रुगाबासीको घरघरमा धारा

मुगु– सदियौंदेखि नदीको पानी खाँदै आएका मुगुको छायाँनाथ रारा नगरपालिका–१३ स्थित रुगागाउँका नागरिकको घरघरमा एक घर एक धारा जडान भएको छ ।
स्थानीय सरकारबाट निर्माणकार्य सम्पन्न भई घरघरमा खानेपानीका धारा पाएपछि स्थानीय खुसी हुनुका साथैं सदियौंदेखि नदीको पानी खानुपर्ने बाध्यता अन्त्य भएको छ । यो बस्ती सुरु हुँदादेखि नै नदीको फोहोर पानी खाँदै आएका रुगाबासीको समस्यालाई विभिन्न दलका नेताले मुख्य एजेन्डा रुगाबासीलाई खानेपानी दिने भन्ने भए पनि कुनै दलका नेताले अहिलेसम्म यो बस्तीमा खानेपानी ल्याउन सकेका थिएनन् ।
लामो समय निकै दुःखका साथ छायाँनाथ रारा नगरपालिकाको पहलमा करिब सात किलोमिटरभन्दा टाढाबाट खानेपानी गाउँमा पुर्याउनका लागि कुल लागत ३८ लाख ३४ हजार रुपैयाँको लगानीमा रुगागाउँमा एक घर एक धारा निर्माण गरिएको छायाँनाथ रारा नगरपालिका नगर प्रमुख विस्णुकुमार भामले जानकारी दिए ।
दलित बाहुल्य भएको यस गाउँमा १५८ वटा खानेपानीको धारा निर्माण गरी खानेपानी वितरण गरिएको छ । भिरालो र सुक्खा जमिन भएको गाउँनजिक कुनै ठाउँमा पानीको मुहान नहुँदा गाउँका मानिस वर्षौंदेखि आधा घण्टा हिँडेर मुगु कर्णाली नदीको धमिलो र फोहोर पानी खाँदै आएका थिए । घरघरमा धारासहित शुद्ध खानेपानी उपलब्ध भएपछि स्थानीयबासी यतिखेर दङ्ग छन् ।
स्थानीय बलबहादुर थापा गाउँमा खानेपानी आएदेखि आफूहरूलाई धेरै सहज भएको बताउँछन् । पानीको अभावमा सबैभन्दा बढी महिला, बालबालिकालाई नदीको पानी लिन समस्या भएको थियो, सरसफाइ गर्न तरकारीखेती गर्न नपाएको भन्दै अब उक्त समस्यासमेत समाधान हुने थापाले बताए । न्यून आयस्रोत भएका दलित समुदायमा एक घर एक धारा अभियानले व्यावसायिक फलफूल तथा तरकारी खेतीबाट आयआर्जनमा टेवा मिल्ने देखिन्छ ।