Logo

पुँजी परिचालन बढाउन अर्थमन्त्री र आइएफसि उपाध्यक्षबीच छलफल

काठमाडौं– मोरोक्कोमा जारी विश्व बैंकको वार्षिक बैठकका क्रममा अर्थमन्त्री प्रकाशशरण महतले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसि) का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीसँग छलफल गरेका छन् । नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा छलफल केन्द्रित थियो ।

बैठकमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सम्भाव्य परियोजनाहरूको पाइपलाइन विकास गर्न र वित्तीय उपकरणहरू विविधीकरण गर्दै सार्वजनिक निजी साझेदारीमार्फत परियोजना विकास गर्न आइएफसिले प्राविधिक सहयोग गर्ने विषयमा छलफल भएको छ । अर्थमन्त्री महतले नविनतम वित्तीय उपकरणहरू मार्फत नेपालले परम्परागत क्षेत्रको अलावा निजी पुँजी आकर्षित गर्न आईटी, कृषि–व्यवसाय, पर्यटन र अन्य स्टार्टअपहरू जस्ता क्षेत्रमा लगानी विविधिकरण गर्न नवीन वित्तीय उपकरणहरू परिचालन गर्नु पर्ने विषयमा जोड दिए ।

खासगरी विदेशी विनिमय जोखिमको कारणले आइएफसिमार्फत प्रवाह हुने कर्जाको विद्यमान लागत न्यूनिकरण गर्दै निजी लगानीलाई प्रोत्साहन गर्न आएएफसिले आइडिएको सहुलियत विन्डो (निजी क्षेत्र विन्डो) लाई ब्लेन्डिङ फाइनान्सको रूपमा उपयोग गर्नका साथै इक्वीटी तथा स्थानीय मुद्रामा आधारित लगानीलाई प्रभावकारी रूपमा परिचालन गर्नु पर्ने बताए ।

बाह्य लगानी तथा पुँजी परिचालनका लागि लगानीको आकर्षक वातावरण सिर्जना गर्न सरकारले सुरक्षित कारोबार ऐन संसदमा पेश गर्न लागेको जानकारी गराउदै कर्जा सूचना व्यवस्थापन सम्बन्धी कानून निर्माणमा आएएफसिको चासोलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएका थिए । स्थानीय मुद्रामा आधारित बन्डमार्फत थप पुँजी परिचालन गर्ने विषयमा समेत नेपालले गरेको पहल सम्बन्धमा जानकारी गराए । अर्थमन्त्रीले आगामी कन्ट्री पाटनरसीप फ्रेमवर्कमा नेपालको निजी लगानीका प्राथमिकता र क्षेत्रगत विविधीकरण बिषय समावेश हुने विश्वास व्यक्त गरे ।

आइएफसिका उपाध्यक्ष पुलितीले नेपालले लगानीको प्रवर्द्धनको वातावरण सिर्जना गर्न गरेको पहलकदमीको विषयमा सरहाना गरे । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्रमार्फत बाह्य पुँजी तथा लगानी परिचालन गर्न स्पष्ट कानूनी आधार रहेको बताउदै नेपाल राष्ट्र बैंकले सो प्रक्रियामा सहजीकरण गर्ने प्रतिबद्धता जाहेर गरे । सोही अवसरमा अर्थमन्त्री महतको आइएमएफ तथा विश्व बैंक दक्षिण पूर्व एसिया क्षेत्रका कार्यकारी निर्देशक विम्वी सायुगा र याटी कुर्नियाटीसँग द्धिपक्षीय हितका विषयमा वार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्