चाडपर्वका लागि बजारमा पर्याप्त खाद्यान्न छ «
Logo

चाडपर्वका लागि बजारमा पर्याप्त खाद्यान्न छ

कुमुदकुमार दुगड/ अध्यक्ष, नेपाल चामल–तेल–दाल उद्योग संघ

चाडपर्व नजिकिएको छ, बजारमा खाद्यवस्तुको माग र आपूर्तिको अवस्था कस्तो छ ?

चाडपर्व नजिकिएको अवस्थामा बजारमा खाद्यवस्तु आपूर्तिमा कुनै समस्या छैन । सहज रूपमै आपूर्ति भइरहेको छ । चिनीबाहेक अन्य दैनिक उपभोग्य वस्तुमा अहिले कुनै समस्या छैन । पछिल्लो समय चिनीबाहेक अन्य वस्तुमा मूल्य पनि घटेको छ । बजारमा भनेजस्तो महँगो छैन । दुई/तीन महिनाअघिको मूल्यभन्दा खाद्यवस्तु चामल, तेल र मैदा सस्तो भएको छ ।३ हजार २ सय बोरा पर्ने मैदा घटेर अहिले २८ देखि २९ सय रुपैयाँमा आएको छ ।

यस्तै तोरीको तेल पनि प्रतिलिटर १० देखि २० रुपैयाँ घटेको छ । चामल, दाल गेडागुडी महँगो भएको छैन । चाडपर्व नजिकिए पनि यसपटक विगतको जस्तो माग छैन । दसैं आउन केही दिनमात्र बाँकी हुँदा बजार सुनसान छ । दसैं आएको जस्तो केही अनुभूति व्यापारीमा भएको छैन । यसपटक डरलाग्दो अवस्था छ । व्यापार ठप्प छ । पसल सुनसान छन् । विगतमा दसैं नजिकिँदै गर्दा पसलमा सामान खरिद गर्नेहरूको भीड लाग्ने गथ्र्याे ।

विगतको अनुभवमा सामान्य अवस्थामा भन्दा चाडपर्वका बेला खाद्यान्नको माग कति प्रतिशतसम्म बढी हुन्थ्यो ?

विगतका दसैं, चाडपर्वमा सामान्य बेलाभन्दा ५०/६० प्रतिशतले सामानको माग बढ्थ्यो । यसपटक सामान्य अवस्थाको जति पनि बजारमा माग छैन । उपभोक्तालाई आवश्यक पर्ने सबै वस्तुको सहज उपलब्धता छ । तर, माग बढेन । भारतले चामल आयातमा प्रतिबन्ध लगाउँदा समस्या हुन्छ कि भन्ने थियो । अहिले त्यो पनि छैन । सरकारले भारत सरकारसँग धानको सहज आपूर्तिका लागि कोटा माग गरेको छ । तत्काल भारतबाट धान नआउँदा पनि चाडपर्वसम्मका लागि पर्याप्त मौज्दात छ ।

दैनिक उपभोग्य वस्तुको माग किन घटेको छ ? अत्यावश्यक वस्तुको माग त नघट्नुपर्ने हो । खासमा के कारण हो ?

सरकारले दैनिक उपभोग्य केही वस्तुमा भ्याट लगाउँदा भारतसँगको खुला सिमानाबाट सामान आइरहेको छ । त्यसकारणले पनि स्थानीय बजारको माग घटेको हो । अर्काे, पछिल्लो समय नेपालमा बस्नेको संख्या घट्दै छ । खाने मान्छे दैनिक विदेश पलायन हुँदै छन् । मानिसहरूको आयस्रोत पनि घटेको छ । लामो समयदेखि व्यापार नहुुँदा व्यापारी पसल बन्द गरेर घर जानुपर्ने अवस्था छ ।

तपाईंले बजारमा दैनिक उपभोग्य वस्तु महँगो छैन भनिरहँदा दाल, तेल, गेडागुडी र चामलमा बोरामा १५०/२०० रुपैयाँसम्म बढेको छ । चिनीको मूल्य सर्वसाधारणले खरिद गर्न नसक्ने हिसाबले बढेको छ । जिराको मूल्य त्यस्तै बढेको छ । महँगीले भान्सा थेग्नै गाह्रो भएको आम सर्वसाधारणको गुनासो छ नि ?

यसमा कसले के भन्छ, म केही प्रतिक्रिया दिन सक्दिनँ । तर, दुई महिनाअघि २५ किलोको २ हजार २ सय रुपैयाँ पर्ने जिरा मसिनो चामल अहिले २१ सय २५ रुपैयाँमा बिक्री भइरहेको छ । खाने तेल लिटरमा १० देखि २० रुपैयाँसम्म घटेको छ । मैदा बोरामा करिब ३ सय रुपैयाँ घटेको छ । यथार्थ यही हो ।

ठूला व्यापारीले वास्तविक बिल नै दिँदैनन् भन्ने गुनासो छ । संघको अध्यक्षको हौसियतले के भन्नुहुन्छ ?

