हेर्ने हो भने ८० विधाभन्दा धेरै छ । कच्चा पदार्थका आधारमा भने ४२ विधामै पर्न आउँछ ।
युवा पलायन बढ्दो छ । यस्तो अवस्थामा तपाईंहरूले दक्ष जनशक्ति पाउन सक्नुभएको छ कि छैन ?
दक्ष जनशक्ति हामीले पाउन सकेकै छैनौं । सरकारसँग पनि हामीले युवालाई निर्यात गर्ने नीति लिनु भएन भनेरै लबिङ गरेका छौँ । तथ्यांकअनुसार हेर्दा धातुकला, मूर्तिकलामा चीनमा जत्तिको बजार छ, त्यसको ९ प्रतिशतमात्रै माग पूरा गर्न सकेको अवस्था छ । ९१ प्रतिशत त हामीले काम गर्न सक्ने हो भने अझै पनि बजार छ । चिनियाँहरूले मेसिन प्रडक्ट बनाउन खोजेका छन् त्यो भनेको बजार देखेर नै हो । चिनियाँहरू भनेको विश्वमा बजार लिन सक्ने भएकाले यसमा जोखिम हुन सक्छ ।
उनीहरूले धातुकला, मूर्तिकलामा अन्तर्राष्ट्रिय बजारमा सम्भावना देखेर नै हो । नेपालमा भएका जति पनि कलाकार छन् मिलेर जान सकेमा बजार विस्तार गर्न सकिने अवस्था छ । नेपालमा पनि भूकम्पअघि त धेरैलाई त्यति चासो थिएन । तर, भूकम्पपछि भने चासो बढेको छ । हाम्रा मठमन्दिरलगायतका सम्पदामा क्षति पुगेपछि धेरैले यसमा चासो राख्न थाले र संरक्षणमा पनि जागरण पैदा भयो । त्यसलाई नै क्यास गरेर हामीले कलाकृतिमा नयाँ जनशक्ति ल्याउन सक्ने अवस्था छ ।
हामीले विगतदेखि नै हस्तकलाका क्षेत्रमा युवालाई आकर्षित गर्ने कार्यक्रमका लागि सरकारसँग सहकार्य गर्दै आएका छौं । सरकारको बजेटमा पनि यो कार्यक्रम परेको छ र अहिले पनि हामी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं । यो क्षेत्रलाई जीवन्त राख्न नयाँ पुस्ताको आकर्षण हुनु जरुरी छ, हामी त्यसमा प्रतिबद्ध छौं ।
केन्द्रीय बैंकले सुनमा कोटा निर्धारण गरेको छ । सरकारले पनि चाँदीमा कोटा नै लगाएको छ । धातुजन्य हस्तकला निर्माणका लागि तपाईंहरूलाई सुनचाँदीको पर्याप्तता कत्तिको छ ?
सुनचाँदीका गरगहना र सम्पदा संरक्षणमा बजार हेर्दा लगभग प्रतिदिन ३० केजी सुन आवश्यक पर्छ । केन्द्रीय बैंकले अहिले २० किलो सुनको कोटा निर्धारण गरेको छ । अहिलेको अवस्थामा सुनको कोटाले हामीलाई आवश्यक सुन पुगको छैन । सुनको माग पूरा हुन नसक्दा पुराना कृतिहरू बिगारेर नयाँ सामान बनाउनुपर्ने पनि भएको छ । पुराना सामान बिगार्नु भनेको भ्यालु एडेड वस्तुलाई बिगारेर बनाएको हो । अपुग भएको सामानलाई पुरानो सामान नै प्रयोग भएको छ । पुराना वस्तुहरूको भ्यालु समय बित्दै जाँदा बढ्दै जान्छ, तर हामी पुरानो सामान बिगार्न बाध्य भएका छौँ ।
हस्तकला महासंघले पनि यसमा आफ्नो लबिङ गर्न कतै कमजोरी भएको पो हो कि ?
