Logo

झापाका तीन सिमेन्ट उद्योग बन्द, अरु पनि संकटमा

झापा– झापाका तीनवटा सिमेन्ट उद्योग पूर्ण रुपमा बन्द भएका छन् । भद्रपुर नगरपालिका–९ पुहाँतुबारीमा सञ्चालित मित्तल सिमेन्ट उद्योग, मनसा सिमेन्ट उद्योग र मेचीनगर–७ ज्यामिरगढीमा सञ्चालित सनराइज सिमेन्ट उद्योग बन्द भएका हुन् ।

झापामा आठ सिमेन्ट उद्योग सञ्चालनमा रहेकोमा तीनवटामा ताला लागेको उद्योगका सञ्चालकहरूले बताएका छन् । अहिले झापाको मेचीनगर–१३ दुवागढीमा गोरखकाली सिमेन्ट उद्योग र हिमालयज सिमेन्ट उद्योग, मेचीनगर–१५ ज्यामिरगढीमा मेघा सिमेन्ट उद्योग, बिर्तामोड–२ चारपानेमा कञ्चनजंघा सिमेन्ट उद्योग र हल्दिबारी–३ स्थित देवीवस्तीमा काबेली सिमेन्ट उद्योग सञ्चालनमा छन् ।

उद्योगपति मोहनलाल अग्रवालले झापामा पहिलो पटक साविक चन्द्रगढी गाविस हाल भद्रपुर नगरपालिका–९ पुहाँतुबारीमा २०५७ सालमा मित्तल सिमेन्ट उद्योग स्थापना गरेका थिए । यसैगरी २०६० सालमा गोरखकाली, २०६२ मा हिमालयज, २०६६ मा मनसा, २०६९ मा कञ्चनजंघा र मेघा, २०७२ मा सनराइज र २०७७ सालमा काबेली सिमेन्ट उद्योग स्थापना गरिएको थियो ।

मित्तल सिमेन्ट उद्योग चार वर्षअघि बन्द भइसकेको उद्योगका सञ्चालक सुरेशकुमार मित्तलले जानकारी दिए । आफ्ना बुबाले करिब डेढ बिगाहा जमिनमा ५ करोड लगानीमा उद्योग स्थापना गरेको बताउँदै उनले आर्थिक वर्ष २०७५–०७६ मा बाध्य भएर उद्योग बन्द गर्नुपर्ने अवस्था आएको जनाए । सिमेन्टका लागि चाहिने कच्चा पदार्थ भारतबाट चर्को मूल्य तिरेर ल्याउनुपर्ने, चर्को प्रतिस्पर्धा, बैंकको ऋण र चर्को ब्याजदरका कारण उद्योगलाई निरन्तरता दिन नसकेर बन्द गरेको उनले बताए । मित्तल सिमेन्ट उद्योगबाट पशुपति, दुर्गा र सूर्य सिमेन्ट उत्पादन हुने गरेको थियो । उद्योगका मेसिनरी औजार लगायत सामग्री कवाडीमा लगेर बिक्री गर्नुपर्ने अवस्था आएको सञ्चालक मित्तलले जानकारी दिए । राज्यले सहज वातावरण नबनाउँदा बन्द भएको उद्योग फेरि सञ्चालन गर्ने अवस्था नरहेको उनको भनाइ छ ।

त्यस्तै २०७२ सालमा मेचीनगर–७ ज्यामिरगढीमा स्थापना भएको सनराइज सिमेन्ट उद्योग चार महिनादेखि बन्द भएको सञ्चालक दीपेश ढकालले बताए । आफूले ५५ करोड लगानीमा उद्योग स्थापना गरेर सात वर्ष सञ्चालन गरे पनि उद्योग घाटामा गएकाले बन्द गर्नुपरेको ढकालको भनाइ छ । कोरोना महामारीपछि बजार खस्किँदै गएको, खपतभन्दा बढी उत्पादन, चर्को प्रतिस्पर्धा आदिका कारण उद्योग टिकाउन नसकिएको उनले बताए । गोरखकाली सिमेन्ट उद्योगका समेत सञ्चालक रहेका ढकालले देशको आर्थिक अवस्था जटिल हुनुका साथै राज्यले उद्योगलाई हेर्ने दृष्टिकोण पनि फरक भएकाले उद्योग सञ्चालन गर्न नसकिएको बताए ।

