सामाजिक सञ्जालको सामाजिक लागत «

सामाजिक सञ्जालको सामाजिक लागत

आधुनिकताको भीडमा संस्कार र सभ्यतालाई भुलेर आफ्नो अस्मिता आफैं लुटायौं भने सामाजिक लागत बढ्न जान्छ ।

व्यक्तिको विचारले मानिसलाई कामतर्फ डो-याउँछ, कामले बानी–बेहोरातर्फ लान्छ । बारम्बार दोहो-याएर गरिने कार्यबाट मानिसको बानी वा स्वभावको निर्धारण हुन्छ । असल बानी अपनाउन कठिन हुन्छ तर खराब बानी अपनाउन सजिलो हुन्छ । खराब बानीले जीवनलाई कष्टप्रद बनाइदिन्छ र समाज पनि त्यसको सिकार हुन जान्छ । व्यक्तिको आनीवानी कार्यव्यवहारबाटै समाजको स्वरूप निर्धारण हुन्छ । अर्को शब्दमा भन्दा समाजको रहनसहन, सामाजिक संस्कार, सामाजिक मूल्यमान्यता, प्रथा तथा प्रचलनले व्यक्तिको व्यवहार निर्धारण गर्छ । व्यक्तिको सोचाइ, भोगाइ, आनीबानी र व्यवहार मूलतः सामाजिक मूल्यमान्यता तथा प्रचलनबाट बढी प्रभावित हुन्छ । व्यक्तिको स्वभाव भनेको समाजको प्रतिविम्ब हो ।
हाम्रो समाज जस्तो छ सोहीअनुसार त्यस समाजमा बस्ने मानिसको व्यवहार निर्धारण हुन्छ । विश्वमा रहेका करिब २ सयजति देशको जनताको आआफ्नै संस्कार, प्रथा तथा प्रचलन रहेको हुन्छ, त्यसैले ती र त्यस्ता देशका मानिसहरूबीचको व्यवहार, संस्कार एकआपसमा फरक फरक रहेको हुन्छ । व्यक्तिको व्यवहारको परिवर्तन समाजले निर्धारण गरेको सस्कारले गर्ने गर्छ भने सस्कारको परिवर्तन प्रविधिको विकास र प्रयोगसँगै अलि छिटो हुने गरेको छ । सीमाविहीन अर्थतन्त्रको विकाससँगै सामाजिक तथा सांस्कृतिक संस्कारहरू पनि चाँडो–चाँडो परिवर्तन हुँदै आइरहेको छ । अझै पश्चिमा देशहरूमा यसको प्रवृत्ति अझ बढी रहेको पाइन्छ । विश्वव्यापीकरणका कारणले विश्वमा विकसित प्रविधिको प्रयोग हाम्रो जस्तो पूर्वीय दर्शनबाट प्रभावित देशको संस्कारमा पनि पर्न थालेको छ । आधुनिकताको भीडमा संस्कार र सभ्यतालाई भुलेर आफ्नो अस्मिता आफैं लुटायौं भने सामाजिक लागत बढ्न जान्छ ।
नेपालको सांस्कृतिक परम्परा र समुच्च जीवन प्रणाली, धार्मिक आस्था, विश्वास र निष्ठाजस्ता कार्यहरू पूर्वीय दर्शनबाट प्रभावित हुँदै आएको छ । पूर्वीय परम्परा मूलतः धर्म, दर्शन र संस्कृतिबीच अन्योन्याश्रित सम्बन्ध रहेको छ । संस्कृतिले हाम्रा मौलिक, धार्मिक परम्परा, चाडपर्व, सामाजिक, सांस्कृतिक संघ, संगठन, भाषा, नृत्य, संगीत, वाद्यवादन, कला, वास्तुकला, धामीझाँक्री परम्परा, भूतप्रेत, चिकित्सा प्रणाली, आस्था, व्यवहार, प्रचलित जनश्रुति, किंवदन्ती, काव्य, नाट्य, कथा र इतिहास जस्ता सन्दर्भलाई बुझाउँछ ।
हाम्रो रहनसहन, खानपान, गरगहना, वाद्यवादन, मठमन्दिर, पाटीपौवा, गुम्बा, स्तुपा, दरबार आदि जस्ता मूर्त सांस्कृतिक सम्पदाका साथै भाषा, साहित्य, संगीत, कला र सामाजिक व्यवहारहरू हाम्रा संस्कृति हुन् । यिनै सांस्कृतिक धरोहरबाट नै विगतदेखि नेपाली संस्कारको विकास र सोही अनुसारको व्यवहारको विकास र प्रयोग हुँदै आएको छ । तर अहिले प्रयोगमा आएको प्रविधिको विकास र प्रयोगबाट हाम्रा सांस्कृतिक मनोविज्ञानको चिरहरण भएको छ भन्ने वर्ग पनि छन् भने कतिपयले यसको प्रयोगलाई अहोभाग्यका रूपमा लिएको छ ।
