Logo

इजरायलबाट २५३ को उद्धार, ३५० नाम दर्ता

काठमाडौं– युद्धग्रस्त देश इजरायलबाट २५३ जना नेपाली विद्यार्थीको उद्धार गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा गएको नेपाल वायुसेवा निगमको जहाजले उनीहरुलाई उद्धार गरेर ल्याएको हो ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायली समयअनुसार बिहीबार दिउँसो १ः३० बजे बेन गुरियन विमानस्थलबाट निगमको वाइड बडी जहाज काठमाडौंका लागि उडेको जानकारी दिइन् । सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका २५३ जना विद्यार्थीको उद्धार गरेर विमान नेपालका लागि उडेको हो ।

युद्धका कारण अलपत्र परेका नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्री साउद आफैं इजरायल पुगेका थिए । इजरायल र हमास विद्रोहीबीचको युद्धका कारण कृषि क्षेत्रमा लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत गएका नेपाली विद्यार्थी असुरक्षित भएका थिए । नेपाली विद्यार्थी लिन इजरायल पुगेका परराष्ट्रमन्त्री साउदलाई इजरायली विदेश मन्त्रालयका उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

इजरायलबाट स्वदेश फर्कन चाहने नेपाली ल्याउनका लागि नेपाल एयरलाइन्सको २७४ सिट क्षमता भएको वाइड बडी विमान इजरायल गएको हो । परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म ३५० नेपालीले उद्धारका लागि अनलाइन आवेदन दिएका छन् । आवेदन दिएका मध्ये बिहीबार २५३ लाई उद्धार गरी स्वदेश फर्काइएको हो । शनिबार हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीको शव भने कानुनी प्रक्रिया मिलाएर केही समयपछि ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इजरायलमा भएको हमलामा परी हालसम्म नेपाली विद्यार्थी विपिन जोशी सम्पर्कविहीन छन् । इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ अलपत्र परेका थप नेपाली नागरिकको खोजी कार्य गरिरहेको जनाएको छ । इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ परियोजनामा गएका हुन् ।

यसमध्ये त्रिभुवन विश्वविद्यालयबाट ९७, कृषि विश्वविद्यालयबाट एक सय १९ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना इजरायलको दक्षिणी सिमा क्षेत्र गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ जना नेपाली दक्षिण इजरायलको किबुज अलुमिममा अध्ययनरत थिए । उनीहरु अन्य विद्यार्थीको तुलनामा हमासको आक्रमणमा बढी प्रभावित भएका थिए ।

शव ल्याउन अझै केही दिन लाग्ने

शनिबारको हमलामा मृत्यु भएका नेपालीको शव तत्काल नेपाल ल्याउन भने समय लाग्ने भएको छ । इजरायल युद्धको अवस्थामा नै रहेका कारण शव ल्याउने प्रक्रियामा ढिलाइ भएको त्यहाँस्थित नेपाली दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले जानकारी दिए ।

इजरायली सरकारले युद्धको घोषणा गरेको अवस्थामा आक्रमणमा परी निधन भएकाहरूको शव हस्तान्तरणको कानुनी प्रक्रियाका कारण शव ल्याउन ढिलाइ हुने भएको हो । हालसम्म शवको पोस्ट मार्टमलगायतका काम बाँकी रहेकाले इजरायल सरकारले दूतावासलाई हस्तान्तरणा गर्न सकेको छैन । दूतावासले सबै मृतकको शव इजरायली सरकारको संरक्षणमा सुरक्षित रहेकाले सबै प्रक्रिया पूरा गरेपछि यथाशक्य छिटो नेपाल ल्याउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्