‘मजस्ता युवा स्वदेश फर्किएर उद्यमी बन्न आतुर छन्’ «
Logo

‘मजस्ता युवा स्वदेश फर्किएर उद्यमी बन्न आतुर छन्’

देशबाट दैनिक हजारौं युवा अध्ययन र कामको खोजीमा बाहिरिइरहेका बेला स्वदेश फर्केर केही गरौं भन्ने भावना भएका युवाको संख्या नगन्य छ । स्वदेश फर्किएकाहरू पनि देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्थाबाट दिक्क भएर फेरि विदेसिएका घटना धेरै छन् । स्वदेशमै केही गर्छु भन्नेहरूका लागि नीतिगत रूपमा राज्यले सम्बोधन गर्न खोजे पनि व्यवहारमा भने उनीहरूका लागि गरिखाने वातावरण छैन । विदेशको उच्च शिक्षापछि नेपाल फर्केर विभिन्न समस्यासँग जुधेर यहीँ स्थापित हुन खोज्ने युवामध्ये एक हुन्, अनमोल प्रधान

विद्यालय शिक्षा नेपालमै पूरा गरेका अनमोलले भारतको देहरादूनबाट प्लस टु, बैंगलोरबाट स्नातक र बेलायतबाट इन्टरनेसनल बिजनेस म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन् । व्यावसायिक पृष्ठभूमिको पारिवारिक विरासत रहे पनि उनी नेपाल फर्केर छुट्टै खालको पहिचान बनाउने तरखरमा छन् । विराटनगरमा उनैले स्थापना गरेको हिमालयन विन ब्यागको फाउण्डर सीईओ भएर काम गरिरहेका युवा व्यवसायी अनमोलको काँधमा तीनवटा कम्पनीको जिम्मेवारी छ ।

जसमध्ये एउटा सिरहाको लहान र अन्य दुईवटा विराटनगरमा छन् । लहानको हिमालयन ह्युम पाइप कंक्रिट इन्डस्ट्रिजको वार्षिक कारोबार १८ करोड पुगिसकेको छ भने विराटनगरमा रहेको उद्योगको पनि २२ करोडको कारोबार छ । विन ब्याक भर्खरै खोलेको कम्पनी हो, जसले चार करोडबराबरको कारोबार गरेको छ । निकट भविष्यमा थप दुई–तीनवटा स्टार्टअप बिजनेस सुरु गर्न लागेका प्रधान नेपाली समाजमा छुट्टै खालको अनुभूति गराउने गरी काम गर्ने योजनामा छन् ।

उनी विगत एक वर्षदेखि नेपाल उद्योग परिसंघअन्तर्गतको युवा उद्यमी मञ्च कोसी प्रदेशको संस्थापक अध्यक्षका रूपमा चेम्बर आन्दोलनमा पनि जोडिएका छन् । प्रधानसँग युवा उद्यमशीलताको अहिलेको अवस्था, युवा पुस्ताको पलायनले निम्त्याएका चुनौती र भविष्यका योजना समेटेर कारोबारकर्मी सरस्वती ढकालले गरेको कुराकानीको सार :

युवा उद्यमी मञ्च सीएनआई कोसी प्रदेशको अध्यक्ष हुनुहुन्छ । अहिले मुलुकबाट बर्सेनि आठ लाखभन्दा धेरै युवा बाहिरिइरहेको अवस्था छ, यसलाई कसरी लिनुहुन्छ ?

अहिले देशको अवस्था विकराल बन्दै गएको छ । युवाहरू स्वेदशभन्दा विदेश जान बढी रुचाएका छन् या भनौँ बाध्य भएका छन् । नेपालमा युवालाई किन राख्न सकिएन ? किन युवाले देशमा सम्भावना देखेनन् ? अहिलेको महत्वपूर्ण प्रश्न हो । यसमा सरकार गम्भीर हुन ढिला भइसकेको छ । हामीले पनि युवालाई कसरी स्वदेशमै राख्न सकिन्छ भनेर हालसालै युवा उद्यमी मञ्चले कोसी प्रदेशको विराटनगरमा बृहत् कार्यक्रम सम्पन्न गरेका छौं ।

हिजोका दिनमा अदक्ष नेपाली युवा अरब र खाडी मुलुकमा जान्थे तर आज अर्धदक्ष र दक्ष जनशक्ति नै विदेश पलायन भएकाले यसमा बढी चिन्तित हुनुपर्ने अवस्था आएको छ । आज हाम्रै कम्पनीका म्यानेजरियल लेभलका कर्मचारीहरू विदेश पलायन भएका छन् । वर्षभरि हाम्रो कम्पनीमा तालिम लिने तर जब काम गर्ने समय आउँछ तब विदेश पलायन हुने प्रवृत्ति छ ।

