भित्र्याउने बेलाको ८० हेक्टर धानबालीमा प्रकोप, किसानलाई चिन्ता

जुम्ला– तातोपानी गाउँपालिका–५ का किसान धनप्रसाद चौलागाईंको भकारी यस वर्ष रित्तिएको छ । वर्षेनी २२ मुरी खेतबाट झण्डै २२ क्विन्टल मार्सीधान उत्पादन गर्ने चौलागाईंको भकारी रित्तिएको हो । भित्र्याउन लागेको मार्सीधान नेक ब्लास्ट (घाँटी मरुवा) रोगको संक्रमणले पुरै धान सखाप भएपछि उत्पादन शून्य भएको चौलागाईं बताउँछन् । २२ मुरी खेतबाट करिब २२ क्विन्टल धान उत्पादन हुन्थ्यो ।
त्यही उत्पादनले वर्षभरि पुग्थ्यो । चौलागाईं भन्छन्, ‘ब्लास्ट रोगको प्रकोपले धान गयो भन्छन् हामीलाई थाहा छैन । भित्र्याउन लागेको धानमा आगो लगाउनु पर्ने अवस्था आएको छ । वर्षभरिको श्रम बालुवामा पानी खन्याएजस्तै भयो । भकारीमात्र रित्तिएका छैनन् । सयौं किसानका पेट रित्तिएका छन् । अब भोकमरी र खाद्य संकट झेल्नुको विकल्प छैन ।’
त्यस्तै तातोपानी–५ कै रुपकेउडी नेपाली एकाएक भित्र्याउन लागेको धानमा क्षति भएपछि कसरी छाक टार्ने चिन्तामा छन् । घरको घरमुरी खेतमा उत्पादन भएको धानले ४/५ महिना चल्थ्यो । यसवर्ष त्यो आशा टुट्यो । पाँच मुरी खेत भएकी नेपालीको धान नेक ब्लाष्ट रोगले नष्ट भएपछि उनी आगो लगाउने तयारीमा छन् । आयस्रोत छैन । गाउँको राँझो बाँझो गरी घर चलाउँदै आएको थिएँ ।
रुपकेउडी भन्छन्, ‘चाडपर्वको बेला निको नौली खाने धानसमेत नहुने भए । पाँच मुरी खेतको धान सबै सखाप भएपछि छाक चिन्ताले पिरोलेको छ । गत वर्षतिर तीन बोरी धान उत्पादन हुन्थ्यो । यसपालि एक सुपो पनि नपाई भयो । तीनै तहका सरकारले की बालबच्चा पाल्ने उपाय दिनु पर्यो कि भोकमरी झेल्नु पर्यो क्या गरुँ ?’
प्रकोपले धानमा क्षति हुँदा धनप्रसाद चौलागाईं र रुपकेउडी नेपालीको मात्र भकारी रित्तिएको छैन । तातोपानी गाउँपालिका–४, ५, ६ र चन्दननाथ–९ का सयौं किसानका पेट रित्तिएका छन् । निकट भविष्यमा निम्तिने खाद्य संकट कसरी टार्ने चिन्तामा किसान छन् । ८० हेक्टर मार्सीधानमा क्षति, राहत दिन असम्भव भित्र्याउन लागेकै बेला एक्कासि संक्रमण भएको नेट ब्लाष्ट (घाँटी मरुवा) रोगले जुम्ला तातोपानीको ८० हेक्टर धानबालीमा क्षति भएको छ ।
तातोपानी गाउँपालिका–४, ५ र ६ तथा चन्दननाथ–९ को ८० हेक्टर मार्सीफाँटको धानबाली सखाप भएको हो । सबैभन्दा धेरै तातोपानी–५ स्थित लाम्रा, नगर, एैरेनी हाँक, हियाँखोलाका किसानले उपभोग गर्ने खेतको धानमा क्षति भएको छ । ठूलो क्षेत्रमा रोगले संक्रमणले धानमा क्षति भएपछि सोमबार जिल्ला प्रहरी प्रशासन, समन्वय प्रमुख, राजनीतिक दल, कृषि विज्ञ तथा पत्रकारले संयुक्त स्थलगत अनुगमन गरेका छन् ।
