भारतीय सहयोगमा बनेको विद्यालय भवन हस्तान्तरण

काठमाडौं– नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत भारतले १ करोड ९२ लाख रुपैयाँ लागतमा काठमाडौंको बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालय भवन निर्माण गरेको छ । उक्त भवनको बुधबार भारतीय राजदूतावास काठमाडौं नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव र जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले संयुक्त रुपमा उद्घाटन गरी हस्तान्तरण गरे ।
भारतले उपलब्ध गराएको उक्त अनुदान रकम तीन तले विद्यालय भवन निर्माण र आवश्यक फर्निचर व्यवस्थापनमा खर्च गरिएको थियो । भारत र नेपालबीच भएको सम्झौताअनुरुप यो परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ को रुपमा निर्माण गरिएको हो । जिल्ला समन्वय समिति काठमाडौंले परियोजना कार्यान्वयन गरेको थियो ।
उद्घाटन समारोहमा दूतावासका नियोग उप–प्रमुख श्रीवास्तवले परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै दुई देशबीचको साझेदारीले पछिल्ला वर्षहरुमा विभिन्न प्राथमिकताका क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताए । भारतले सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५४६ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ भने ४८३ वटा सम्पन्न भइसकेका छन् ।
तीमध्ये काठमाडाैंका ४० सहित बागमती प्रदेशमा १०५ वटा रहेका छन् । यसका अतिरिक्त भारतले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा विद्यालयलाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको जनाएको छ । भारतले हालसम्म काठमाडौंमा ६९ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपलब्ध गराएको बताएको छ ।