हुनपनि प्रविधिको प्रयोगको विकास हाम्रो जस्तो पुरातनवादी समाजमा यतिचाडो विकास भएको छ कि, आजभन्दा २० वर्षअगाडि एउटा टेलिफोनको लाइन लिन मन्त्रिसम्मको पावर लगाउन पर्ने देशमा अहिले जनसंख्याभन्दा दोब्बर संख्यामा मोबाइलका सिम बाँडिएको छ । हिजोआज त पल्लाघरका हजुरआमा घाँसदाउरा गर्न जाँदा मोबाइलबाट अरबमा भएको नातिसँग संवाद गरिरहेका हुन्छन् । माइली काकी पँधेरामा पानीका स्रोत सुकेर गाग्री भर्न कठिन भएको कुरा अमेरिका रहेको छोरासँग मोबाइलमा भलाकुसारी गर्दै उक्त कुरा बताइरहेकी हुन्छिन् । प्रविधिको विकास र यसको प्रयोगले हाम्रा धेरै कामलाई सहज बनाइदिएको छ ।
तर, यसको प्रयोग सही रूपमा नहुँदा हाम्रो समाजले यसको फाइदा भन्दा दुस्कर्मलाई निम्ता दिइरहेको छ । नेपाल प्रहरीमा दर्ता भएका साइबर क्राइमका घटनालाई साक्षी राखेर यसको निर्मम रूपमा समीक्षा गर्ने हो भने प्रविधिको नाममा फस्टाएको सामाजिक सञ्जालले अव व्यक्तिको गोपनियता आचरण संस्कार, सामाजिक मूल्यमान्यता, सबैलाई बिर्सिन बाध्य तुल्याएको छ । समाजमा चोरी, ठगी, हत्याहिंसा, यौनशोषण, आत्महत्याजस्ता घटनाहरूमा यसको प्रयोग वृद्धि दिन दुई गुना रात चौगुना गरेर बढेको अवस्था छ । जसको फलस्वरूप नेपालमा अपराधका घटनाहरूमा उल्लेख्य रूपमा बढोत्तरी भएर आएको छ ।
सामाजिक सञ्जालको कारणले गर्दा पारिवारिक विखण्डनको साथै आत्माहत्या गर्नेको संख्यामा समेत बढोत्तरी भएको छ । विश्वको सबैभन्दा बढी आत्महत्या गर्ने देशको सूचीमा नेपाल हाल सातौं स्थानमा रहन गएको छ । यसले नेपालमा बढ्दै गएको सामाजिक सञ्जालको प्रयोगले फाइदाभन्दा बढी बेफाइदा त गरेको छैन भन्ने विषय थप अध्ययनको विषय बन्न गएको छ ।
बैदेशिक रोजगारीका लागि नेपालबाट ५० औं लाख युवा बिदेसिएका छन् भने अर्कातर्फ स्वदेशमै कामको सिलसिलामा घरबाट श्रीमान्हरू बाहिरिने र श्रीमतीहरू केटाकेटी पढाउने बहानामा सहरमा बस्ने र लामो समयसम्म श्रीमान्सँगको सम्बन्ध र सम्पर्क नहुँदा जैविक आवश्यकताका रूपमा रहेको यौनप्यास मेटाउन केटा साथी खोज्ने कार्यमा सामाजिक सञ्जाल सहयोगी बन्दै आएको छ । चाहे विवाहित होस् वा अविवाहित महिलाहरू सामाजिक सञ्जालको माध्यमद्वारा सजिलै एकअर्कामा सम्बन्ध गाँस्न सहज हुन्छ ।
यस्तो सम्बन्धका बारेमा पछि समाजलाई जानकारीमा आएपछि समाजले यसलाई सजिलै पचाउन नसक्दा डिभोर्सको दर बढेर गएको छ भने हिंसाको दर बढेको छ । छोराछोरीहरूले आमाबाबाको स्नेहबाट टाढा हुन पुगेको अवस्था छ र अभिभावकको संरक्षण नपाउँदा छोरा छोरी कुलतमा लाग्ने गरेको पीडा समाजले प्रत्यक्ष रूपमा भोग्दै आएको छ । बालसुधार गृह रुपन्देहीमा विभिन्न २१ जिल्लाका ६५ जना बालक रहेका र त्यसमध्ये लागू औषधसँग सम्वन्धित अपराधमा संलग्न हुने १६ प्रतिशत, जबरजस्ती करणीमा ३३ प्रतिशत, चोरी तथा डाँकामा ३७ प्रतिशत र बाँकी अन्य अपराधमा लागेका छन् ।