सुन–चाँदीलगायतका वस्तुका लागि हस्तकला महासंघ मात्रै होइन, सुनचाँदी व्यवसायी महासंघ, रत्न तथा आभूषण संघ र महासंघ गरी तिनै संस्थाको संयोजकत्वमा गहगहना, सम्पदा संरक्षणका सवालमा आवाज उठाउने काम भएको छ । गएको साता पनि बैंकर एसोसिएसनसँग छलफल भएको थियो । अर्थ मन्त्रालयमा पनि तीनवटै संस्थाबाट प्रतिनिधित्व गरेर लबिङ भएको छ । हामीले आफ्नो तर्फबाट गरिरहेकै छौं ।
कोभिडपछाडि पर्यटकहरू नेपालमा आउने क्रम घट्यो । त्यसकारण हस्तकलाका सामानको माग पनि घट्न गयो होला । पर्यटक र हस्ककलाको सम्बन्ध कस्तो हुने रहेछ ?
निश्चय पनि नेपाल आउने विदेशी पर्यटकले मन पराएर यहाँका हस्तकलाजन्य सामग्री किनेरै लैजान्थे । यसले एकातिर हाम्रा उत्पादनको सित्तैंमा बजारीकरण हुने र अर्कातिर हामीले सामान बेच्न टाढासम्म जानै नपर्ने स्थिति रहन्थ्यो । तर, पर्यटक नै नआएपछि यसरी बिक्री हुने कुरा भएन । यसले असर परिरहेको छ । अहिले पर्यटन क्षेत्र पनि चलायमान हुन थालेसँगै हाम्रो क्षेत्रमा पनि केही सकारात्मक प्रभाव पर्न थालेको छ ।
हामीले यो असर न्यूनीकरणका लागि नेपाल सरकारसहित प्रदेश र स्थानीय सरकारहरूसमक्ष सरकारी कार्यालयमा सजावटका लागि नेपाली हस्तकलाका उत्पादन राख्ने, सरकारी तहबाट उपहार र पुरस्कार दिँदा पनि हस्तकलाकै सामग्री दिने लगायतका माग राखेका थियौं र त्यसमा पनि केही काम भने भइरहेको छ । उद्यमी साथीहरूलाई हामीले के भनेका छौँ भने हामीले जहिले पनि एउटै प्याटर्नको सामान पठाइरहेका छौँ, नयाँ खालका सामान बनाउनुस् भनेका छाँै । सामान बिक्री नभए पनि नयाँ वस्तु बनाउनुपर्छ भनेका छौँ ।
अनलाइन बजार तथा ई–कमर्समा तपाईंहरू कत्तिको लाग्नुभएको छ ?
नेपालमा अहिलेसम्म ई–कमर्स भनेको नेपालभित्र मात्रै भएको छ । नेपाल सरकारलाई पेमेन्ट गेटवेका लागि सहज बनाउन अनुरोध गरेका छाँै । महासंघको आफ्नै ई–कला भन्ने पोर्टल पनि छ । अन्तर्राष्ट्रिय बजारमा लैजाने कन्सेप्टकै लागि यो बनाएको हो । पेमेन्ट गेटवे सुविधा नहुँदा हामीले अपेक्षा गरेअनुसार यो पोर्टलबाट लाभ लिन सकेको अवस्था छैन ।
अन्तर्राष्ट्रिय बजारमा हाम्रा सामान कत्तिको प्रतिस्पर्धी छन् ?
पस्मिना, हाते कागजलगायतका जति पनि प्राकृतिक रेशाका सामानहरू छन्, तिनीहरू अन्तर्राष्ट्रिय बजारभन्दा सस्ता नै छन् । नेपालमा अहिले चीनबाट धेरै सामान आउन थाल्यो, जसका कारण यहाँ केही महँगो मानिए पनि अन्तर्राष्ट्रिय बजारमा भने तुलनात्मक रूपमा सस्तो नै हो । नेपालीहरूले लगाउने कोट विदेशबाट ल्याउँदा धेरै महँगो छ, बरु नेपाली कोट सस्तो छ । गुणस्तरमा समयसापेक्ष सुधार गर्दै जानुपर्ने छ ।
यो क्षेत्र नेपालको तुलनात्मक लाभको क्षेत्र नै हो । यसमा सानो पुँजीले ठूलो संख्यामा रोजगारी सिर्जना र निकासीको लाभ पाउन सकिन्छ भने यसको भविष्य पनि उज्ज्वल छ । अहिले पनि दक्ष जनशक्ति अभावमा विदेशबाट ल्याउनुपरिरहेको स्थितिलाई हृदयंगम गरेर हामीले यस क्षेत्रमा जनशक्ति विकास भने गर्नुपर्ने आवश्यकता छ ।
अन्तर्राष्ट्रिय मेला–महोत्सवमा अन्तिम दिन निकै सस्तोमा सामान बेचेर आउने कारण नेपाली सामानको लागतलाई कम मूल्यांकन गरिन्छ भनिन्छ नि ? किन मेलाको अन्तिम दिन व्यवसायीले निकै सस्तोमा सामान बेच्छन् ?