बैंककै म्यानेजरहरू आईईएलटीएस कक्षा लिएको मेरै आँखाले देखेको छु । दक्ष जनशक्ति नेपालमा पाउन अब निकै मुस्किल भयो । दिनमा करिब तीन हजार युवा अहिले विदेसिने गरेका छन्, यसले वार्षिक १० लाखभन्दा पनि धेरै जनशक्ति विदेश गएको तथ्यांकले देखाउँछ । २०७७/७८ मा मात्र दुई लाख ७९ हजार विद्यार्थी विदेश जाँदा २४ अर्ब ९५ करोड रुपैयाँ बिदेसिएको तथ्यांक छ । आजका दिनसम्म ११ लाख २१७ विद्यार्थी विदेश गएकोमा एक खर्ब ४२ करोड रुयैयाँ बाहिरिएको छ । सरकारले यो कुरालाई कहिले ध्यान दिने ? सरकारले यो कुरामा ध्यान पुर्‍याउन ढिला यस अर्थमा भएको छ कि हाम्रो देश रेमिटेन्सले धानेको छ ।

भोलिका दिनमा रेमिटेन्सले पनि धान्न मुस्किल पर्न सक्छ । २०२१/०२२ मा १० खर्ब सात अर्ब रेमिटेन्स भित्रिएको छ । यो कुरा कहिलेसम्म अर्थात् कति वर्षसम्म हुन्छ ? रेमिटेन्सले कहिलेसम्म धान्छ ? अहिलेसम्म त आयातलाई रेमिटेन्सले धानेको छ, भोलिका दिनमा यही क्रम त रहन सक्दैन । यसका अतिरिक्त २०२०/०२१ मा जन्मदर २.१७ प्रतिशत थियो तर २०२१/०२२ मा ०.९ प्रतिशत छ भने भविष्य खै ? भविष्यमा नेपाल वृद्धवृद्धा र केही थोरै युवामात्रै नेपालमा रहने तथ्यांकले देखाउँछ ।

अरू युवा नेपालमा अवसर छैन भनेर बाहिरिइरहेको बेला तपाईंचाहिँ किन नेपालमै केही गरौं भनेर स्वदेश फर्कनुभयो ?

मैले एसएलसी दिँदा देशमा माओवादी द्वन्द्व चलिरहेको थियो । बन्द–हड्ताल, कलेज–स्कुल बन्द त्यतिबेला समान्य थियो । मेरो आँखाअगाडि बुबाहरूले उद्योग बन्द गरेको पनि देखेको छु । त्यसकारणले मेरो परिवारले पहिलेदेखि नै भन्दै आएको कुरा विदेशमा पढ्ने र नेपालमा व्यवसाय गर्ने भन्ने नै हो । सानैदेखि मेरो दिमागमा यही थियो । मैले विदेशमा व्याचलर्स सकेर आउँदा मेरा साथीहरूले नेपालमा उनीहरूको कोर्स आधा पनि भएको थिएन, किनकि कि त्यतिबेला कलेजहरू बन्द–हड्तालबाट निकै पीडित थिए ।

यद्यपि मलाई विदेश बस्ने सोच नै आएन । सरकारलाई मेरो एउटा मात्रै अनुरोध के छ भने वातावरण मात्रै बनाइदिनुस्, मजस्ता हजारौँ युवा देशमै केही गरौँ भन्ने सोचमा अझै पनि छन् । मैले बाहिर पढेको कुरा कार्यान्वयन गर्न मन छ, तर त्यसका लागि सरकारले नेपालमै बस्ने वातावरण बनाइदिनुपर्छ । हामीले त झकझक्याउने काम मात्रै गर्न सक्छौँ । हामीले भर्खरै ‘युथ रिटेन्सन: भविष्यको तयारी’ भनेर बृहत् कार्यक्रम सम्पन्न गर्‍यौं । यो रिजल्ट आजको भोलि त देख्न नसिकएला, तर भविष्यमा देख्न सकिन्छ । म संस्थाको नेतृत्वमा रहेको हुनाले मेरो एउटा दायित्व पनि हो । आगामी दिनमा पनि मासिक, चौमासिक वा अर्धवार्षिक रूपमै गएर भए पनि सरकारलाई हामीले ध्यानाकर्षण गराउनेछौँ ।

नेपाल फर्केर यहाँले कस्तो व्यवसाय सुरु गर्नुभयो ? पारिवारिक व्यवसायलाई कसरी अघि बढाउँदै हुनुहुन्छ कि ?