यस्ता गुनासा गर्नेहरूलाई मेरो सुझाव छ, खरिद बिल दिँदैनन् भने किन बिलबिनाको सामान लिने ? बिल लिएर मात्र सामान लिनुहोस् । बिलबिना सामान खरिद गर्नु गलत हो । जसले बिल दिन्छ त्यहाँबाट सामान खरिद गर्नुहोस् । १० वटा व्यापारीले सामान खरिद गर्दा बिल दिँदैनन् भने ९० वटा व्यापारीले त दिन्छन् । हामीले सामानसँगै बिल दिइ नै रहेका छौँ । बिलबिना सामान खरिद–बिक्री गर्नु दुवै गलत हो । कसैले पनि यस्तो गर्नु हुँदैन । फेरि १० जना व्यापारी गलत छन् भन्दैमा सबै व्यापारी गलत हुँदैनन् । राम्रो व्यवसाय गरेर खाने व्यापारी पनि छन् ।

चाडपर्वकै मुखमा व्यापारीले दैनिक उपभोग्य वस्तुलगायतको मूल्यवृद्धि गर्छन् भन्ने आरोपमा अध्यक्षको नाताले के भन्नुहुन्छ ?

हो, यो आरोप व्यापारीमाथि सधैं आउँछ । तर, त्यो सबै सत्य होइन । हामीले सरकारलाई दसैंजस्ता चाडपर्वका लागि एउटा उद्योगबाट २५/२५ ट्रक सामान सुपथ मूल्यमा दिन्छौं भनेका छौँ । वाणिज्य विभागले हामीलाई मागेको सबै खाद्यान्नको मूल्य र मौज्दात उपलब्ध गराइसकेका छौँ । पछिल्लो तीन महिनासम्म पुग्ने खाद्यान्नको मौज्दात छ । अहिलेका आधुनिक युवामा कसैले कसैलाई ठग्न सक्ने अवस्था छैन । सबै नागरिक सचेत भइसकेका छन् ।

बजारमा बिक्री हुने अधिकांश खाद्यवस्तुको गुणस्तर हुँदैन भन्ने आशंका आम उपभोक्तामा छ । सरकारी निकायले बजार अनुगमन गर्दा पनि न्यून गुणस्तरका दैनिक उपभोग्य वस्तु बिक्री गरेको पाइन्छ । न्यून गुणस्तरका खाद्यवस्तु बजारमा आउनु सरकार दोषी कि उद्योगी–व्यापारी ?

राज्य दोषी छैन । राज्यले एउटा मापदण्ड बनाइदिएको छ । सोही नियमअनुसार हामीले आफ्नो वस्तुको गुणस्तर कायम गर्नुपर्छ । गुणस्तर कायम गराउन राज्यको कमजोरी छैन । उपभोक्ता पनि सचेत हुनुपर्छ । कुनै वस्तुमा गुणस्तरको शंका लाग्यो भने सरकारी ल्याबमा चेकजाँच गर्न दिनुपर्छ । तोरीको तेलको गुणस्तर छ वा छैन भन्ने कुरा स्वयं उपभोक्ताले घरमै चेक गर्न सक्छन् । गुणस्तरहीन वस्तु बिक्री गर्नेमा व्यक्तिगत नैतिकताको कुरा हो ।

व्यापारीले आफ्नो वस्तु उपभोक्तालाई कति गुणस्तर दिइरहेको छ । मेरो व्यक्तिगत कुरा गर्दा, हामीले उत्पादन गर्ने उद्योगका सबै वस्तु बजारमा नम्बर वान गुणस्तरका छन् । त्यो म आत्मविश्वासका साथ भन्न सक्छु । गुणस्तरीय सामान बिक्री हुँदैन भने हाम्रो उद्योग नै चल्दैन । यति मात्र होइन, न्यून गुणस्तरको वस्तु बजार पठाएर कारबाहीमा पर्दा ब्रान्डमा असर पर्छ । त्यसमा हामी सचेत छौँ । हामीले सरकारको मापदण्डअनुसार गुणस्तर कायम गरेका छौँ ।

हरेक उद्योगी–व्यापारीले उपभोक्तालाई गुणस्तरीय वस्तु नै बिक्री गर्नुपर्छ । यदि कसैले न्यून गुणस्तरको खाद्यवस्तु बिक्री गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्छ भने त्यस्तो व्यापारी वा उद्योगी जो–कोहीलाई पनि कारबाही हुनुपर्छ भन्छौँ । त्यस्ता व्यापारी वा उद्योगीलाई बचाउनुपर्छ भन्नेमा हामी छैनौं । विगतको भन्दा अहिले बजारमा गुणस्तरीय वस्तु नै बिक्री हुने परम्पराको विकास भएको छ ।

माग धेरै हुने चाडपर्वका बेलामा खाद्यवस्तु आपूर्तिको सहजताका लागि सरकारले के–कस्तो सहयोग गर्नुपर्छ भन्ने ठान्नुहुन्छ ?

पहिलो कुरा, राज्यले खुला सिमानाबाट आउने वस्तु नियन्त्रण गर्नुपर्छ । खुला सिमानाबाट वस्तु आयातले स्वदेशी वस्तुको माग घटेको छ । खुला सिमानाबाट न्यून गुणस्तरका वस्तु आयात हुँदा हाम्रो स्थानीय उत्पादन भएको गुणस्तरमा आरोप लागेको छ । खुला सीमा नियन्त्रण गर्दा स्वदेशी वस्तुले मूल्य पाउने र उपभोक्ताले पनि गुणस्तरको खाना पाउँछन् ।

नेपाल कुनै खाद्यवस्तुमा आत्मनिर्भर छ ?

छैन । सबै खाद्यवस्तु आयात गर्नुपर्छ । हालसम्म कुनै पनि वस्तुमा नेपाल आत्मनिर्भर छैन । राज्यले आत्मनिर्भर हुन चाहे एक–दुई वर्षमै आत्मनिर्भर हुन सक्ने सम्भावना भएका वस्तु धेरै छन् ।

प्रतिक्रिया दिनुहोस्