अझ अनौठो कुरा के छ भने २ जना ११ वर्षमुनिका बालक छन्, जो जवरजस्ती करणीको अपराधमा पुर्पक्षमा थुनामा छन् । यसले के साँच्चै ती बालक करणी गर्न योग्य छन् र करणीको आशयबाट नै यो घटना भएको हो त ? कि सामाजिक परिवेश तथा सामाजिक सञ्जालको दुरुपयोगको कारण यौन उत्सुकता बढ्न जादा यस्तो घटना घटेको होला, यो विषय अनुसन्धानको विषय बनेको छ । एकातिर समाजमा मानिसहरू सिर्फ आफ्नो व्यापार र व्यवसाय तथा पेशामा व्यस्त छन् । दैनिक हुने नाफा घाटामा व्यस्त छन् ।
तर, आफ्ना सन्ततिका बारेमा समय नदिइँदा सामाजिक सञ्जाल जस्ता प्रविधिको प्रयोग सही रुपमा हुन नसक्दा भावी कर्णधारका रूपमा रहेका सन्तती कुलतमा फस्ने गरेका उदाहरणहरू प्रशस्त देखिन्छ । यसले परिवारको मात्र नभई समाजमा उत्पन्न हुने विकृतिका कारण सामाजिक लागत बढ्दै आएको छ ।
सामाजिक सञ्जालको प्रयोग गरी यौनसाथी खोज्ने वेबसाइट नै बनाएर देहव्यापारको धन्दा चलाउने कार्य पनि नेपालको कतिपय सहरी क्षेत्रमा छ । यसले समाजलाई विकृत तुल्याएको छ भने अर्कातर्फ सामाजिक सञ्जालको मुल काम नै सरकारलाई कमजोर बनाएर लानेतर्फ प्रयोग हुँदै आएको छ । नकारात्मक सन्देश फैलाउने र सामाजिक मनोविज्ञान नै नकारात्मक तुल्याउने कार्य तर्फ अग्रसर छ ।
कहिले व्यक्तिको निजात्मक विषयलाई सामाजिक सञ्जालको माध्यमले नंग्याउने त कहिले समाजको सानो घटनालाई बढी मलजल गरेर सामाजिक आक्रोशलाई बढावा दिन कार्यमा समेत उद्दत छ । समाजमा घटेका राम्रा कुराहरूको सामाजिक सञ्जालमा सेयर र कमेन्ट थोरैले गर्छ, तर नकारात्मक कुरालाई करिव ९० प्रतिशत भन्दा बढीले तुरुन्त सेयर गरेर नकारात्मक सन्देशलाई फैलाउँदै सामाजलाई नकारात्मक तर्फ लगिँदै आएको छ । जनताका नाममा पस्कने जति पनि सामाजिक सञ्जालको खेती छ त्यसको गलत प्रयोगले केही वर्गको क्षणिक स्वार्थ त पुरा होला तर आज उक्साएर पल्काएको मान्छे खान पल्काएको बाघले भोलिका दिनमा बाघ पल्काउने बर्गलाई पनि बाँकी राख्दैन भन्ने कुरामा त्यो वर्ग सचेत छैन । समाजमा धर्मको नाममा होस वा संस्कृतिको नाममा गरिने राजनीतिले अन्ततोगत्वा समाज अनि सिंगो देशलाई नै असर गर्छ । त्यसकारण सामाजिक सञ्जालहरूको प्रयोग जसरी बढ्दै छ त्यसलाई व्यवस्थापन गर्न चुनौती बनेर आएको छ ।
यसले नेपाली सामाजिक मनोविज्ञानलाई तहसनहस बनाउँदै लगेकाले यसको सामाजिक लागत पनि बढ्दो छ । तसर्थ पनि यसको प्रयोगमा संयमता र समझदारी नअपनाउने हो भन्ने यसको प्रयोगमा रोकावट गर्ने बाहेकको अरु उपाय नहुन सक्छ । तसर्थ पनि दुरुपयोगकर्ताले सामाजिक दायित्व निर्वाह गर्ने तर्फ समयमा नै ध्यान दिनुपर्छ, अन्यथा समय बितेपछि हतारमा गरेका हरकार्य सहानुभुति समान अर्थहीन रहन्छ भन्ने कुरा सोचौ र यसको सबल पक्षको प्रयोग गर्दै सामाजिक मनोविज्ञानलाई सकारात्मक परिवर्तन र विकासको संवाहकका रूपमा प्रयोग गर्ने गराउने कार्यमा लागौ । यसको लागि सामाजिक अभियन्ताहरूको पनि त्यत्तिकै ठूलो भूमिका हुन्छ । यदि यसो गर्न सकिएको खण्डमा सामाजिक सन्जालको सही प्रयोग गरी समाजको रूपान्तरण र विकास गर्न सकिन्छ ।
(लेखक काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी हुन् ।)

प्रतिक्रिया दिनुहोस्