नक्कली होइन, सक्कली पर्यटनको आवश्यकता

नेपालको अर्थतन्त्रलाई पनि उच्च बिन्दुमा राख्नका लागि सबैभन्दा पहिले यहाँ पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ
नेपालकै एक विश्वविद्यालय सेवा आयोगको अन्तर्वार्तामा प्राध्यापकले प्रश्न सोधे— पर्यटक आउँदा सेवक र अतिथि कसलाई फाइदा हुन्छ ? उत्तरदाताले भने— दुवैलाई । प्राध्यापकले गलत बताउँदै अतिथिलाई मात्र फाइदा हुने उल्लेख गरे ।
यो एउटा नमुना उदाहरण मात्र हो । पर्यटन क्षेत्रमा काम गरिरहेका सरोकारवालाहरूका लागि माथिको प्रश्नले दुवैलाई फाइदा हुने बताउँछन् र सत्य पनि हो । एउटा पाहुना कुनै ठाउँमा सेवा लिएबापत उसले सन्तुष्टिको आङ तानेसँगै प्राप्त हुने आनन्द र सेवकले पाउने लाभको यहाँ चर्चा नगर्ने हो भने पर्यटन र पर्यटकीय क्षेत्रको कुनै महत्व हुन्न । जसले यसको वकालत गर्छ त्यो नक्कली नै बुझ्नुपर्छ । तसर्थ पर्यटनबाट दुवैको अवस्थामा कुनै न कुनै रूपमा परिवर्तन ल्याउने भएकाले नै दुवै पक्षमा निहित उद्योग बन्न पुगेको हो ।
भन्नैपर्छ, नेपालमा कुनै पनि गुरुयोजनाले काम नगर्ने क्षेत्र हो पर्यटन । केही पूर्वाधार विकास गर्नु पनि पर्दैन । प्राकृतिक वातावरण नै पूर्वाधारका रूपमा उभिएको छ अनि कहिल्यै नथाक्ने बोलीले काम नगरे पनि विश्वका पर्यटकहरूको स्वादलाई चिनेको छ पर्यटन क्षेत्र र जनताले । योजना बनून् या नबनून्, तर पर्यटकले उसै मन पराएको विश्वको एकमात्र स्थान हो नेपाल ।
पर्यटन क्षेत्र नेपालको आर्थिक विकासका लागि अत्यन्तै सम्भावना बोकेको क्षेत्र हो । अद्वितीय प्राकृतिक एवम् सांस्कृतिक सम्पदा र विविधताका कारण यस क्षेत्रमा बृहत्तर योजना नै चाहिँदैन । विशेष गरी, हिमाली सुन्दरता, महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य तथा मौलिक सांस्कृतिक तथा पुरातात्विक सम्पदा हाम्रा पर्यटन क्षेत्रका निधि हुन् ।
यसको मतलब प्रकृतिले अथाह सम्भावना र स्रोतहरू खन्याइदिएको धर्तीमा । यी स्थल र सम्पदाको संरक्षण, प्रवद्र्धन र विविधीकरण गर्दै पर्यटकीय स्थलका रूपमा विकास गरी राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा यस क्षेत्रलाई विकसित गर्ने नीति नेपालको वर्तमान संविधानले पनि गरेको छ । पर्यटन प्रवद्र्धनको माध्यमबाट रोजगारीका अवसर वृद्धि, गरिबी निवारण र जनताको जीवनस्तरमा सुधार ल्याई आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न यो क्षेत्रको योगदान छ भनेर भनिरहनु पर्दैन । किनकि पर्यटन क्षेत्र अर्थतन्त्रको प्रमुख संवाहक हो ।
विश्व बजारमा खासगरी छिमेकी मुलुकको ठूलो हिस्साबाट लाभ प्राप्त गरी नेपालमा पर्यटन आगमन र बसाइ अवधिमा वृद्धि हुने सम्भावना गर्नु स्वाभाविक हुन्छ । आव ०७४-७५ मा पर्यटक अगमन ९ लाख ४० हजार रहेको थियो र देशको कुल गार्हस्थ्य उत्पादनमा २.६ प्रतिशत योगदान पुगेको, ३१ हजार रोजगारी सिर्जना भएको र प्रतिपर्यटकले प्रतिदिन खर्च ५४ डलर र औसत बसाई १३ दिन रहेको छ ।
