७४ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर

रसुवा– गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले २०७२ देखि स्वास्थ्य बीमा लागू भए पनि रसुवामा ७४ प्रतिशत नागरिक बीमाको पहुँचमा पुग्न सकेका छैनन् ।
स्वास्थ्य बीमा बोर्डले नेपाली नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न कार्यक्रम सुरु भएको हो । तर उद्देश्यअनुसार परिचालन तथा सचेतना कार्यक्रम अभाव भएकाले स्वास्थ्य बीमा हुन नसकेको स्थानीयको गुनासो छ ।
कार्यक्रमले आम नागरिकको सर्वव्यापी स्वास्थ्यको पहुँच प्राप्तितर्फ नेपाललाई अग्रसर बनाउँदै सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेर कार्यक्रम लागू भएको हो । विसं २०७८ को जनगणना अनुसार ११ हजार १३१ घरपरिवार बसोबास गर्छन् । गत आव २०७९/०८० मा भने दुई हजार ९६९ परिवारमात्र स्वास्थ्य बीमामा आबद्ध छन् ।
जसबाट २४ प्रतिशतमात्र घरधुरी समेटेको देखिन्छ । जिल्लाको कुल जनसंख्या ४५ हजार ४७५ जना रहेको छ । स्वास्थ्य बीमा कार्यक्रमले पाँचवटा गाउँपालिका रहेकोमा नौकुण्डमा १५९, कालिकामा दुई हजार ४३५, उत्तरगयामा २५६, गोसाइकुण्डमा ८६ र आमाछोदिङमो ३३ घरपरिवार मात्र आबद्ध भएका छन् ।
गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहीता अभिवृद्धि गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न स्वास्थ्य बीमा ऐन २०७४ जारी भएको थियो । थप व्यवस्थित गर्न स्वास्थ्य बीमा नियमावली २०७५ समेत पारित भएको छ ।
नियमावलीले हालको सुविधाको थैलीलाई दुई गुणाले वृद्धि गनुको साथै ज्येष्ठ नागरिकको लागि सरकारले नै बीमा प्रिमियम तिरिदिने गरी छुट्टै एकाइको रुपमा वार्षिक एक लाख रुपैयाँ बराबरको स्वास्थ बीमाको व्यवस्था गरिएको छ । तर धेरै अपाङ्गता भएका, ज्येष्ठ नागरिकसमेत स्वास्थ्य बीमाको पहुँचभन्दा बाहिर छन् । स्वास्थ्य बीमा कार्यक्रम राम्रो भएर पनि स्थानीय सरकारले चासोका साथ प्राथमिकतामा राखेर लागू गर्न नसक्दा नागरिकले उचित स्वास्थ्य उपचार सेवा नपाएको देखिन्छ ।
जिल्लाका स्थानीय सरकारको ठूलो कमजोरी देखिएको कालिका हिमालय क्याम्पसका पूर्वप्रमुख झंकनाथ न्यौपानेले बताए । सूचना अभावले धेरै अपाङ्गता भएका ब्यक्तिहरू नि:शुल्क बीमा सुविधाबाट बञ्चित भएको रसुवा अपाङ्गता पुनस्थापना केन्द्र रसुवाका पूर्वअध्यक्ष गम्भीरमान लोले बताए । समयमा सूचना दिने र आश्यक प्रक्रियामा सहजिकरण गरिदिन नसकेको कारण छुटेको उनको भनाइ छ ।
स्वास्थ्य बीमा बोर्ड रसुवाका प्रमुख सोनामकुमारी सिंहका अनुसार ज्येष्ठ नागरिक र अपाङ्गता भएको परिवारको हकमा शतप्रतिशत छुट रहेको छ भने महिला स्वास्थ्य स्वयम्सेविकाको परिवारलाई ५० प्रतिसत छुटको व्यवस्था छ । स्थानीय तहले समयमा नै प्राथमिकता दिएर बजेट विनियोजन नगरेका स्थानीय तहमा स्वास्थ्य बीमामा आबद्ध हुन नसकेको उत्तरगया गाउँपालिका–४ का रितमान वाइबाले बताए ।