नेक ब्लाष्ट रोगका कारण धानबाली सखाप भएपछि तातोपानीका किसानले अप्रत्यासित ठूलो क्षति बेहोर्नु परेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । उनले भने, ‘पालिकाबाट राहत दिएर सम्भव छैन । दिन पनि सकिँदैन । जिल्ला विपद् व्यवस्थापनको बैठक बसेर, कार्यपालिका बैठक राखी किसानको राहत र पुन:स्थापनाका लागि पहल गर्छौं ।’ क्षेत्रफलका हिसाबले ८० हेक्टर मार्सीफाँटको धानबालीमा क्षति भएको भनिए पनि एकिन विवरण आउँन बाँकी छ ।
उत्पादन शून्यमा झरेको पक्का भइसकेको छ । किसानले सबै खेतमा आगो सल्काउने तयारी गरेका छन् । खेत हेरेर रुनुको विकल्प छैन । लहलह झुल्ने मार्सीधानका बाला यतिबेला चाउरिएका छन् । विश्व बजारमा माग बढेको मार्सीधानमा बढ्दो संक्रमणले किसानमात्र नभई पहिचान समेत संकटमा परेको किसान विज्या सार्कीले बताए । उनका अनुसार प्रदेश र संघीय सरकारले उचित राहत बेलैमा नदिए किसानको उठिबास हुनेछ ।
वातावरणीय प्रभावले धानमा प्रकोप फैलियो: कृषि विज्ञ
जुम्लामा वर्षेनी कतै न कतै मार्सीधानमा ब्लाष्ट रोग लाग्ने गरेको कृषि विज्ञ बताउँछन् । यो वातावरणीय प्रभावका कारणले फैलिने प्रकोप हो । ब्लाष्ट रोगबारे जुम्लाका सबै किसान जानकार पनि छन् । धानमा लाग्ने ब्लाष्ट रोग तीन प्ररकारका हुन्छन् ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा भन्छन्, ‘एउटा लिप ब्लाष्ट (पातमा) हुने संक्रमण हो । यो नियन्त्रणमा लिन सकिन्छ । दोस्रो फिंगर ब्लाष्ट (धानको डाँढमा) लाग्ने रोग हो । यसलाई नियन्त्रण गर्न सकिन्छ । तेस्रो ब्लाष्ट रोग भनेको नेक ब्लाष्ट (घाँटी मरुवा) अर्थात् धानको बालामै लाग्ने रोग हो । यसले बाला चाउने, पोटिलो नहुने, धानमा दूध नभरिँदै झर्ने समस्या हुन्छ । यो अन्तिम अवस्थामा लाग्ने रोग भएकाले पनि नियन्त्रणमा समस्या छ ।’
काँचो मल, बिउ राखेको बेर्ना, सिँचाइ असुविधा, अत्यधिक वर्षालगायतका कारणले यस्तो समस्या निम्तिने गर्छ । उन्नत जातको धानमा ब्लाष्ट रोगले कुनै असर नगरेको भन्दै रैथाने मार्सीधानको जातमा रोग प्रतिरोधात्मक क्षामता नै कम भएको कृषि अनुसन्धान केन्द्रका प्रमुख वैज्ञानिक सुशीलराज सुवेदीले बताए । नेक ब्लाष्ट (घाँटी मरुवाँ) रोगले धानमा क्षति भएको छ ।
उनले भने, ‘नेट मरुवा रोगसँग लड्ने क्षमता मार्सीधानमा छैन । यस वर्ष पानी पनि बढी पर्यो । धानको फूल फुल्ने बेलामै पानी पर्यो । सापेक्षिक आद्रता बढी भएपछि यो रोगको प्रकोप फैलिएको हो ।’ यता जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलगायत दलका प्रतिनिधिले तत्काल जिल्लामा विपद्को बैठक बसेर किसानको राहतका लागि पहल गर्ने बताएका छन् ।