सरकारले सन् २०२० लाई ‘भिजिट नेपाल’ वर्ष घोषणा गरेको छ, जसका लागि विभिन्न क्षेत्रबाट अभियानसमेत सुरु भएका छन् । २० लाख पर्यटक भिœयाउने लक्ष्य राखिएको ‘भिजिट नेपाल–२०२०’ का लागि विभिन्न समितिसमेत निर्माण हुने चरणमा छन्-भइरहेका छन् ।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार अझै हुन सकेको छैन । अध्यागमन विभागको अवस्था सुध्रिएको छैन । अझै पनि लगेज हराउने, नपाउने र कुर्नुपर्ने बाध्यताको अन्तर्राष्ट्रिय रूपमै आवाज उठिरहेका छन् । विकल्पमा निर्माणको चरणमा रहेको भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा आउन सकेको छैन । सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ राखेर काम गर्न नसकिरहेको अवस्था छ । आइकाउको कालोसूचीबाट नेपाल हटेको अवस्था छैन । एक गन्तव्यबाट अर्को गन्तव्यमा पुग्ने सडक चुस्त–दुरुस्त राख्न सकिरहेका छैनौँ । सडकमा घण्टौँ जाम हुने अवस्थाबाट पर्यटकलाई मुक्ति दिलाउन आवश्यक योजना र नयाँ गन्तव्यमा पर्यटक लैजाने वातावरण अझै निर्माण गर्न सकिरहेका छैनौँ ।
नयाँ गन्तव्यको प्रचारप्रसारमा हाम्रो गति कछुवाको जस्तै भएको छ । नयाँ गन्तव्यमा पर्यटकहरूलाई लैजान सहज पूर्वाधार नहुँदा महँगो प्याकेज लिन पर्यटक बाध्य छन् । जहाजकै भाडाको कुरा गर्ने हो भने संसारमै नभएको चलन नेपालमा छ । मनलागी छ । विदेशीलाई महँगो र स्वदेशीलाई सस्तो भाडा राखेर चलाइएको छ । यसमा मात्रै एकरूपता ल्याउनु अपरिहार्यता हो । सुरक्षा अवस्थालाई चिरेरै भए पनि निजी क्षेत्रले पूर्वाधारमा अहिले व्यापक लगानी गरिरहेका छन् । नयाँ–नयाँ गन्तव्यमा पाँचतारे होटलहरू सञ्चालनमा आएका छन् । यसले के देखाउँछ भने निजी क्षेत्र लगानी गर्न आतुर छन, तर सरकारले सडक र हवाई मार्गमा सहज पहुँचको निर्माणमा सरकारको चासो कम पर्नाले निजी क्षेत्रको उत्साह खस्कन सक्ने देखिन्छ ।
यीलगायत नेपालको पर्यटन उपज र क्रियाकलापको अपेक्षित विकास र विविधीकरण हुन नसक्नु, अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवद्र्धन अपेक्षित रूपमा गर्न नसक्नु, पर्यटन पूर्वाधारको कमी, धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण, सम्वद्र्धन र पर्यटन विकासमा निजी क्षेत्रलाई पर्याप्त सहभागी गराउन नसक्नु, उद्यमशीलता विकासलाई जोड्न नसक्नु, पर्यटन क्षेत्रबाट प्राप्त लाभको न्यायोचित वितरण हुन नसक्नु र पर्यटकीय गतिविधि प्रविधिमैत्री नहुनु जस्ता प्रमुख समस्याले पर्यटन क्षेत्र गुज्रिरहेको छ ।
विश्वमै नपाइने केही दूरीको अन्तरमा नेपालभित्र हिमाल, पहाड र तराई पुग्नसकिने भौगोलिक तथा वातावरणीय विविधता छ । जुन भू–बनोट विदेशी पर्यटकलाई देखाएरै पनि प्रशस्त आम्दानी गर्न सकिन्छ । पर्यटन उद्योगको आधारमा नै स्वीजरल्यान्ड संसारको एउटा अत्याधिक विकसित देश बनेको छ । नेपालमा स्वीजरल्यान्डमा भन्दा पनि बढी पर्यटन उद्योगको विकासको सम्भावना छ ।
सगरमाथा सहित उच्च हिमालय श्रृङ्खला, अग्ला र होचा पहाडहरूको देशव्यापी श्रृङ्खला, पशुपतिनाथ, स्वयम्भु र लुम्बिनी जस्ता धार्मिक स्थानहरू, असंख्य नदीहरू, ऐतिहासिक, पुरातात्विक स्थानहरूको र सांस्कृतिक सम्पदाको देशव्यापी सञ्जाल, तराईको समथर भूमि र जङ्गलहरू, जैविक विविधता आदिमाथि विचार गर्दा नेपाल पर्यटकीय दृष्टिकोणले अत्यन्त विकसित हुने कुरामा कुनै शङ्का छैन । त्योबाहेक नेपालका सबै गाउँहरू पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुन सक्छन् । ग्रामीण पर्यटनलाई प्रोत्साहित गरेमा पर्यटन उद्योगमा गुणात्मक फड्को आउन सक्छ । यी आकर्षणकै भरमा पर्यटक आएका छन् । त्यसका लागि आवश्यक पूर्वाधार तयार पार्ने वा पर्यटनलाई व्यवस्थित वा आधुनिकीकरण गर्ने कार्यमा सरकारको ध्यान अझै जान सकिरहेको छैन । त्यसले गर्दा हाम्रो पर्यटन व्यवसाय अत्यन्त प्रारम्भिक अवस्थामा छ, भन्न सकिन्छ ।
