पढाइ शिविरबाट ५ सय बढी बालबालिका लाभान्वित «

पढाइ शिविरबाट ५ सय बढी बालबालिका लाभान्वित

लमजुङको विभिन्न सामुदायिक विद्यालयमा सुरु भएको पढाइ शिविरले बालबालिकामा सकरात्मक परिवर्तन आएको पाइएको छ । प्रत्येक शनिबार सञ्चालन हुने अतिरिक्त पढाइ शिविरले बालबालिकाको आनीबानीमा सुधार आउनुका साथै पढाइप्रति आकर्षित भएको पाइएको हो । शनिबार सरकारी बिदा भएसँगै जिल्लाका सबै सामुदायिक विद्यालय बन्द हुन्छन् । तर केही विद्यालयमा अध्ययनरत बालबालिकाहरू भने अन्य दिनभन्दा शनिबारको दिन पढाइप्रति विशेष रुचि देखाउँछन् । प्रत्येक शनिबार हुने पढाइ शिविरमा गीत, कथा र चित्रहरू बनाएर पढ्न पाएपछि त्यसतर्फ बालबालिकाहरू आकर्षित भएका हुन् ।
पढाइ शिविरमा आएका बालबालिकाहरूको पढाइप्रति रुचि जाग्नुका साथै आनीबानीमा समेत सुधार भएको पढाइ शिविरकी सहजकर्ता अनिता विकले बताइन् । “पढाइ शिविरले बालबालिकामा राम्रो प्रभाव पारेको छ,” विकले भनिन्, “उनीहरू औपचारिक पढाइमा ध्यान दिन थालेका छन्, उनीहरूरुको बोल र आचरणमा समेत सकरात्मक प्रभाव परेको छ ।”पढाइ शिविरमा कक्षा एकदेखि तीनसम्मका बालबालिकाहरूले ९० मिनेट समय बिताउँछन् । बालबालिकाहरूलाई पढाइप्रति अभिरुचि पैदा गराउन वल्र्ड भिजनको साझेदारीमा जिल्लास्थित ग्रामीण सामूदायिक विकास केन्द्रले जिल्लामा २८ स्थानमा नियमित पढाइ शिविर सुरु गरेको हो । पढाइ शिविरमा आएका बालबालिकामा विद्यालयको औपचारिक पढाइमा समेत सुधार भएको अभिभावक सुष्मिता तामाङले बताइन् । “पहिला पहिला मेरो बाबुले गृहकार्य गर्न पनि मान्दैनथ्यो,” तामाङले भनिन्, “अहिले पढ्नलाई कहिल्यै अल्छी गर्दैन, पढिसकेपछि किताब कापी पनि आँफै मिलाएर राख्छ ।”पढाइ शिविरबाट बालबालिकामा सकरात्मक परिवर्तन पाएपछि अभिभावकहरू पनि खुसी छन् । नियमित पढाइ शिविरका लागि संस्थाले एकजना सहजकर्तासँगै एक सय ४२ फरक शीर्षकका पुस्तक र आवश्यक शैक्षिक सामग्री जुटाइदिएको छ ।
शिविरकै कारण बालबालिकामा बोल्ने तथा घुलमिल हुने क्षमता विकास हुनुका साथै विद्यालयको औपचारिक पढाइमा पनि रुचि बढेको अर्की सहजकर्ता सुष्मा गुरुङले बताइन् । “बच्चाहरू पहिले बोल्न पनि डराउँथे, नजिक आउन पनि मान्दैनथे,” गुरुङले भनिन्, “अहिले बच्चाहरू आफै गीत गाउँछन्, आफै कथा बनाएर भन्न सक्छन्, धेरै परिवर्तन भएको छ ।” बालबालिकाहरूमा सकरात्मक परिवर्तन आएपछि पछिल्लो समय पढाइ शिविरमा अभिभावकहरूको समेत आकर्षण बढ्न थालेको छ । पढाइ शिविरका लागि आवश्यक शैक्षिक सामग्रीमा समेत अभिभावकहरूले सहयोग गर्न थालेका छन् । “अभिभावकहरू पनि आउनुहुन्छ,” सहजकर्ता गुरुङले भनिन्, “बालबालिकाका लागि आवश्यक घरेलु शैक्षिक सामग्री बनाउन मद्दत गर्नु हुन्छ ।” शिविरबाट जिल्लाको बेसीसहर, सुन्दरबजार र क्होंलासोथारका पाँच सयभन्दा बढी बालबालिकाहरू लाभान्वित हुँदै आएका छन् । विद्यालयको औपचारिक पढाइप्रति आकर्षण गराउन अतिरिक्त पढाइ शिविर सुरु गरिएको आरसीडीसीकी रेनुका ठकुरीले बताइन् ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्