तीन महिनामा मनाङ एयरका दुई हेलिकप्टर दुर्घटना

काठमाडौं– पछिल्लो तीन महिनामा मनाङ एयरका दुई हेलिकप्टर दुर्घटना भएका छन् । मनाङ एयरको कलसाइन ९ एन–एएनजे हेलिकप्टर शनिबार सोलुखुम्बुको लुक्लाबाट बिहान ७ः१२ मा लोबुचेका लागि उडान भरेको थियो । गन्तव्य नजिक पुगेर अवतरणको क्रममा हेलिकप्टर दुर्घटना भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनामा हेलिकप्टर पाइलट प्रकाशकुमार सेढाईं घाइते भएका छन् । अहिले सेढाईंको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताए । ‘शनिबार मौसम राम्रो रहेको अवस्थामा दुर्घटना भएको छ । दुर्घटना के कसरी भएको हो, त्यसको यकिन गर्न र स्थलगत अध्ययनका लागि प्राधिकरणको टोली त्यसतर्फ जानेछ,’ उनले भने ।
हेलिकप्टर लोबुचेमा अवतरणको क्रममा हेलिप्याडको आसपास दुर्घटना भएर आगो लागेको थियो । हेलिकप्टर कार्गाे उडान गरी लोबुचेमा रहेका पर्यटक लिन जाँदै थियो । यसअघि असार २६ मा मनाङ एयरकै ९–एन एएमभि (एएस–५०) कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा पाइलटसहित ६ यात्रुको मृत्यु भएको थियो । सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ लामजुरेमा हेलिकप्टर दुर्घटनामा परेको थियो । त्यसबेला हेलिकप्टरले सोलुखुम्बुको सुर्केबाट काठमाडौंको लागि उडान भरेको थियो ।
उडेको ८ मिनेटमा सम्पर्क बिच्छेद भएको र करिब ३ घण्टापछि दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । प्राधिकरणले ३ महिनाको अन्तरमा दुई दुर्घटना भएपछि यो कम्पनीको उडान अनुमति रद्द गरेको छ । प्राधिकरणका सूचना अधिकारी भूलका अनुसार पछिल्लो ३ महिनामा एकै कम्पनीको दुई वटा हेलिकप्टर दुर्घटना भएपछि उडान सुरक्षाका हिसाबले तत्काललाई उडान अनुमति (एओसी) रद्द गरिएको हो । हेलिकप्टर कम्पनीको सम्पूर्ण प्राविधिक पक्षबारे अध्ययन गरेर मात्र अनुमतिलाई निरन्तरता दिने–नदिने निर्णय गरिने उनले बताए । यो दुर्घटनापछि मनाङ एयर हेलिकप्टरविहीन भएको छ ।
१६ महिनामा ७ दुर्घटना
पछिल्लो १६ महिनामा ७ वटा हवाई दुर्घटना भएका छन् । गत २०७९ जेठ देखि हालसम्म ५ हेलिकप्टर र २ विमान दुर्घटना भएका हुन् । २०७९ जेठ १५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटनाग्रस्त हुँदा २२ जना यात्रुको निधन भएको थियो । यस्तै, माघ १ मा नेपालको हवाई क्षेत्रमा पहिलो पटक एटिआर–७२–५०० विमान दुर्घटना भएको थियो । पोखरामा भएको यो दुर्घटनामा ७२ जनाको ज्यान गएको थियो ।
यस्तै, वैशाख २३ मा संखुवासभाको भोटेखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । यो दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । २०७९ चैत २५ मा काठमाडौंको ह्याम्स अस्पतालमा एयर डाइनेस्टीको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको थियो । यसको भोलिपल्ट चैत २६ मा धौलागिरि बेसक्याम्प नजिकै एभरेष्ट एयरको हेलिकप्टर अवतरणकै क्रममा दुर्घटना भएको थियो । यी दुवै दुर्घटनामा मानवीय क्षति भने भएन । यी सबै दुर्घटनाबाट १०१ यात्रुले ज्यान गुमाएका छन् ।