धेरै मेहनत र दु:खका साथ बुबाले यहाँसम्म ल्याएको व्यावसायिक यात्रालाई साथ दिनु मेरो धर्म हो । पारिवारिक व्यवसाय अगाडि बढाउन पनि मैले धेरै सोच्नुपर्ने अवस्था आइसकेको छ, किन त भन्दा आज म कंक्रिटको विद्युतीय पोल बनाउँदै छु । मैले विद्युत प्राधिकरणसँग काम गर्नुपर्छ । पछिल्लो वर्षमा विद्युत प्राधिकरण आफैँले बिजुलीका पोलहरू निर्माण गर्न थाल्यो । हरेक प्रदेशमा फ्याक्ट्री खोल्न थाल्यो ।

सरकारले नै कम्पनी खोल्ने हो, हामीले कसरी काम गर्ने ? म अहिले फ्याक्ट्री बन्द गर्न बाध्य छु । मलाई काम गर्न त मन छ तर सरकारले आफैं कम्पनी खोलेर काम गरेपछि हाम्रो भूमिका समाप्त भयो । विराटनगरमा मेरै फ्याक्ट्रीको पाँच मिनेटको दूरीमा प्राधिकरणले उस्तै फ्याक्ट्री खोलेको छ । हरेक प्रदेशमा प्राधिकरणले फ्याक्ट्री खोलेको छ । हामीले उदारीकरणको नीति अवलम्बन गरेको हो भने त सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्ने, नीतिनियम बनाउने हो । आफैँले फ्याक्ट्री खोल्ने होइन ।

सरकारको लगानी भनेको जहाँ निजी क्षेत्र जान चाँहदैन या सक्दैन, त्यहाँ पो गर्ने हो । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने होइन । ट्रान्सफरमर, फलामको पुल आदिमा काम गर्ने हो । कोसी प्रदेशमा मात्रै कंक्रिट पोल फ्याक्ट्री छ भने त्यसमा पनि थप्ने ? अहिले हाम्रो काम ठप्प भएको छ । यसकारण मैले ट्र्याक परिवर्तन गर्नुपरेको छ । धेरै आवाज उठाएको छु, पोल एसोसिएसनले आवाज उठाएको छ । देशमा नीति यसरी बन्यो कि आफूले नीति बनाउने तर आफ्नै लागि लागू नहुने भएको छ ।

अरूका लागि मात्रै लागू हुने अवस्था आएको छ । सरकारले किन यसो गर्‍यो भन्नेमा कुनै चित्तबुझ्दो जवाफ छैन । त्यसकारण म नयाँ प्रोजेक्टतर्फ लागेको छु । आगामी दिनमा बेग्लै ढंगबाट नेपालमा नयाँ कुरा अनुभूति हुने गरी प्रोजेक्ट अगाडि बढेको छ । छिट्टै नेपाली समाजमा हाम्रो बेग्लै खालको उपस्थिति रहनेछ ।

तपाईं नेपालको चेम्बर आन्दोलनका अगुवा किशोर प्रधानको छोरा पनि हुनुहुन्छ । व्यावसायिक जगत्मा बुबाको नाम जोडिँदा कत्तिको सजिलो महसुस हुने रहेछ ?

म धेरै संघसंस्था र व्यावसायिक फोरममा जान्छु, त्यहाँ सबैले अनुहार हेरेर नै तपाईं किशोर प्रधानको छोरा हो ? भनेर प्रश्न गर्छन् । म नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चको कोसी प्रदेश अध्यक्ष भइसक्दा पनि किशोरको छोरा हो ? भनेर पहिला बुबामार्फत नै चिन्छन् । म यसलाई आफ्नो फाइदाको रूपमा लिन्छु । मेरो बुबाले अथक मिहनेतका साथ बनाएको प्लेटफर्मलाई हामीले मेन्टन गरेर राख्नु पनि सानो कुरा होइन । मैले गरेका हरेक कुरामा बुबाको नाम जोडिएर आउँछ, यसमा मलाई गर्व महसुस हुन्छ । अहिले व्यावसायिक प्लेटफर्ममा बुबासँग जोड्न पाउँदा म आफूलाई भाग्यमानी ठान्छु । यसलाई मेन्टेन गरेर आगामी दिनमा लैजान सक्नु मेरा लागि चुनौती पनि हो ।

तपाईंको बुबा नेपाल उद्योग वाणिज्य महासंघमार्फत चेम्बर आन्दोलनमा सक्रिय हुनुहुन्छ तर तपाईंको रोजाइचाहिँ किन फरक संस्था अर्थात् नेपाल उद्योग परिसंघ रह्यो ?

