राजमार्गको यात्रा सहज र सुरक्षित बनाइने

धादिङ– चाडपर्व नजिकिएसँगै राजमार्ग यात्रा गर्ने मानिसको संख्या वृद्धि हुने देखिन्छ । यात्रुको संख्या वृद्धि भएसँंगै यातायातका साधन पनि थप हुने भएकाले यात्रा सहज, सुरक्षित र भरपर्दो बनाउन धादिङका सरोकारवाला निकाय छलफलमा सक्रिए भएका छन् । गतवर्षको तुलनमा यस वर्ष सडकको अवस्था बिग्रेको छ ।
नागढुंगादेखि मुग्लिनसम्म सडक चौडा गर्न निर्माणकार्य भइरहेको छ । त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सहज ढंगले दुईतर्फी रूपमा सवारीसाधन आवतजावतको सुनिश्चितता गर्न जिल्ला प्रशासन कार्यालयसहित तीनवटै सुरक्षा निकाय, यातायात व्यवसायी, सडक आयोजना कार्यालयलगायत निकाय एक भएर अघि बढ्ने संयुक्त निर्णय गरेका छन् ।
राजमार्ग विस्तारको काम गर्ने सिलसिलामा सडक छेउकुनामा राखिएका निर्माण सामग्रीका कारण सवारी आवागमन अवरुद्ध हुन नदिन विभिन्न खण्डमा रहेको खाल्डाखुल्डी तत्काल पुरी सहज बनाउन र आवश्यक स्थानमा स्पिड लाइनसहित ट्राफिक संकेत, ऐना आदिको प्रबन्ध मिलाउन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सडक आयोजना तथा निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।
सडक आयोजना, निर्माण कम्पनी, यातायात व्यवसायी र सरोकारवाला निकायसँग मंगलबार संयुक्त बैठक राखेर गैह्रेले दसैं, तिहार, छठलगायतका चाडपर्व नजिकै आइसकेको र यो समयमा मानिसको आवतजावत एवं सवारी साधनको चाप वृद्धि हुने हुँदा सडक सुरक्षामा केन्द्रित रहन निर्देशन दिएका छन् ।
जिल्लाभित्रका अन्य सडकमा समेत सहज ढंगले आवतजावतको व्यवस्था मिलाउन सडक मर्मत सम्भारको कार्यलाई तीव्रता दिई अवरुद्ध रहेका सडक तत्काल सुधार गराउन एवं सञ्चालनमा रहेका सडकको स्तरोन्नति गर्न सम्बन्धित सडक कार्यालय/आयोजना र निर्माण व्यवसायीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए । चाडपर्वको समयमा सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा असुल गर्नेलगायत गुनासो सृजना हुन नदिने गरी आवश्यक संख्यामा सवारीसाधनको व्यवस्था गर्न यातायात व्यवसायी पनि सहमत भएका छन् ।
चाडपर्वका समयमा मानिसको आवतजावत बढेसँगै सवारी चापसमेत वृद्धि हुने र सवारी दुर्घटनासमेत बढ्न सक्ने हुँदा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायीले सवारीसाधनको नियमित रूपमा प्राविधिक परीक्षण गराई चुस्त अवस्थामा राख्ने, सवारी चालक तथा सहचालकलाई अनुशिक्षण र नियमित रूपमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए ।
राजमार्गको यात्रा सुरक्षित बनाउन र सड़क दुर्घटना न्यूनीकरण गर्न प्रहरीले विभिन्न कार्यक्रमसहित नियमित चेकजाँचलाई तीव्र बनाएको छ । चालक सहचालकले मादकपदार्थ सेवन गरेर सवारी हाँकेको भेटिए अभद्र व्यवहारको मुद्दा चलाउने र बढी भाडा अशुलेको फेला पारे ठगी गरेको कसुरमा मुद्दा चलाइने धादिङका प्रहरी उपरिक्षक गौतम मिश्रले बताए । यात्रुहरूको सहजताका लागि नागरिक सहायताकक्ष सञ्चालनमा ल्याइसकेका छौं । उनले यात्रुहरूलाई समस्या परे नागरिक सहायता कक्षमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।