मुलुकमा अधिनायकवाद लाद्न खोजियोः महत «

मुलुकमा अधिनायकवाद लाद्न खोजियोः महत

हेटौंडा-पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नेपालमा कम्युनिष्टहरुले अधिनायकवाद लाद्न खोजिएको भन्दै त्यसविरुद्ध अब जनता एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन् । कम्युनिष्टहरु विश्वबाटै पलायन भइरहेको भन्दै अब नेपालमा पनि उसको शासन धेरै नटिक्ने दावी गरे ।
नेपाल तरुण दल मकवानपुरले बुधबार हेटौंडामा आयोजना गरेको तीज विशेष सांस्कृतिक एवम् दर खुवाउने कार्यक्रममा बोल्दै नेता महतले खुला अर्थनीति ल्याएर कांग्रेसले मुलुकलाई समृद्ध बनाउन लागिरहेको बेला कम्युनिष्टहरु आएर अनुशासनहीनता, बेथिति, भ्रष्टाचारलाई पश्रय दिएको भन्दै उनले चिन्ता व्यक्त गरे मुलुकको समग्र विकासको लागि नेपाली काँग्रेसको विकल्प नभएको भन्दै उनले आगामी निर्वाचनमा काँग्रेसलाई जनताले अवश्य जिताउने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेस मलुकको पहिलो शक्ति बन्नको लागि केही कमी कमजोरीलाई पनि सच्याएर अघि बढ्नुपर्ने उनले औंल्याए । “हरेकले गल्ती गर्नु स्वभाविक हो, अघिल्लो चुनावमा काँग्रेसको केही कमजोरी भएकै हुन्, अब सच्याएर अघि बढ्नुपर्छ,” नेता महतले भने ।
नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको शुभकामना दिँदै महतले महिलाहरूको क्षमता अभिवृद्धिको साथै नेतृत्व विकासमा पनि कांग्रेस केन्द्रित रहेको सुनाए । तीज पर्व हिन्दूहरुको मात्रै पर्व नभएर सम्पूर्ण नेपालीको राष्ट्रिय पर्व भएको बताउँदै उनले महादेव र पार्वतीको सम्मानका लागि ईतिहासदेखि मनाइँदै आएको तीज संस्कृतिको जगेर्ना गर्न लाग्नुपर्नेमा जोड दिए ।
तरूण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीना, तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, कोषाध्यक्ष विद्धान गुरुङ, कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, सल्लाहकारहरु सल्लाहकारद्वय उमा दाहाल र रिता खनाल, महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, कार्यक्रम संयोजक अञ्जना उपाध्यायलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमकाबीच राधिका हमाल, सुनिल थापा, रेखा लामा, रिना मगरलगायतले तीज गीतमा दर्शकलाई नचाएका थिए । दर्शक दीर्घामा बसी उत्कृष्ट नृत्य गर्ने ६ जनालाई पुरस्कारसमेत दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्