१२ वर्षपछि ओसाका पुग्यो नेपाली जहाज «

१२ वर्षपछि ओसाका पुग्यो नेपाली जहाज

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजले १२ वर्षपछि जापानको ओशाका उडान गरेको छ । नेपाल एयरलाइन्सले वाइडबडी एयरबस ३३०–२०० जहाज काठमाडौं–ओशाका–काठमाडौं उडान पूरा गर्दै बिहीबार साँझ काठमाडौं अवतरण गरेको छ । बिहान साढे २ बजे काठमाडौंबाट जापानको ओसाका उडेको विमान बिहीबार साँझ ७६ जना यात्रु बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
काठमाडौं–जापान सीधा उडान सफलतापूर्वक सम्पन्न भएसँगै निगम पुरानो युगमा फर्कने अपेक्षा गरिएको छ । यसअघि सन् १९९४ अक्टोवर ३० तारिखदेखि सन् २००७ सालसम्म नेपाल एयरलाइन्सले जापानमा उडान गर्दै आएको थियो । तत्कालीन समयमा नेपाल एयरलाइन्सले काठमाडौं–चीन–जापानको रुटमा उडान गर्दैै आएको थियो ।
बिहीबार काठमाडौंदेखि १४६ यात्रु बोकेर जापान उडेको विमान ११ः५५ बजे ओसाकामा अवतरण गरेको निगमले बताएको छ । एयरलाइन्सले जापान–काठमाडौंमा ४५ जना यात्रुसहित अन्य पदाधिकारी तथा कर्मचारी गरी झण्डै १ सय जना यात्रु बोकेको निगमको भनाइ छ । यसअघि त्रिभुवन विमानस्थलमा बिदाई गर्दै निगमका अध्यक्ष मदन खरेलले नेपाल जापानको उडान अनेकौं बाधापछि पनि सबै सरोकारवालाको सकारात्मक सहयोगले सफलता प्राप्त गरेको बताए ।
जापान उडानको वार्षिक ४३ हजार सिट क्षमता रहेकोमा वार्षिक ३५ हजार यात्रुलाई सेवा दिने लक्ष्य नेपाल एयरलाइन्सले लिएको छ । निगमले हप्ताको तीन दिन बिहीबार, शनिबार र मंगलबार ओसाकाको नियमित उडान गर्नेछ । निगमले हाललाई प्रवद्र्र्धनात्मक भाडादर दुईतर्फी ७२ हजार ८ सय र एकतर्फी ३७ हजार निर्धारण गरेको छ ।
नेपाल जापानको सिधा उडानलाई थप व्यावसायिक प्रवद्र्धन गर्न सेप्टेम्बर महिना भर प्रत्येक उडानमा यात्रुहरू बीच गोलाप्रथा गराइनेछ र एक जनालाई उपहारस्वरुप एक निःशुल्क नेपाल जापान उडानको टिकट प्रदान गरिनेछ ।
निगमले आगामी पुसदेखि जापानको अर्को गन्तव्य टोकियोको नारिता विमानस्थलमा पनि उडान गर्नेछ । पहिलो उडानमा सीमित यात्रु संख्याको आधारमा भविष्यमा यात्रुहरू निरन्तर बढ्दै जाने अपेक्षा निगमको छ ।
निगमको वाइडबडी ‘ए’ ३३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडान थालेको भन्दै निगमले विहीबार बिहानै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले केक काटेर उडानको औपचारिक उद्घाटन गरेको जनाएको छ । उद्घाटनका क्रममा संक्षिप्त मन्तब्य दिँदै मन्त्री भट्टराईले ओसाका उडान नेपालका लागि क्रान्तिकारी फड्को भएको बताए । उनले अन्य क्षेत्रमा पनि निगमले उडान विस्तार गर्नुपर्नेमा जोड दिँदै निगमको सुधारतर्फ ध्यान दिन पनि आग्रह गरे ।
निगमले २७४ यात्रु क्षमताको वाइडबडी ‘ए’ ३३०–२०० जहाजबाट साताको मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँ–ओसाका नियमित उडान गर्ने जनाएको छ । निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको छ । उक्त गन्तव्यमा दुईतर्फी भाडा ७२ हजार ८१४ कायम गरिएको छ । यो प्रवद्र्धनात्मक भाडा दर हो । एक महिनापछि नयाँ भाडादर कायम गरिने निगमले जनाएको छ । काठमाडौंदेखि ओसाका उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौँको साढे सात घण्टा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्