श्रमिकको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर «

श्रमिकको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर

सरकारले न्यूनतम पारिश्रमिकको व्यवस्था कार्यान्वयन गराउन जुन किसिमको अनुगमन थालेको छ, त्यसलाई सबै क्षेत्रमा विस्तारित गरिनु आवश्यक छ ।

विगत केही वर्षयता नेपालको औद्योगिक क्षेत्रमा श्रमसम्बन्ध निकै सुध्रिएर गएको छ । औद्योगिक क्षेत्रमा देखिएको सुध्रिएको श्रमसम्बन्धले औद्योगिक उत्पादन प्रक्रियामा पनि सकारात्मक प्रभाव पारेको छ । नेपाल राष्ट्र बैंकले सम्पन्न गरेको आर्थिक गतिविधिसम्बन्धी अध्ययनले अघिल्लो वर्षको तुलनामा २ देखि ५ प्रतिशतसम्मले उद्योगहरूको क्षमता उपयोग बढेको देखिएको छ । उद्योगहरूका क्षमता उपयोग बढ्नुका पछाडि विद्युत्को नियमित उपलब्धताले मुख्य भूमिका खेलेको छ नै, त्योसँगै औद्योगिक क्षेत्रमा कायम भएको शान्तिले पनि महŒवपूर्ण भूमिका खेलेको छ । नियमित उत्पादनका गतिविधि हुने उद्योगहरूमा हुने बन्द, हड्ताल, तालाबन्दीसहितका गतिविधिले कस्तोसम्म गम्भीर असर पार्छ भन्ने कुरा हामीले विगतमै झेलिसकेका छौं ।
यस्तै गतिविधिका कारण बहुराष्ट्रिय कम्पनी आईसीटी समूहद्वारा लगानी गरिएको सूर्य नेपाल गार्मेन्ट नेपालबाटै पलायन भएर गयो । त्योमात्रै नभई पछिल्लो समयमा अर्को बहुराष्ट्रिय कम्पनी युनिलिभरमा समेत झन्डै पाँच महिनाको मजदुर हड्तालका कारण उक्त कम्पनीले समेत नेपाल सञ्चालनलाई साँघु-याउन बाध्य भयो । यी केही उदाहरण हुन्, जसले औद्योगिक शान्ति नहुँदा त्यसले औद्योगिक उत्पादन चक्रमा पार्ने असरलाई प्रतिविम्बित गर्छन् । देशमा राजनीतिक स्थिरतासँगै बन्द, हड्तालजन्य गतिविधिमा आएको कमी र राजनीतिक दलका भ्रातृ संगठनहरूको गतिविधिमा आएको कमीले गत वर्ष औद्योगिक क्षेत्रमा निकै राम्रो सुधार देखियो ।
केन्द्रीय तथ्यांक विभागले तयार पारेको औद्योगिक उत्पादन सूचकांक (आईआईपी) ले गत वर्ष उल्लेख्य दरमा औद्योगिक उत्पादन बढेको देखाउँछ । गत आर्थिक वर्षको पूरै विवरण विभागले सार्वजनिक नगरिसकेको भए पनि दोस्रो चौमासिकसम्मको सूचकांकले औद्योगिक क्षेत्रको वृद्धिदर उच्च रहेको देखाउँछ । गत आव ०७५÷७६ को पहिलो चौमासिकमा ११९.५ मा रहेको आईआईपी दोस्रो चौमासिकमा १२१.६ मा पुगेको छ । औद्योगिक उत्पादन बढ्दा त्यसले समग्रमा अर्थतन्त्रमा सकारात्मक लहर सिर्जना गर्छ ।
यसले रोजगारी सिर्जना गर्छ, सरकारको राजस्वमा योगदान बढाउँछ । निर्यातको अनुपातमा वृद्धि हुँदा त्यसले भुक्तानी सन्तुलनमा सकारात्मक प्रभाव पार्छ । गत वर्ष नेपालको आयातमात्र होइन, निर्यात पनि १९.३६ प्रतिशतले बढेर ९७ अर्ब रुपैयाँबराबर पुग्नुमा औद्योगिक क्षेत्रमा भएको उत्पादन वृद्धिको मुख्य भूमिका छ । औद्योगिक क्षेत्रमा प्रवाह भइरहेको लगानीले आगामी दिनमा यस्तो अनुपात अझ वृद्धि गर्ने अपेक्षा गर्न सकिन्छ ।
औद्योगिक क्षेत्रको उत्पादन वृद्धि गर्नका लागि मेसिनरी, औजार, पार्टपुर्जा वा भौतिक संरचनाजस्ता ‘हार्डवेयर’मा मात्र ध्यान दिएर पुग्दैन, त्यहाँ कार्यरत जनशक्तिको पनि मनोबल उच्च हुनु आवश्यक हुन्छ । औद्योगिक, व्यावसायिक र सेवा तीनै क्षेत्रका कार्यरत जनशक्तिको मनोबल वृद्धिका लागि उनीहरूलाई सही ढंगले उत्प्रेरणा दिनुपर्ने हुन्छ । तलबभत्तासहितका पारिश्रमिक र अन्य सेवासुविधा तथा सामाजिक सुरक्षामा ध्यान दिन सक्ने उद्योग, व्यवसाय र प्रतिष्ठानका श्रमसम्बन्ध सुधारिएको; श्रमिक झुक्याउने, शोषण गर्ने, राज्यद्वारा तोकिएको न्यूनतम पारिश्रमिक र अन्य सेवासुविधा नदिने, सामाजिक सुरक्षामा बेवास्ता गर्ने प्रतिष्ठानहरूमा श्रमसम्बन्ध पनि त्यहीअनुसार कमजोर भइरहेको देखिन्छ ।
अहिले धेरै प्रतिष्ठानमा राज्यद्वारा तोकिएको न्यूनतम पारिश्रमिकसमेत नदिइएका कारण कार्यरत श्रमिक तथा कर्मचारीहरू जागिरै छाडेर विदेश पलायन भइरहेका घटना पनि छन् । यस्तै कारणले देशका प्रमुख औद्योगिक क्षेत्रहरूमा श्रमिकको अभावसमेत हुन थालेको छ । त्यसैले सरकारले न्यूनतम पारिश्रमिकको व्यवस्था कार्यान्वयन गराउन जुन किसिमको अनुगमन थालेको छ, त्यसलाई सबै क्षेत्रमा विस्तारित गरिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्