संघसंस्थामा आबद्धताको हिसाबले म रोट्र्याक क्लब अफ विराटनगरबाट रूपमा सुरु भएको हो । बोर्ड सदस्य भएर काम गरिसकेपछि मैले ट्र्याक परिवर्तन गरी नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत रहेको एनवाईइएफमा ४ वर्ष समय दिएँ । त्यसमा बोर्ड मेम्बर भएर काम गरेँ । त्यतिबेला मैले कसैलाई पनि निराश गर्ने काम गरिनँ । मलाई एनवाईईएफका साथीहरूले सधैं हौसला दिनुभयो । त्यो सहयोगलाई मैले कहिले पनि बिर्सन सक्दिन ।

एनवाईईएफ भनेको महासंघको नेतृत्वका लागि हो । मेरो बुबाले ३०/३२ वर्ष महासंघलाई दिनुभयो तर नेतृत्वमा पुग्ने बेला भएका गतिविधि त सर्वविदितै छन् । त्यसकारण म त्यो इगो लिएर महासंघको नेतृत्वमा जान्छु भन्दिनँ, मेरो भावना फरक छ । ३२ वर्ष संस्थालाई समय दिएको व्यक्तिलाई दिनुपर्ने रेस्पेक्ट दिइँदैन भने त्यो संस्थाको के काम ? मैले महासंघको तीनवटा चुनाव हेरेको छु । मेरो आँखाको अगाडि नै क्षमताभन्दा पैसा महासंघमा अगाडि आएको देखेकाले मैले फरक बाटो रोजेँ ।

भोलिका दिनमा महासंघबाट तपाईंको बाटो अब मोडिएकै हो ?

मेरो नेतृत्व भनेको परिसंघमै हुन्छ । म पारिवारिक मान्छे हो, म परिवारलाई धेरै माया गर्ने मान्छे हो । म मेरो परिवारका लागि सबै त्याग गर्न सक्ने व्यक्ति हो । मेरा लागि परिसंघ नै परिवार हो र परिवारमै काम गर्न चाहन्छु ।

युवा उद्यमशीलता विकासका लागि भनेर सरकार, निजी क्षेत्र र विभिन्न दातृ निकायले पनि छुट्टाछुट्टै कार्यक्रम अघि बढाइरहेका छन् । तिनले उद्यमशीलता बढाउन सकेको छ ?

म आफैं युवा उद्यमी मञ्चको अध्यक्ष भएको नाताले युवा उद्यमशीलताका लागि धेरै कार्यक्रम गर्ने योजनामा छु । अरू युवालाई केही सहयोग होस् भन्ने उद्देश्यले मेन्टरसिप, स्मार्टअप, लर्निङ सेसन, मोटिभेसन कार्यक्रम गरेका छौँ । युवाका समस्या एकजुट बनाएर सरकार र निजी क्षेत्रसँग लबिङ गर्ने गरेका छौँ । युवालाई जुन खालको मोटिभेसन हुनुपर्ने हो त्यो छैन । निजी क्षेत्रले गाइडेन्स गरेको छ । सरकारले स्टार्टअप फण्ड छुट्ट्याएको छ भनिएको छ, तर अहिलेसम्म त्यो रकम पाउन सकिएको छैन ।

दिएको भए पनि त्यसको तथ्यांक के छ, पारदर्शी बन्नुपर्‍यो । पैसा मात्रै दिएर हुन्न, त्यसको प्रयोग कता भयो, सरकारले निरन्तर फलोअप गर्नुपर्छ । भविष्यको नेतृत्वलाई नीति निर्माण पक्षमा सहभागी गराएर कसरी उनीहरूलाई मोटिभेट गरेर देशमै राख्न सकिन्छ, त्यसमा ध्यान दिनुपर्छ । जबसम्म युवालाई व्यावहारिक रूपमा समेट्न सकिंदैन भने मुखले मात्रै युवा देशमै बस्नुपर्छ भनेर केही हुनेवाला छैन ।

उद्यमशीलता विकासका लागि नेपालमा कर्जाको सहज पहुँच छैन । प्रोजेक्ट फाइनान्सिङ छैन । यसलाई कत्तिको चुनौतीका रूपमा हेर्नुभएको छ ?