नेपाली व्यवसायीहरूले मेलामा सामान बिक्री हुने जति बिक्री गर्छन् तर जति सामान बाँकी रहन्छ त्यो नेपाल ल्याउन झन्झट हुने हुँदा कम मूल्यमा भए पनि बेचेर आउने गरेको हुन सक्छ । शतप्रतिशत वा ५० प्रतिशत कर तिरेर फेरि ल्याउनुभन्दा त केही कम मूल्यमा भए पनि सामान बेच्दा कार्गाे लागत बच्छ भनेर पनि बेच्छन् । अहिले पनि करोडौंका सामान मेला–महोत्सवमा देखाउनका लागि लगिएका अहिले पनि उतै छ ।
तर, कोही साथी, जो फेरि जान नचाहने हुन्छ, उहाँहरूले त्यसरी सस्तोमै बेचेर आएको हुन सक्छ । कतिपय किन्नेहरूले पनि कुरेर बस्ने, अन्तिममा सबै उठाउने गरेको पनि देखिन्छ । महासंघले यसो नै गर्नु भनेर पनि भन्न मिल्दैन । किनकि बिजनेस पोलिसी सबैको फरक हुन्छ, यद्यपि एउटा लेभल मेन्टेन गर्नुपर्छ । यदि सार्है कम मूल्यमा सामान दियो भने भोलिका दिनमा अरू साथीहरूलाई असर पर्छ ।
महासंघबाट हस्तकला ग्राम बनाउने बहुप्रतीक्षित योजना कहाँ पुग्यो ?
हामीले पहिलेदेखि नै हस्तकला ग्राम, हस्तकला नीति चाहिन्छ भनेर भनिरहेका छौँ । सरकार र मन्त्रीमण्डल परिवर्तन हुँदा ढिलाइ भएको छ । ४४औं वार्षिक साधारणसभाबाट म नेतृत्वमा आएको हो । म आएपछि नीतिगत रूपमा हस्तकला ग्राम ऐन पास गरेर जानुपर्छ भनेर लागेका छौँ । गत वर्ष पनि अध्यादेशमार्फत् ल्याएको हो, तर चुनावले गर्दा रोकियो ।
बागमती प्रदेशबाट उद्योग तथा वाणिज्य मन्त्रालयमा विधेयक अहिले पनि आइसकेको छ । मन्त्रीमण्डलबाट पास भएर संसद्मा प्रस्तुत हुने क्रममा छ । त्यसमा ११९ वटा बागमती प्रदेशका पालिकामा केही न केही गर्नुपर्छ भनेर उल्लेख छ । चाहे अफिस खोलेर होस्, चाहे अन्य गतिविधिबाट होस्, हस्तकलामा केही न केही काम गर्नैपर्छ भनेर नीतिगत रूपमै व्यवस्था गरिएको छ ।
हस्तकलालाई किन उपत्यकाभन्दा बाहिर विस्तार गर्न सकिएन ?
काठमाडौं भ्यालीलाई मात्रै पर्यटकीयस्थल बनाउनु हुँदैन भनेर सबै क्षेत्रमा विस्तार गरिनुपर्छ भनेर सरकारलाई भनेका छौँ । त्यही कन्सेप्टमा बागमतीका पालिकामा नीतिगत रूपमा व्यवस्था गरिएको छ । म पाठ्यक्रम विकासको पनि काम गरेको हुनाले छुट्टै विश्वविद्यालय पनि बनाउने भन्ने पनि छ । नेपालमा जति पनि युवालाई सीप सिकाउन सकियो भने पनि भोलिका दिनमा यस क्षेत्रको दायरा अवश्य पनि बढ्नेछ ।
निकासीमा नगद अनुदानको व्यवस्था पनि छ, हस्तकला क्षेत्रले यसलाई कत्तिको उपभोग गरिरहेको छ ?
