Logo

तरकारीको मूल्य अकासियो

जनकपुरधाम– तरकारीको मूल्य अकासिएको छ । हरियो तरकारीको मूल्य दोब्बरले बढेपछि उपभोक्ताहरू मारमा परेका हुन् । जनकपुरधामको पेठिया बजारमा भेटिएकी सुधा कर्णले बजारभरि घुमेर महँगो मूल्य तिर्दासमेत राम्रो र ताजा तरकारी नपाएको गुनासो गरिन् । उनले भनिन्, ‘तरकारीको मूल्य कुरै नगरौं, पहिलो किलो आउने पैसाले अहिले पाउ मात्र आउँछ । त्यो पनि पसलैपिच्छे फरक–फरक मूल्य छ ।’

बजार अनुगमन गर्ने निकायले यस्तो विषयमा वास्ता नगरेको उनको भनाइ छ । हरियो तरकारीको थोक मूल्यमा खासै घटबढ नभए पनि खुद्रामा चाडपर्वलाई लक्षित गरी दोब्बरभन्दा बढी महँगिएको उपभोक्ताहरू बताउँछन् । अनुगमन एवं नियमन गर्ने निकाय मौन भएका कारण खु्द्रा व्यापारीले तरकारीको मूल्य आफूखुसी लिने गरेको अरू उपभोक्ताहरूले बताए । खुद्रा बजारमा तरकारीको मूल्य ५० देखि १ सय प्रतिशतसम्म बढेको उपभोक्ताहरू बताउँछन् ।

तर, थोक बजारमा भने खासै अन्तर छैन । जनकपुर आलुप्याज व्यवसायी संघका अध्यक्ष अलाउद्दिन राइनले उपभोक्ता महँगोमा परेको बताए । तरकारी उत्पादनमा धनुषा, महोत्तरी पछि परेकाले व्यापारीहरू भारतबाट साइकल, मोटरसाइकलमा तरकारी ल्याएर बढी नाफामा बेच्ने गरेकाले तरकारी महँगो भएको एक थरीको भनाइ छ । पेठिया बजारका खुद्रा व्यापारी मनोज साहले खरिद गरेको तरकारीमध्ये करिब ५० प्रतिशत तरकारी कुहिने र सड्ने हुनाले महँगो मूल्यमा बिक्री गर्न बाध्य भएको बताए ।

कानुनले कुनै पनि वस्तुमा २० प्रतिशतभन्दा बढी नाफा खाएर बेच्नुलाई कालोबजारी गरेको मान्छ । त्यस्ता विरुद्ध दण्ड जरिवानासमेतको व्यवस्था गरेको छ । उपभोक्ता हित संरक्षण मञ्च जनकपुरधामका अध्यक्ष बटुकनाथ झाले व्यापारीको मनोमानी हुँदासमेत अनुगमन गर्ने निकाय मौन रहेका कारण तरकारीको मूल्यमा समस्या आएको बताए । उनी भन्छन्, ‘हाम्रो कानुनमा कुनै कमजोरी छैन, कार्यान्वयन तहमा बसेको जिम्मेवार व्यक्तिको इच्छाशक्ति नभएका कारण यो अवस्था आएको हो ।’

कालोबजारी तथा सामाजिक अपराध र सजाय ऐन २०३२ मा उत्पादन मूल्यबाट उपभोक्तासम्म आइपुग्दा २० प्रतिशतभन्दा कुनै पनि वस्तुको मूल्य बढाउन नपाइने उल्लेख छ । तर, व्यापारीको भनाइलाई मान्ने हो भने भारतबाट हरियो तरकारी ल्याउँदा कृषि शुल्क ९ प्रतिशत, अग्रिम कर ५ प्रतिशत गरी १४ प्रतिशत भन्सार लागेपछि महँगी बढेको हो ।

मधेसका जिल्लामा अत्यधिक तरकारी उत्पादन भए पनि आर्थिक वर्ष २०७९/८० मा भिठामोड नाका भएर भारतबाट २ करोड ६६ लाख ६६ हजार ५० रुपैयाँ मूल्यबराबरको १४ लाख २२ हजार २ सय २४ केजी हरियो तरकारी नेपाल भित्रिएको जलेश्वर भन्सार कार्यालयका सूचना अधिकारी सुमित रौनियारले बताए । जथाभावी मूल्य राखेर कालोबजारी गर्ने व्यापारीलाई कारबाही गर्ने जिम्मेवारी पाएको वाणिज्य कार्यालयका पदाधिकारी तरकारीको थोक र खुद्रा मूल्यबीच दोब्बर अन्तर रहेको थाहा नभएको बताउँछन् ।

उपभोक्ताको अनुभवमा असारको अन्तिम सातादेखि नै थोक बजारमा तरकारीको मूल्य महँगिन थालेको हो । तर, व्यापारीहरूले चर्को मूल्यमा तरकारी बेच्दै आएकाले सम्बन्धित निकायले अनुगमन गरी कालोबजारी गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गर्नुपर्ने माग उपभोक्ताको छ ।

प्रतिक्रिया दिनुहोस्