स्टार्टअप गर्ने साथीहरूलाई अहिले फाइनान्सिङ निकै मुस्किल छ । आर्थिक अवस्था नै कठिन भएकै कारण मेरै आफन्त साथीहरू नै थुप्रै कम्पनी बन्द गर्ने अवस्थामा छन् । स्मार्टअपको हकमा केन्द्रका साथीहरूले सरकारसँग पटकपटक लबिङ गर्ने गर्नुभएको छ । स्टार्टअपमा फण्ड छुट्ट्याएका छौँ, त्यो फण्ड तपाईंहरूलाई दिन्छौं । हामी प्रपोजल लिएर जान्छाँै, प्रेजेन्टेसन दिन्छौँ तब उहाँहरू पछि सम्पर्क गर्छौं भनेर पठाउनुहुन्छ तर सम्पर्क हुँदैन ।

नेपालको आर्थिक विकास हुन नसक्नु र वैदेशिक लगानी आउन नसक्नुमा यहाँको प्रशासनिक झमेलालाई पनि कारण हो भन्ने गरिन्छ । तपाईंको अनुभव के छ यसमा ?

विदेशी लगानीका विषयमा हामीजस्ता युवाले धेरै जानकारी लिनुपर्नेछ । यसका प्रशासनिक झन्झटकै कारण सम्भावना भएका क्षेत्रमा समेत लगानी आउन सकेको छैन । हामीले नीतिगत रूपमै सुधार गरेर सहजीकरण गर्न सकियो भने नेपालमा लगानी आउन सक्ने पर्याप्त ठाउँ छन् । हामीजस्तै भौगोलिकता, जनसंख्या भएका देशबाट सिक्न जरुरी छ । डकुमेन्टेसन, कानु्नी प्रक्रिया, कूटनीतिक लबिङमा जोड दिनुपर्ने अवस्था छ ।

भर्खरै प्रधानमन्त्रीले छिमेकी मुलुक चीनको भ्रमण गरेर आउनुभयो । त्यो टिममा व्यवसायीहरू पनि संलग्न थिए । त्यो भ्रमणलाई कसरी लिनुहुन्छ ?

धेरै सम्झौता भएका छन् । सम्झौता मात्रै ठूलो कुरा होइन, त्यसको कार्यान्वयन सबैभन्दा ठूलो कुरा हो । हाल भएका सम्झौतालाई भविष्यमा कसरी कार्यान्वयन गरिन्छ, त्यसपछि मात्रै यो भ्रमणको मूल्यांकन गरौँला । हामीले अरूबाट धेरै आस गर्नेभन्दा पनि सकेसम्म आफैंले देशमा गर्नुपर्छ । आफ्नो देशको लगानी, उद्यम, परियोजना भनेका दिगो हुन्छन्, जसले अर्थतन्त्रमा चक्रीय रूपमा प्रभाव पारेका हुन्छन् ।

पाँचवटा बुँदामा भन्नुपर्दा नेपालमा व्यवसाय गर्न कठिनाइ केके हुन् ?

नीतिगत अस्थिरता, झन्झटपना, बैंकिङ कर्जामा कठिन प्रक्रिया, दक्ष जनशक्तिको अभाव, युवा पलायन मुख्य कारण हुन् ।

काम गर्न नेपालमा सजिलो क्षेत्र के छ ?

अहिले त काम गर्न निकै मुस्किल छ । यद्यपि कसैले लगानी गर्छु भनेर आएमा कुनै इनोभेटिभ आइडियाको स्टार्टअप आउनुपर्छ । ट्रेडिङमा पनि राम्रै देखिन्छ । वातावरण सुधार नगरेसम्म त अहिलेकै अवस्थामा त लगानी थप गर्न निकै मुस्किल छ ।

सरकारी कार्यालयमा कस्ता झन्झट भोग्नुभएको छ ?

प्रक्रियामा झन्झट र लामो छ । जसलाई भेट्न्पर्ने हो उसलाई भेट्न धेरै पटक कल र एपोइन्टमेन्ट लिनुपर्ने अवस्था छ । कुनै परियोजना अगाडि बढाउन खोजिएको छ भने त्यसमा सरकारले पनि साथ दिनुपर्छ । डिजिटाइजेसन नहँुदा पनि समस्या छ । लाइन लाग्नुपर्र्ने बाध्यता हटाउनुपर्छ ।

युवालाई पढाइसकेपछि नेपालमा राखेर उद्यमशील बनाउन के गर्नुपर्ला ?

सरकारले युवालाई देशमै काम गर्ने वातावरण बनाइदिनुपर्‍यो । वित्तीय पहुँच दिनुपर्छ । कानुनी झन्झटलाई सहज बनाइनुपर्छ । ऋणको प्रक्रियामा पनि सहज बनाइनुपर्छ । विदेशमा सिकेको सीपको कदर गर्ने बातावरण बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्