तरकारी जोनमा २ करोडभन्दा बढी बजेट «

तरकारी जोनमा २ करोडभन्दा बढी बजेट

धनकुटाको सिंधुवामा संचालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ तरकारी जोनले चालू आवका लागि २ करोड २० लाख ५७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
निर्वाहमुखी कृषि प्रणालीमा सुधार गर्दै ब्यावसायिक उत्पादनका लागि किसानलाई सघाउने भन्दै कुल बजेटको ५८ प्रतिशत रकम अनुदानका लागि विनियोजन गरेको छ । कृषि प्राविधिक शिक्षालय, प्रतिफलमा आधारित प्रोत्साहन, प्लास्टिक टनेल, साना सिँचाइ, भकारो सुधार, पुराना तरकारी संकलन केन्द्र संचालन तथा कृषि औजार, कृषि चुन वितरण र बन्दाकोपिमा प्रकोपकै रूपमा देखिएको गाँठेरोग नियन्त्रणका लागि अनुदान वितरण गरिने तरकारी जोन कार्यालयका निमित प्रमुख देविन्द्र शाहुले जानकारी दिए । चालू आवमा साना सिँचाइ निर्माण र मर्मतका लागि ३५, प्लास्टिक टनेलका २८ र भकारो सुधारका ५० गरी सयभन्दा बढी योजना सञ्चालन हुने कार्यालयले जनाएको छ ।
स्वदेशी सोच, स्वदेशी लगानी तथा आन्तरिक र संस्थागत जनशक्तिबाट तयार गरिएको कृषि विकास रणनीति कार्यान्वयनको सहयोग परियोजनामा नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भई आर्थिक वर्ष ०७३-७४ बाट मुलुकका विभिन्न स्थानमा जस्तै धनकुटाको छथर जोरपाटि गाउँपालिकास्थित सिंधुवामा पनि प्र्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ, तरकारी जोन कार्यालय स्थापना भएसंगै यसको कार्य क्षेत्र रहेको छथर जोरपाटि गाँउपालिका–२, ३, ५ र ६ तथा महालक्ष्मी नगरपालिका–८ र ९ क्षेत्रलाई कार्य क्षेत्र बनाई यी काम गरिरहेको शाहुको भनाइ छ ।
आव ०७५-७६ मा यहाँका किसानले २२ हजार २ सय ३९ मेट्रिकटन गाजर, रायो, मुला, आलु, काउली र बेमौसमी बन्दाकोपि उत्पादन गरेका थिए । तरकारी बिक्रीबाट यहाँका १४ हजार ८ सय ८९ परिवार किसानले करिब ३४ करोड रुपैयाँ आम्दानी गरेको तरकारी जोन कार्यलयको तथ्यांक छ ।

 

प्रतिक्रिया दिनुहोस्