‘पहिले भारतको मेघालयबाट सिमेन्टका लागि चाहिने कच्चा पदार्थ खरिद गरेर ल्याउने गरिएको थियो । कच्चा पदार्थमा सरकारले भन्सार बढाएपछि नेपालकै खानी भएका सिमेन्ट उद्योगबाट कच्चा पदार्थ किनेर ब्रान्डिङ गरी सिमेन्ट बजार पठाउनुपर्ने अवस्था आयो । खानी भएका सिमेन्ट उद्योगसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकिने भएपछि बन्द गर्नुको विकल्प रहेन,’ उनले भने । गोरखकाली सिमेन्ट उद्योगले पहिले दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन गरेर बिक्री गरेकोमा अहिले १० हजार बोरा बिक्री गर्न एक साता लाग्ने गरेको उनले बताए । ‘सरकारले सिमेन्ट उद्योगलाई टिकाउने हो भने भ्याट र अन्तःशुल्कमा छुट दिने व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

हिमालयज सिमेन्ट उद्योगका सञ्चालक उमेश डालमियाले पनि सरकारको गलत नीतिका कारण उद्योगहरु बन्द हुने अवस्थामा पुगेको बताए । हिमालजय पनि बन्द हुने अवस्थामा पुगिसकेको बताउँदै उनले उद्योगहरु बन्द हुँदा त्यहाँ कार्यरतको रोजगारी गुम्नुका साथै विदेश पलायन हुने अवस्था आएको बताए ।

भद्रपुर–९ पुहाँतुबारीमा उद्योगीहरू पर्शुराम अग्रवाल, सञ्जय गोयल र भक्ति अधिकारी मिलेर स्थापना गरेको मनसा सिमेन्ट उद्योग पनि बन्द भएको सञ्चालक पर्शुरामका भाइ ब्रह्मदेव अग्रवालले बताए । कोरोना संक्रमणबाट सञ्चालक अग्रवालको निधन भएको ६ महिनाभित्र उद्योग बन्द भएको उनले जानकारी दिए । अर्का सञ्चालक गोयलको पनि महिना दिनअघि निधन भएपछि अन्य सेयरधनीहरूले उद्योगलाई निरन्तरता दिन नसकेको उनले बताए । बजारमा ५ करोडभन्दा बढी रकम बाँकी रहेको त्यसमाथि बैंकको ऋणका कारण उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए ।

काबेली सिमेन्ट उद्योगले पनि आंशिक रुपमा मात्र उत्पादन बजारमा पठाइरहेको उद्योगका सञ्चालक सुमन मैनालीले बताए । ६० करोड लगानीमा स्थापना गरिएको उद्योग घाटामा चलिरहेको बताउँदै उनले बजारमा रहेको बाँकी रकम उठाउन पनि सिमेन्ट पठाउनुपरेको जानकारी दिए । पहिले कोरोना महामारीको असर र त्यसपछि आर्थिक मन्दीका कारण ठूला विकास निर्माणका काम ठप्प हुनुका साथै र बैंकको चर्को ब्याजदरको असर उद्योगमा नराम्ररी परेको सञ्चालक मैनालीले बताए । ‘क्लिंकर प्लान्ट भएका उद्योगहरूले बजारमा सस्तोमा सिमेन्ट बिक्री गरिदिँदा ब्रान्डिङ गर्ने उद्योगहरू मारमा परेका छन् । पूर्वका धेरै सिमेन्ट उद्योगहरू बन्द भइसकेका छन् । बाँकी पनि क्रमशः बन्द हुने अवस्थामा पुगिसकेका छन्,’ उनले भने । सरकारले उद्योगीहरूको मनोबल बढाउने खालको नीति तथा कार्यक्रम, कर छुटको व्यवस्था नल्याएसम्म सञ्चालनमा आएका उद्योगको लगानी नै जोखिममा रहेकाले यसतर्फ ध्यान दिन उनले आग्रह गरे ।

कञ्चनजंघा र मेघा सिमेन्ट उद्योगका सञ्चालक अजय साहेवालाले पनि उद्योगहरूको अवस्था दयनीय भएकाले जुनसुकै बेला बन्द हुन सक्ने बताए । बजारमा मूल्यको प्रतिस्पर्धा, कम खपत र बैंक ऋणको चपेटाका कारण उद्योग बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ । सहरी क्षेत्रको विस्तारसँगै बैदेशिक रोजगारीमा गएका कारण अधिकाँश स्थानीयले फुस, टाली र टिनको छानो भएका घर भत्काएर धमाधम छतसहितको पक्की घर निर्माण गर्न थालेपछि झापामा सिमेन्टको माग भने बढेको छ । तर, यहाँका उद्योग बन्द हुँदा उपभोक्ताले चोरी–तस्करी गरेर भित्र्याइएको भारतीय सिमेन्ट प्रयोग गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्