निकासीमा नगद अनुदानको सुविधा नीतिमा छ र दाबी गर्यौं भने पाउने अवस्था पनि छ, तर धेरै हस्तकला निकासीकर्ताले यो सुविधा पाउन सकेका भने छैनन् । यसमा प्रशासनिक झमेला बढी भएकाले त्यो झमेलामा फस्नुभन्दा बरु बढी उत्पादन गरेर निकासी गर्न सक्छु भन्ने सोच हाम्रा साथीहरूमा देख्न सकिन्छ । विभिन्न कार्यालय धाउनुपर्ने र अनेकौं कागजात जुटाउनुपर्ने अवस्थाको अन्त्य नहुँदासम्म हस्तकला व्यवसायी त्यो सुविधा लिन जाँदैनन् ।
हामी यसको प्रक्रियागत सरलीकरणका लागि उद्योग मन्त्रालय जाने योजनामा छौं । हामीले सामान बाहिर पठाउनासाथ एकाउन्टमै रकम आउने व्यवस्था हुनुपर्छ भनेर सरकारसँग माग गरेका छौँ । डलर भित्रिएको आधारमा खातामा रकम आउने व्यवस्थाकै लागि पहल गरेका छौँ । उद्यमी साथीहरूले पनि पारदर्शी दरमा कच्चा पदार्थ आएको कागजात पनि राख्नुपर्यो । प्रज्ञापनपत्रअनुसार गरियो भने सबैभन्दा सहज हुन्छ भन्ने मेरो अनुभव छ ।
बैंकको कर्जा पछिल्लो समय सहज तरिकाले पाउन सकिएको छैन, हस्तकलामा यसका असर कत्तिको परेको छ ?
हस्तकलामा अहिले साथीहरूले जोखिम लिन चाहनुभएको छैन । धेरै कम साथीले मात्रै बैंकको ऋण लिएर काम गरेका छन् भने अरू साथीहरू इच्छुक देखेको छैन ।
तपाईंले नेतृत्वले लिएको पनि १८ महिना भइसक्यो, अबका दिनमा गर्ने योजना के छन् ?
हस्तकला क्षेत्रलाई सरकारले छुट्टै मान्यता दिनुपर्छ । नेपालकै पहिचान दिने वस्तुहरू भएकाले सरकारले पनि हस्तकलालाई प्राथमिकता दिनुपर्छ भनेर माग गरिरहेका छौँ । हस्तकला ग्रामको विधेयक पनि यसको एउटा उदाहरण हो । हस्तकलाको विश्वविद्यालयको कन्सेप्टमा पनि काम गरेका छौँ । ४२ वटै विधालाई ब्याचलर्स र मास्टर्स लेभलमा पनि राख्ने योजना छ ।
वल्र्ड क्राफ्ट काउन्सिलको सदस्य हस्तकला महासंघ छ । भर्खरै मात्र म उज्जेकिस्तानमा गएर आएको थिएँ । त्यहाँ अन्तर्राष्ट्रिय हस्तकला मेला आयोजना भएको थियो । अन्तर्राष्ट्रिय लेभलका सबै कलाकार बोलाएर त्यहाँ कार्यक्रम गर्दा चार सय जना बोलाइएको थियो । म त्यहाँ चार वर्षको बीचमा गएको थिएँ । पहिलेको तुलनामा आठ गुणा हस्तकलाको निर्यातमा वृद्धि भएको छ र रोजगारी पनि दुई गुणा बढेको रहेछ ।
सरकारको दिएका प्राथमिकताकै कारण उज्जेकिस्तानमा हस्तकलाको निर्यात बढ्न सम्भव भएको हो । नेपालमा प्राकृतिक रेशाहरू पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यसै खेर गएको छ । यदि हामी त्यसैगरी गर्न सकियो भने सबै नेपाललाई पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्ने तयारी छ । अन्तर्राष्ट्रिय रूपमा हामीले अस्ट्रेलिया, अमेरिका, रोमानियामा पनि पहल भएको छ ।