Logo

समुदायको अगुवाईमा साढे तीन कराेडकाे विद्यालय भवन

म्याग्दी– बेनी नगरपालिका– ३ भकिम्लीमा रहेको जयन्ती माध्यमिक विद्यालयमा समुदायको अगुवाईमा विद्यालय भवन निर्माण गरिएको छ ।

विकास निर्माणमा सरकारी निकायको मात्रै भर पर्ने परम्परालाई तोड्दै देश तथा विदेशमा छरिएका भकिम्लीबासीको सक्रियतामा २२ कोठे विद्यालय भवन पुनर्निर्माण गरेका हुन् । वि.स. २०७२ देखि जयन्ती माविको विद्यालय भवन पुननिर्माण अभियान सुरु गरेका भकिम्लीबासीकै नेतृत्वमा अहिले दुई तले २२ वटा कोठा रहेको व्यवस्थित विद्यालय भवन तयार भएको छ ।

विद्यालय भवनसँगै प्रवेशद्वार, खेलमैदान र प्याराफिट निर्माणसहित विद्यालयलाई घेराबारसमेत गरिएको छ । छरिएर रहेका साना–साना कक्षाकोठा रहेको र जिर्ण बन्दै गएको साविकको जयन्ती माविको अहिले भौतिक स्वरुप फेरिएको विद्यालयका प्रधानध्यापक भोजबहादुर जिसीले बताए । साँघुरा र पानी चुहिने अवस्थामा पुगेका कक्षाकोठामा पठनपाठन गराउनुपर्ने बाध्यता विद्यालय पुनर्निर्माणसँगै हटेको छ ।

विद्यालय भवन पुननिर्माणमा करिब तीन करोड ५० लाख खर्च भएको छ । गाउँका बालबालिकाले सुविधासम्पन्न र भौतिक पूर्वाधारयुक्त भवनमा बसेर सहज रुपमा पठनपाठन गर्ने अवसर पाएका छन् । विद्यालय भवनका लागि सरकारी निकाय धाउँदा थाकेका स्थानीयबासीले प्रवासीहरुको दरिलो साथ पाएपछि विद्यालयको भवन ठड्याउने साहस गरेका थिए विद्यालय भवन पुनर्निर्माण गर्न गाउँमै रहेका स्थानीयबासीले पनि उत्साहजनक रुपमै जनश्रमदानदेखि नगद सहयोग जुटाएका थिए ।

प्रवासीले पसिना बेचेको रकम सहयोग गर्दा गाउँलेले घरको अन्नपात र गाईभैँसी बेचेर विद्यालयलाई सहयोग गरेको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष रत्न जिसीले बताए । समुदायको अग्रसरतामा संघ संस्था र सरकारी तवरबाट समेत साथ थपिएको कारण भवन पुननिर्माणमा राहत भएको थियो । भवन बनाउने अभियानमा पाँच सय रुपैयाँदेखि १० लाखसम्म व्यक्तिगत सहयोग गरेको विद्यालयले जनाएको छ ।

कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा अहिले १७६ जना बालबालिका अध्ययनरत छन् । यो सुविधासम्पन्न भवनमा कक्षाकोठा भवन सहित कम्प्युटल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी, कार्यालय र स्टाफ कक्ष लगायत विद्यालयको सम्पूर्ण शैक्षिक गतिविधि सञ्चालन हुन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर पुनले बताए । पुननिर्माण भएको विद्यालय भवनको एक समारोहका बिच उद्घाटन गर्दै विद्यालयलाई सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान समेत गरिनेछ ।

विद्यालय भवन पुननिर्माणमा समुदायका मात्रै २१२ जना व्यक्तिगत चन्दादाता छन् । अमेरिका, हङकङ, स्पेन, दुबइ, साउदी र जापानमा रहेका भकिम्लीबासीको अगुवाईमा संकलन भएको सहयोग रकममा सयौं जनाले हातेमालो गरेका छन् । विद्यालय भवन पुननिर्माणमा करिब तीन करोड ५० लाख खर्च भएपनि अहिलेसम्म चन्दादाता, सहयोगदाता, संघ संस्था र सरकारी तवरबाट तीन करोड २३ लाख ५५ हजार मात्रै सहयोग जुटेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्