ओली र मोदीले रिमोटबाटै पाइपलाइन उद्घाटन गर्ने «

ओली र मोदीले रिमोटबाटै पाइपलाइन उद्घाटन गर्ने

नेपाल र भारत पेट्रोलियम पाइपलाइनको दुवै देशका प्रधानमन्त्रीले दुई सातापछि उद्घाटन गर्ने भएको छन् । भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आआफ्नै देशमा रहेर रिमोट कन्ट्रोलमार्फत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने भएका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ओली र मोदीबाट पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिएको छ । दुवै मुलुकका प्रधानमन्त्रीले आफ्नै कार्यकक्षबाट एकसात संयुक्तरूपमा रिमोटबाट पाइपलाइनको उद्घाटन गर्ने तयारी रहेको मन्त्रालयले जानकारी दिएको छ ।
मोदीले उद्घाटन गरेसँगै मोतिहारीमा पाइपलाइनको भल्व खुल्ने र ओलीले उद्घाटन गरेपछि अमलेखगन्जमा रहेको पाइपलाइनको भल्व खुल्ने छ । दुई देशका प्रधानमन्त्रीले स्वीच अन गरेर पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । दुई देशका प्रधानमन्त्रीले संयुक्तरूपमा पाइपलाइनको उद्घाटन गरेसँगै नियमितरूपमा पाइपलाइनबाट तेल आयात हुने छ । रिमोटबाट पाइपलाइनका उद्घाटन गरेपछि अमलेखगन्ज, मोतिहारी, दिल्ली र बालुवाटारमा स्क्रीनबाट देखिने छ । उद्घाटन गरिएसँगै नियमितरूपमा पाइपबाट तेल आयात हुने नेपाल आयल निगमले जानकारी दिएको छ । यसबाट दैनिक तीन हजारदेखि तीन हजार पाँच सय किलोलिटरसम्म डिजेल आयात गरिने छ । पाइपलाइनबाट आएको डिजेल बाराको अमलेखगन्जमा रहेको डिपोमा जम्मा गरिने छ । लामो समय देखि चर्चामा रहेको पाइपलाइन बिच्छ्याउने काम एक महिनाअघि नै सकिएको थियो ।
२०७३ चैत २४ देखि पाइपलाइनको निर्माण कार्य सुरु भएको थियो । पाइपलाइन बिच्छाउने काम तिव्ररूपमा विस्तार भएकाले तोकिएको समयभन्दा अगाडि नै निर्माण कार्य सम्पन्न भएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । उद्घाटनभएपछि पाइपलाइनमार्फत नियमतिरूपमा तेल आयात गरिने उनले जानकारी दिए । निर्माण कार्य सुरु भएको ३० महिनाभित्रमा सम्पन्न गर्ने सम्झौता भएको थियो ।
पाइपबाट ढुवानी गरेको तेल भन्डारण गर्नका लागि बाराको अमलेखगन्जमा दुईवटा ४१ सय किलोलिटरका र दुई वटा ३९ सय किलोलिटरका ट्यांकी निर्माण कार्य सम्पन्न भइसकेका छन् ।भारतको मोतिहारीदेखि बारा जिल्लाको अमलेखगञ्जसम्म ७० किलो मिटर लम्बाइ भएको सो पाइपलाइन भारतीय आयल कर्पाेरेशन (आइओसी) र निगमको संयुक्त लगानीमा निर्माण भएको छ । भारतको दुई अर्ब र निगमको ७५ करोड भारु लागतमा सम्पन्न सो परियोजना निर्माण कार्य सम्पन्न हुन लागेको हो ।
पाइपलाइन बनेपछि ट्यांकरबाट ढुवानी हुँदै आएको पेट्रोलियम पदार्थ पाइपबाट आउनेछ । परियोजना निर्माण सम्पन्न भएपछि नेपाललाई वार्षिक करिब दुई अर्ब रूपैयाँ फाइदा हुनेछ । पेट्रोलियम ढुवानी लागत सस्तो हुने, चोरी, चुहावट र मिसावट, तेल ट्यांकर हिँड्दा हुने ट्राफिक जामजस्ता समस्या समाधान हुने छन् । पाइपलाइनबाट तेल ल्याउँदा वातावरण प्रदूषणसमेत स्वतः नियन्त्रण हुन्छ । यस अघि ट्यांकरबाट तेल ढुवानी गर्दा वातावरण प्रदूषण धेरै हुने गरेको थियो । पाइपलाइनबाट तेल ल्याउदा बजारमा इन्धनको आपूर्ति व्यवस्था सहज हुन्छ । यस अघि ढुवानीमा साामन्य अवरोध हुनासाथ बजारमा इन्धनको अभाव हुने गरेको थियो । निगमसँग प्रयाप्तमात्रामा इन्धन ढुवानी गर्ने भन्डारण स्थल नभएकाले आपूर्तिमा सामान्य अवरोध हुँदा साथ बजारमा उपभोक्ताले अभाव खेप्नुपरेको थियो । पाइपलाइनबाट तेल ल्याउँदा ढुवानी बापतको २ अर्ब रूपैयाँ बचत हुनेछ । साथै ढुवानी खर्च वचत भएपछि उपभोक्ताले सस्तो मुल्यमा तेल पाउने छन् । रक्सौलदेखि अमलेखगन्जसम्म पाइपलाइनबाट इन्धन ढुवानी गर्दा प्रतिलिटरमा ६० पैसा कम हुने निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्