मासु बिक्रीमा पनि सुस्त अर्थतन्त्रको प्रभाव

काठमाडौं– अर्थतन्त्रमा अहिले देखिएको सुस्तताको प्रभाव यसपालिको चाडपर्वमा बिक्री हुने मासुमा समेत देखिएको छ । ऋणधन गरेरै भए पनि चाडपर्व मनाउने हाम्रो परम्परा छ । तर, मासुजन्य वस्तुको कारोबार गर्ने व्यवसायीहरु भने यसपालि मासु उपभोग घट्ने बताउँछन् । यही अनुमान गरेर व्यवसायीले चाडपर्व लक्षित ल्याउने खसीबोका र माछाको आयात घटाएका छन् ।
पशु सेवा विभागका अनुसार दुई वर्षअघि काठमाडौं उपत्यकामा ६० हजार खासीबोका भित्रिएका थिए । तर, यस पटकको दसैंमा उपत्यकामा ४०/४५ हजारमात्र खसीबोका खपत हुने अनुमान व्यवसायीले गरेका छन् । नेपाल माछा मासु व्यवसाय संघका अध्यक्ष रमेश खड्गीले पछिल्लो समय काठमाडौं उपत्यकामा मासु खानेको संख्या निकै घट्दै गएको बताए । विगतका दसैंलाई हेर्दा यस पटक १०/१५ हजार खसीबोकाको खपत कम हुने देखिएको उनको भनाइ छ । उनका अनुसार निजी व्यापारीले विभिन्न जिल्लाबाट ४०/४२ हजार खसीबोका ल्याउने अनुमान छ । खाद्य व्यापार तथा व्यवस्था कम्पनीले ल्याउने ३ हजार खसीबोका र च्याङ्ग्रालाई जोड्दा ४५ हजारको संख्यामा खपत हुने अनुमान छ ।
उनले च्याङ्ग्रा पछिल्लो समय निकै महँगो भएको हुँदा यसको आयात घटेको बताए । खाद्य व्यापार कम्पनीले ल्याउने एक हजार र व्यापारीले ल्याउने गरी करिब २ हजार ५ सय च्याङ्ग्रा दसैंमा खपत नहुने अनुमान रहेको अध्यक्ष खड्गीले बताए । च्याङ्ग्राको मासु प्रतिकिलो १५ सयदेखि २ हजारसम्म पुगेको छ । ५ वर्षअघि दसैंमा २५ हजार हाराहारीमा च्याङ्ग्रा खपत हुने गरेको थियो । यो वर्ष २ हजार ५ सयमा झरेको उनले बताए ।
यो वर्ष धेरैलाई आर्थिक संकटको असर परेको हुँदा विगतका तुलनामा खसीबोकाको खपत धेरै कम हुने देखिएको उनको अनुमान छ । अध्यक्ष खड्गीका अनुसार ३ वर्षअघि महामारीको रुपमा फैलिएको कोरोना संक्रमणपछि काठमाडौं उपत्यकामा खसीबोकाको मासुे खपत बढ्न सकेको छैन । कुखुराको मासुको खपत भने बढेको छ । कुखुरा दैनिक काठमाडौंमा ५/६ लाख किलो खपत हुन्छ । खसीबोका दैनिक एक हजार किलोमात्र हुन्छ ।
विगतमा दसैंका बेला सामान्य समयको भन्दा खपत ३/४ गुणाले बढ्छ । राँगा सामान्य अवस्थामा दैनिक ७/८ सय किलो खपत हुन्छ भने दसैंमा २ हजार ५ सयसम्म हुने गरेको छ । पछिल्लो समय नेपालमा बाख्रा पालन व्यवसाय बढेको हुँदा भारतबाट खसीबोका आयात गर्नुपर्ने अवस्था छैन । कुखुरा, माछा र खसीबोकामा नेपाल आत्मनिर्भर हुन थालेको उनको भनाइ छ । दसैंमा मासुको मूल्य भने नबढ्ने उनले जानकारी दिए । अहिले खसीको मासु प्रतिकिलो १ हजार ४ सय रुपैयाँ छ । कुनै व्यापारीले यो मूल्यभन्दा बढी लिए सरकारी निकायले कारबाही गर्ने चेतावनी दिएको उनले जानकारी दिए ।
दसैंका लागि कलंकीको खसीबोका बजारमा २५/२८ हजार खसीबोका आउने अनुमान रहेको काठमाडौं चौपाया खरिद बिक्री संघका व्यवस्थापक जीवनराज खड्काले जानकारी दिए । उनले च्याङ्ग्रा करिब २ हजार ५ सय आउने बताए । खसीबोकाको मूल्य जिउँदो प्रतिकिलो ७ सय ५० रुपैयाँसम्म हुने उनको भनाइ छ ।
पशु सेवा विभागको तथ्यांकअनुसार नेपालमा वार्षिक ६ लाख ५८ हजार खसीबोका उत्पादन हुन्छन् । यसमध्ये कृषकले दसैं लक्षित देशभरका लागि ३ लाख २९ हजार खसीबोका उत्पादन गर्छन् । पछिल्लो समय बाख्रा पालन व्यवसाय बढेको हुँदा दसैंका लागि खसीबोका आयात गर्नु नपर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता तपेन्द्र बोहराले जानकारी दिए । हाल नेपालमा २ हजार ५ सय बाख्रा व्यवसाय गर्ने कृषक रहेको अनुमान छ । विगतको भन्दा उत्पादन पनि बढ्दै गएकाले खसीबोकामा नेपाल आत्मनिर्भर भएको उनले बताए । विगतमा स्वदेशी उत्पादन कम हुँदा दसैंको मागअनुसार धान्न नसक्ने हुँदा छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने बाध्यता थियो ।
काठमाडौं चौपाया खरिद बिक्री संघका व्यवस्थापक खड्काले महँगीकै कारण मानिसले च्याङ्ग्राको मासु खान छोडेको जानकारी दिए । उनका अनुसार विगतमा काठमाडौं उपत्यकामा दसैंमा ८/१० हजार बढी च्याङ्ग्रा खपत हुनेमा अहिले २/३ हजार पनि खपत नहुने अवस्था छ । ३/४ वर्ष अघिसम्म च्याङ्ग्रा र खसीबोकाको मासुको मूल्य करिब उस्तै हुन्थ्यो । अहिले करिब दोब्बर छ । अहिले महँगीका कारण खसीबोका खान छोडेर उपभोक्ताले कुखुराको मासु बढी खान थालेको खड्काको भनाइ छ । यो वर्ष ३० प्रतिशतले खसीबोकाको खपत घटेको उनले जानकारी दिए ।
चौपाया खरिद बिक्री व्यवसायी संघका उपाध्यक्ष सन्तोष खत्रीले पनि पछिल्लो समय खसीबोकाको खपत घटेको बताए । बजारमा दैनिक उपभोग्य वस्तुकै मूल्य बढेको हुँदा मासु खपत नभएको उनको भनाइ छ । उपाध्यक्ष खत्रीले विगतका दसैंको अनुभव सुनाउँदै भने, ‘३/४ वर्ष पहिले काठमाडौंमा ८० प्रतिशतले मासु खाने गर्थे । अहिले यो तथ्यांक ५०/५० प्रतिशत भइसकेको छ । बढ्दो महँगीले मासुको खपत घटेको छ । टुकुचा खसीबोका बजारमा पहिले दसैंमा ७ हजारदेखि ८ हजार खसीबोका बिक्री हुन्थे । यस पटक ५/६ हजारमात्र बिक्री हुने अनुमान छ ।’