Logo

५.७९ प्रतिशत नगद लाभांश पारित

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनलको १७ औं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।

साधारणसभाबाट आ.व. २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । यस्तै बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको एन.एफ.आर.एसबमोजिम तयार गरिएको वासलात, आ.व. २०७९/८० को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।

त्यसैगरी साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५.७९ प्रतिशतका दरले हुन आउने रु ८२,२१,६१,६५२।९६ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । साधारण सभाबाट प्रवल जङ्ग पाण्डे, सीता कार्की (के.सी.), सजन शर्मा र दिग्विजय विष्ट बैंकको संचालक समितिको सदस्य मा निर्वाचित भएका छन् ।

सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए । साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्ध रहेको कुरा जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्