Logo

हवाई इन्धन डिपो स्थापना गरिने

जुम्ला– कर्णाली प्रदेशकै व्यस्त जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना हुने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कायर्यक्रममा उल्लेख भएअनुसार जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गरिने भएको हो । जुम्ला विमानस्थलमा हवाई इन्धनको डिपो स्थापना गर्ने बहस धेरै पहिलदेखि चलेको थियो ।

तर, अहिलेसम्म परिणाममुखी काम हुन सकेको छैन । जुम्ला विमानस्थल विस्तार, हवाई इन्धन डिपो स्थापनाका लागि जुम्लाका सांसद कान्तिका सेजुवालले लामो समयदेखि पहल गर्दै आएकी थिइन् । चन्दननाथ नगरपालिकाको मेयर हुँदै गर्दा २०७६ सालमा एयरपोर्ट विस्तारका लागिसमेत डिपिआर गर्न दबाब दिएकी थिइन् । आयल नियमले असोज २२ मा जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गर्ने जनाएको छ ।

तत्काल अध्ययन समिति बनाई कार्य प्रारम्भ गर्न नेपाल आयाल निगम नेपालले सोमबार जारी गरेको सिफारिस पत्रमा सो कुरा उल्लेख छ । डिपो स्थापनाका लागि दसैंपछि निगमको टोली जुम्ला जाँदै छ । ‘जग्गा प्राप्तिका लागि नागरिक उड्डयन प्राधिकरणसँग छलफल भएको छ,’ सांसद सेजुवालले भनिन्, ‘स्थलगत अनुगमन र कार्यान्वयनका लागि दसैं र तिहारको बीचमा नेपाल आयाल निगमको प्राविधिक टोली जुम्ला जाने सहमति भएको छ । विस्तृप्त अध्ययनपश्चात् तत्काल नै डिपो स्थापना हुनेछ ।’

कर्णालीका सबै जिल्लामा उडान गर्न सहज हुने र सुरक्षित विमानस्थल पनि जुम्लालाई मान्ने गरिएको छ । तर, नियमित उडान नहुँदा समस्या भएको छ । हवाई इन्धनको डिपो जुम्लामै भएको खण्डमा जुम्ला हुँदै हुम्ला, डोल्पा, मुगु जाने आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि हुने आशा गरिएको पर्यटन व्यवसायी नोर्बु लामाले बताए । सांसद सेजुवालका अनुसार धावनमार्गको जग्गा अधिग्रहणका लागि सोको मुअब्जा वितरण गर्नका लागि हाल ५० लाख रुपैयाँ मात्रै विनियोजन भएको छ । थप बजेट रकमान्तरको समयमा व्यवस्था हुनेछ ।

यद्यपि नागरिक उड्डयन प्राधिकरणले जुम्ला विमानस्थल विस्तारका लागि ४ करोड ४२ लाख बजेट विनियोजन गरेको छ । उक्त बजेट तत्काल नै कार्यान्वयन हुने स्थिति छैन । जुम्ला विमानस्थल विस्तारका लागि १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । जसका लागि ४८ करोड बजेट आवश्यक पर्ने देखिएको छ । तर, अहिलेसम्म जग्गा अधिग्रहणका लागि बजेट विनियोजन हुन सकेको छैन । जग्गा अधिग्रहणका लागि परामर्श गर्न पत्र आए पनि बजेट नआएसम्म कुनै काम अघि नबढ्ने देखिएको छ ।

जग्गा अधिग्रहणका लागि बजेट नजुट्दा अर्थमन्त्रीदेखि प्राधिकरणका सिइओलाई पहिलो चरणमा न्यूनतम २० करोडसम्म बजेट छुट्ट्याइदिन दबाब दिएको सांसद सेजुवालले बताइन् । जग्गा अधिग्रहणका लागि बजेट विनियोजन नभएसम्म विमानस्थल विस्तारका लागि आएको बजेट कार्यान्वयन नहुने जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले बताए । विगतको भन्दा पछिल्लो वर्षमा जुम्ली सांसदहरू सबै आ–आफ्नो ठाउँबाट लागेमा बजेट जुट्ने आशा उनको छ ।

प्रतिक्रिया दिनुहोस्