Logo

इजरायलमा मारिएकाको शव ल्याउन केही समय लाग्छः परराष्ट्र मन्त्रालय

काठमाडौं- इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाई हुने भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै सो शव नेपाल ल्याउन सकिने बताइन् ।

उनले उनीहरुको शव छिटो ल्याउन सरकारले सहकार्य गरिरहेको र अहिले ती शवहरु इजरायल सरकारको संरक्षणमा सुरक्षित रहेको स्पष्ट पारिन् । उनका अनुसार नेपाल फर्कन चाहनेहरुलाई ल्याउन बुधबार (आज) राति नेपाल एयरलाइन्सको वाइडबडी विमान त्यसतर्फ पठाइनेछ । इजरायलमा नेपालको नियमित उडान पनि भएकाले आउन इच्छुक नेपालीहरुका लागि त्यहाँस्थित नेपाली दुतावासले सहजीकरण गर्ने पनि प्रवक्ता लम्सालले बताइन् ।

प्रवक्ता लम्सालले घाइते अवस्थामा रहेका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएको पनि जानकारी दिइन् । अन्य २ जनाको भने उपचार जारी रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । बेपत्ता एक जनाको खोजीमा सम्पूर्ण सामथ्र्य परिचालन गरिएको पनि प्रवक्ता लम्सालले बताइन् ।

प्रतिक्रिया दिनुहोस्