खोकना विवाद मिलाउन द्रुतमार्गको रेखांकन परिवर्तन

नेपाली सेनाले निर्माण गरिरहेको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्र्याक)मा रेखांकनमा परिवर्तन भएको छ । प्रस्तावित द्रुतमार्गको रेखांकनमा खोकना र सुरुङमार्ग निर्माण हुने ठिंगल–लेनडाडा क्षेत्रमा संशोधन गरिएको हो । नेपाली सेनाले बुधबार पत्रकार सम्मेलन गरी खोकनाको सिकाली मन्दिर र कोदेश क्षेत्रमा सामान्य रेखांकन परिवर्तन गरिएको जनाएको छ । साथै, महादेवटारदेखि लेनडाँडासम्मको खण्डमा एसियाली विकास बैंकले प्रस्ताव गरेको टनेलको विकल्पमा एक तथा नयाँ थप दुई टनेलसहित रेखांकन परिर्वतन गरिएको जनाएको छ ।
खोकनाको विवाद मिलाउनसरकारले दुई स्थानको रेखांकन परिर्वतन गरेको हो । कोरियाली कम्पनी सुसुङले ७ करोड ४५ लाख ९० हजार रुपैयाँ लागतमा तयार गरेको डीपीआर रक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको पाँच महिनापछि गत भदौ एक गते स्वीकृत भएको थियो ।
सुरुङमार्गमा तीनवटा सुरुङमार्ग निर्माण हुने भएको छ ।
यसअघि एउटा मात्र सुरुङमार्ग बनाउने योजना बनाइएकोमा कोरियाको सुसुङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनीले भर्खरै तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा दुई वटा सुरुङमार्ग थप भएको हो ।
ललितपुरको महादेवडाँडादेखि धोद्रेखोलासम्म ३.३ किमि सुरुङ बनाउने एसियाली विकास बैंकले विस्तृत सम्भाव्यता अध्ययनबाट योजना बनाएकोमा कोरियाली कम्पनीले भर्खरै तयारी गरी स्वीकृत भएको डीपीआरमा तीन किमि लम्बाइको अन्य दुई वटा सुरुङमार्ग थपिएको छ । भदौ ४ गते मन्त्रिपरिषद्ले स्वीकृत गरेको डीपीआरअनुसार धेद्रेडाँडादेखि जितपुरखोलासम्म एक.६३ किमि र जितपुरखोलादेखि बाँदरेखोलासम्ममा पनि १.४३ किमि सुरुङमार्ग निर्माण गरिनेछ । तीनवटा सुरुङको लम्बाइ कुल ६.४ किमि हुनेछ । दुईवटा सुरुङमार्ग थप भएसँगै फास्टट्र्याकमा पुलको संख्यासमेत घट्नेछ । यसअघि एक सय ६ वटा पुल बनाउने लक्ष्य राखिएकोमा सुरुङमार्ग थपिएसँगै बनाउनुपर्ने भनिएको १९ वटा पुल घटेको छ । अब ८७ वटा मात्र पुल बनाए पुग्नेछ ।
सुरुङमार्ग थप गरिएपछि फास्टट्र्याकको कुल ३.७ किमि दूरी पनि छोटिएको छ । यसअघि ७६.२ किमिको कुल लम्बाइ हुने भनिएकोमा स्वीकृत डीपीआर अनुसार ७२.५ किमि मात्र हुने उल्लेख भएको सडक निर्माण कार्यदल लेनडाँडाका सेनानी एवम् कार्यदल प्रमुख विनोद श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुई वटा सुरुङमार्ग थप भएसँगै करिब ५ अर्ब लगानी पनि बढ्ने अनुमान गरिएको छ ।
ललितपुरको खोकनाबाट सुरु भई बाराको निजगढ जोडिने फास्ट ट्र्याकको सबैभन्दा बढी भाग मकवानपुरमा पर्नेछ । ललितपुरमा ७.७ किमि, काठमाडौंमा ४ किमि, मकवानपुरमा ५३.२ किमि र बारामा ७.६ किमि सडक पर्दछ । मन्त्रिपरिषद्ले भर्खरै स्वीकृत गरेको डीपिआरअनुसार ७२.६ किमि कुल लम्बाइमध्ये विभिन्न पुलहरू १०.६ किमि, सडक खण्ड ५५.५ किमि र सुरुङमार्ग ६.४ किमि हुनेछन् ।