नेपालमा पर्यटक भित्रयाउन त्यति धेरै जोड बल पनि गर्नु पर्दैन, मात्र शान्ति, स्थायित्व तथा पूर्वाधारको विकास गरिदिएर प्रचार प्रसारसहित आएका पाहुनालाई राम्रो सत्कार गरेर पठाउने हो भने यहाँ आउने पर्यटकहरूको कमी हुँदैन । छिमेकका दुई ठूला देशका पर्यटकहरूलाई धार्मिक पर्यटनमै तान्न सके मात्र पनि काफी छ । हामीसँग विविध भाषा, संस्कृति, जाति र धर्म छन् । हामीसँग कैयौं सभ्यता र संस्कृति छन् । मिथिला संस्कृतिको आफ्नै खालको महत्व छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको छुट्टै महत्व छ । चीन, जापान, थाइल्याण्ड, कोरियालगायतका देशमा बुद्ध धर्म मान्ने मानिसहरू छन् । भारतमा कैयौं हिन्दू धर्मावलम्बी छन् । काठमाडौँमा पशुपति क्षेत्रले हिन्दूहरूको ठूलो महत्व बोकेको छ । यदि काठमाडौँलाई ‘हिन्दू सिटी’ रूपमा विकास र विस्तार गर्न सकियो भने भारतका कैयौं पर्यटकहरू यहाँ घुम्न आउने छन् र आइनै रहेका छन् ।
त्यसैगरी लुम्बिनी क्षेत्रले शान्ति र बुद्ध धर्मको ऐतिहासिक विरासत बोकेको छ । यो क्षेत्रलाई ‘बौद्ध सिटी’ का रूपमा विस्तार गर्न सकियो भने चीन, जापान, थाइल्यान्ड, कोरियालगायतका देशका कैयौँ पर्यटकहरू यहाँ आउने छन् । सोलुखुम्बुमा विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा छ । यो क्षेत्रमा ‘साहसिक यात्रा तथा हिल क्लाइम्बिङ’ ट्रेनिङ सेन्टरका रूपमा विकास गर्न सकियो भने विश्वका कैयौं मानिस तालिम लिन तथा आनन्द लिन आउनेछन् ।
पर्यटन प्रवद्र्धनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना आवश्यकता पर्छ । जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नतिले गतिलो मार्ग प्राप्त गर्छ । देशको अर्थतन्त्रलाई सफल बनाउने हो भने सबै भन्दा पहिले त्यस देशको पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ । एउटा पर्यटन कुनै ठाउँमा मनोरञ्जनका लागि होस् वा त्यस क्षेत्रको अवलोकन गर्न, जुन कामले गएपनि उसलाई आवश्यक पर्ने सेवासुविधाहरूमा रकम खर्च गर्नु पर्ने हुन्छ । उसले खर्च गरेको रकमले व्यवसायीको आर्थिक जीवनस्तरमा सुधार गर्नुका साथै देशको आर्थिक उन्नतिमा समेत सहयोग पुयाउने गर्छ । त्यसैले नेपालको अर्थतन्त्रलाई पनि उच्च बिन्दुमा राख्नका लागि सबैभन्दा पहिले यहाँ पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ ।
निजी क्षेत्रले पनि पर्यटन विकासका लागि जति गर्नुपर्ने हो त्यो पर्याप्त गरेका छैन, उनीहरूलाई सरकारले कुनै आकर्षण दिन सकिरहेको छैन । गतिलो प्रयासले मात्र समग्र नेपालको पर्यटन विकासले फड्को मार्न सकिन्छ । नेपाल भित्रिने पर्यटकलाई आवश्यक पर्ने सेवा, सुविधा र सुरक्षाका लागि राम्रो व्यवस्था हुन नसक्दा पर्यटकको संख्यामा तल–माथि देखिएको छ । नेपालमा पर्यटनको विकासका लागि सरकार र निजी व्यवसायीहरूको सहकार्य आवश्यक छ । पर्यटन विकासका लागि नीति निर्माण गर्ने निकाय नै ढिला भयो भने नेपालको पर्यटन विकास र देशको अर्थतन्त्रमा सुधार आउन सक्दैन ।
‘भिजिट नेपाल–२०२०’ मा कम्तीमा यति कुरा सिक्नुपर्ने देखिन्छ । नत्र आकर्षक नाराकै भरमा पर्यटनको विकास सम्भव हुँदैन । पर्यटकको संख्या पु¥याउन सकिएला तर पूर्वाधार अभाव कायमै हुनेछ ।