सडक मिचेका संरचना डाेजर

म्याग्दी– बेनी नगरपालिकाले बेनी बजार क्षेत्रमा सडक मापदण्डको बनाउने अभियानमा अतिक्रमित गरेर निर्माण गरिएका संरचना भत्काउने कामलाई निरन्तरता दिएको छ । सार्वजनिक जग्गा र सडक च्यापेर निर्माण गरिएका संरचनालाई हटाएर फराकिलो सडक बनाउने कामलाई नगरले निरन्तरता दिएको हो । नगरले कालीपुल बसपार्कबाट सुरु गरेको सार्वजनिक जग्गा र सडक च्यापेर बनाएका संरचना हटाउने अभियान वीरेन्द्रचोक, महारानीथानसँगै हाल हस्पिटल चोकदेखि संगम चोकसम्म सञ्चालन गरेको छ ।
यातायात आवतजावतलाई असर गर्ने, बजारलाई कुरुप बनाउने पेटीलगायतका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ । सडक च्यापेर बनाएका अव्यवस्थित संरचना हटाएर फराकिलो सडकले बजार चिटिक्क, दुर्घटना, सडक जाम कम हुने हुँदा मापदण्डअनुसार सडकले सबैलाई सहज हुने अनुभव हस्पिटल चोकमा होटल व्यवसाय गर्दै आएका नन्दबहादुर भण्डारीले बताए । भण्डारीले आफ्नो घर अगाडि अव्यवस्थित संरचना हटाउन पनि सहयोग गरेका छन् ।
बजार क्षेत्रको सडकलाई मापदण्डअनुसार बनाउने अभियानअन्तर्गत चालू वर्षमा वडा नम्बर ८ को हस्पिटल चोकदेखि संगमचोकसम्म करिब एक किलोमिटर सडक क्षेत्रमा सडक मिचेर बनाएका पेटी तथा अस्थायी संरचना हटाउने र खानेपानीको पाइप व्यवस्थित बनाउने काम सकेर कालोपत्रे र ढलान गर्ने काम भइरहेको वडा नम्बर ८ का वडाध्यक्ष उत्तम कर्माचार्यले बताए । उनले सार्वजनिक जग्गामा भएका संरचना, सडक च्यापेर बनाइएका पेटीलगायतका संरचना हटाउने कामलाई कार्यपालिकाको निर्णय, व्यवसायी, टोलसुधार समितिबीच छलफल र समन्वय गरेर अगाडि बढाउँदा सहज भएको वडाध्यक्ष कर्माचार्यले बताए ।
‘हस्पिटल चोकदेखि संगम चोकसम्मको ८९७ मिटर सडकमा रहेको खानेपानी व्यवस्थापन, अतिक्रमित संरचना हटाएर फराकिलो रूपमा सडक ढलान र कालोपत्रे गर्नका लागि २९ लाख रुपैयाँमा उपभोक्ता समितिमार्फत् काम अघि बढेको छ,’ उनले भने, ‘बजार व्यवस्थापन शीर्षकको सो बजेटबाट अस्थायी संरचना हटाउने, बिग्रेका संरचना बनाउने काम भइरहेको छ भने अर्को वर्षको बजेटले न्युरोड क्षेत्रमा अतिक्रमित संरचना हटाउने अभियान सुरु हुन्छ ।’
बेनी नगर प्रमुख सुरत केसीले बजार क्षेत्रमा रहेको सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीसँगको सम्झौताको म्याद सकिएपछि नगरपालिकाले थप नगरेको उल्लेख गरे । उनले बजार व्यवस्थित बनाउन सार्वजनिक जग्गाका संरचना सूचना जारी गरेर हटाउन आग्रह गरिएको समेत बताए ।
‘बजार क्षेत्रमा सवारीसाधनको चाप बढेको र सार्वजनिक जग्गामा रहेका अव्यवस्थित संरचनाका कारण आवतजावतमा समस्या, दुर्घटनाको जोखिम र बजार व्यवस्थापनमा समस्या भएपछि अतिक्रमण हटाउने कामलाई निरन्तरता दिएका छौं,’ मेयर केसीले भने, ‘यसअघि जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको कार्यालय अगाडि र कालीपुल बसपार्कको सार्वजनिक जग्गा, महारानीथानमा अतिक्रमण गरेर बनाइएका पर्खाल, टहरा, सटर, ट्याङ्की र ठेला हटाइसकेका छौं । यसलाई निरन्तरता दिइने छ ।’
बजार क्षेत्रमा रहेका अव्यस्थित रूपमा रहेका बिजुलीका पोल केबल र इन्टरनेटका तारलाई व्यवस्थित गर्दा बजार स्वरुप राम्रो हुँदै गएको छ ।