राजमार्गमा १६ वटा विशेष प्रकारका पुल, ४९ वटा ठूला पुल र २२ वटा साना पुलहरू बन्नेछन् । २०७४ साउनबाट आयोजना निर्माणको जिम्मा पाएको सेनाले २०७५ फागुनमा डीपीआर निर्माणको लागि कोरियन कम्पनीलाई जिम्मा दिएको थियो । कोरियन कम्पनीले ६ महिनामा डीपीआर तयार भई स्वीकृत भएसँगै अब द्रुत गतिमा ठूला पुल निर्माण तथा सुरुङमार्ग बनाउने बाटो खुलेको सडक निर्माण कार्यदल लेनडाँडाका प्रमुख श्रेष्ठले बताए ।
सेनाले जिम्मेवारी पाएपछि हालसम्म गरेका कार्यप्रगति पनि सार्वजनिक गरेको छ । प्रदेश ३ का पत्रकारहरूको लागि आयोजित एक अभिमुखीकरण कार्यक्रममा सेनाले फास्टट्र्याकको विगततदेखि वर्तमानसम्मको अवस्थाबारे स्पष्ट जानकारी गराएको छ । सेनाका अनुसार फास्टट्र्याक निर्माणको कुल प्रगति ८.५ प्रतिशत भएको छ । ढुङ्गा तथा माटो कटानको कार्य ८७ प्रतिशत सकिएको छ भने १५ प्रतिशत फिलिङ वर्क भएको छ । ५४ किमिमा कटिङ तथा फिलिङ स्ट्रक्चरको काम भइरहेको बताइएको छ ।
११ हजार एक सय ८१ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा तीनसय ७० रोपनी मात्रै अधिग्रहण गर्न बाँकी रहेको छ । डीपीआर स्वीकृत भएसँगै थप २ सय ४४ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको सेनाले प्रतिवेदनमा उल्लेख गरेको छ ।
२८ हजार चार सय १० वटा रुख कटानको काम गर्नुपर्ने देखिएकोमा ९७ प्रतिशत रुख कटानको काम सम्पन्न भइसकेको छ । सुरुङमार्ग निर्माण हुने खण्डको ९ किमि क्षेत्रमा ६ हजार ६ सय २७ वटा रुख कटान गर्न बाँकी रहेको सेनाले जानकारी दिएको छ । राजदमार र निजगढमा नर्सरी बनाई सेनाले रुख काटिए बराबर वृक्षरोपणको तयारी पनि गरेको छ । दुई नर्सरीमा ६ लाख विरुवा उत्पादनको काम भइरहेको बताइएको छ । चार वर्षभित्र सम्पन्न गर्ने गरी सेनाले २०७४ साउनमा आयोजनाको जिम्मा लिएकोमा विस्तृत परियोजना प्रतिवेदन तयारी गर्न ढिलाई भएकाले उल्लेख्य प्रगति नभएको सडक निर्माण आयोजना लेनडाँडाका प्रमुख विनोद श्रेष्ठले बताए ।
डीपीआर स्वीकृत भएसँगै तोकिएको समयभित्रै काम सक्नेगरी सेना अघि बढ्ने उनले बताए । फास्टट्र्याक पूरा गर्न १ खर्ब ७५ अर्ब रुपैयाँ लागत अनुमान गरिएकोमा १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छ । गत आवमा छुट्याइएको कुल बजेटमध्ये ९६ प्रतिशत खर्च गर्न सकेको थियो । गत वर्ष फास्ट ट्र्याकको लागि सरकारले पाँच अर्ब ७३ करोड रुपैयाँ छुट्याएको थियो । ललितपुरको खोकना, चाल्नाखेल, मकवानपुरको इपा, गढी, छतिवन र लालगाउ“ हु“दै बाराको निजगढ जोडिने द्रुतमार्ग काठमाडौंबाट एकघण्टा दुई मिनेटमा पुग्न सकिने बताइएको छ ।
काठमाडौंलाई तराईसँग जोड्ने बहुप्रतिक्षित द्रुतमार्ग निर्माणको चर्चा २०४९ सालदेखि नै चलेको हो ।
२०४९ सालमा डानिडाबाट उक्त मार्गको पहिलोपटक सम्भाव्यता अध्ययन भएको थियो । त्यसपछि २०६४ सालमा एसियाली विकास बैैंकले विस्तृत सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययनपछि निजी साझेदारीमा निर्माण गर्नको लागि अन्तर्राष्ट्रिय आशयपत्र आह्वान भएको थियो । २०६६-६७ मा सरकारले बजेट कार्यक्रममा द्रुतमार्गको ट्र्याक खोल्ने उल्लेख गरेको थियो । त्यसयता २०७० सालसम्म निजी साझेदारीमा मार्ग निर्माणको लागि तीन पटकसम्म आशयपत्र आह्वान भएको थियो । अन्ततः २०७४ सालमा सरकारले नेपाली सेनालाई फास्टट्र्याक निर्माणको पूर्ण जिम्मा दिएको थियो ।
रोशन थापा/ केशव समर्पण