विराटनगर सुनसान, जोगबनीमा घुइँचाे
विराटनगर– नेपालीहरूको महान् चाड बडादसैं र तिहार नजिकिए पनि विराटनगरका व्यापारीहरू खुसी छैनन् । एकातिर आर्थिक मन्दी अर्कातिर नेपाली उपभोक्ताको आकर्षण जोगबनीतर्फ बढेको छ । दसैंको किनमेलका लागि सीमावर्ती भारतीय बजार जोगबनीमा नेपाली उपभोक्ताका कारण खुट्टा राख्ने ठाउँसम्म छैन । तर, विराटनगर बजार भने सुनसान देखिएको छ ।
केही महिनाअगाडि विराटनगरका व्यापारीको आग्रहमा विराटनगर महानगरपालिकाको समन्वयमा भन्सार नाका कडाइ गरिएको थियो । तर, स्थानीय प्रशासनको असहयोगका कारण भन्सार नाकाको कडाइ लामो समय टिक्न सकेन । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, खुद्रा व्यापार संघलगायतका संस्थाको आग्रहपछि महानगरले स्थानीय प्रशासन, प्रहरी, भन्सार, आन्तरिक राजस्व कार्यालय, उपभोक्तावादी संस्थालगायतका प्रमुख र प्रतिनिधिलाई बोलाएर छलफल गरेको थियो ।
उक्त छलफलले साउन १ देखि भन्सार नाकामा कडाइ गर्ने सहमति गरेको थियो । केही समय कडाइ गरिए पनि पछि खुला गरिएको थियो । ‘हामीले विराटनगरका व्यापारीको समस्या र गुनासो सुनेर भन्सार नाका कडाइ गर्न समन्वय मात्रै गरेका हौं,’ महानगरका मेयर नागेश कोइरालाले भने, ‘भन्सार कडाइ गर्ने र प्रहरी राख्ने अधिकार हामीलाई छैन । त्यो काम त नेपाल सरकारको हो । छलफलको सहमति कार्यान्वयनका लागि व्यापारिक संघसंस्थाहरूले पनि दबाब दिन सकेनन् ।’
भन्सार नाका खुला गरिएपछि सीमावर्ती जोगबनी बजारमा नेपाली उपभोक्ताहरूको अत्यधिक भीड लागेको छ । सरसामान बिक्री गर्न जोगबनीका व्यापारीलाई भ्याइनभ्याइ छ । सीमावर्ती बजार नेपाली उपभोक्ताले भरिभराउ हुँदा विराटनगरमा भने चाडबाडले छोपिसक्दासमेत खासै चहलपहल देखिएको छैन । विशेष गरी जोगबनीमा चिनी, मसला, भाँडाकुँडा, लत्ताकपडा, फलफूल र फेन्सी सामानहरू नेपाली बजारमा भन्दा १५ देखि २५ प्रति सस्तोमा पाइने भएकाले ग्राहकहरूले खाद्यान्नसँगै यस्ता वस्तुहरू खरिद गर्ने गरेका छन् ।
नेपाली उपभोक्ताहरूका कारण जोगबनीमा दैनिक ७ करोडभन्दा बढीको व्यापार हुने गरेको छ । जोगबनीका व्यापारी सन्तोषकुमार साहका अनुसार नेपाली उपभोक्ता नआउने हो भने बोहनीसमेत हुँदैन । नेपाली उपभोक्ताकै कारण जोगबनीको व्यापार चलेको छ । १५ दिनयता जोगबनीको व्यापार ६० प्रतिशतभन्दा बढीले बढेको साहको भनाइ छ । ‘असोज लागेपछि यहाँको व्यापार बढेको छ,’ उनले भने, ‘दिउँसो त सामान दिन पनि भ्याइँदैन । कतिपय उपभोक्ता पर्खिन नसकेर अर्कै पसलतर्फ जान्छन् ।’
यता विराटनगरको व्यापार भने दसैं नजिकिँदा पनि खासै बढ्न नसकेको खुद्रा व्यापार संघका अध्यक्ष सञ्जयकुमारसिंह मण्डल बताउँछन् । ‘जबसम्म नाकामा कडाइ गरिँदैन तबसम्म विराटनगरको व्यापार फस्टाउँदैन,’ मण्डलले भने, ‘व्यापार सुरु गरेको २५ वर्षभन्दा बढी भयो, यस्तो मन्दी त कहिल्यै पनि भोग्नुपरेको थिएन ।’ उनका अनुसार कोभिडपछि विराटनगरबाट १५ प्रतिशतभन्दा बढी व्यापारी पलायन भइसकेका छन् ।
सरकारी नीतिका कारण स्वदेशी बजारको प्रवर्द्धन हुन नसकेको अर्का व्यापारी जय शर्मा बताउँछन् । खाद्यन्नसहितका दैनिक उपभोग्य वस्तुको आयातमा भन्सार छुट दिनुपर्ने उनको सुझाव छ । आयातमा उच्च भन्सार लाग्दा जोगबनीसित यहाँका व्यापारीले प्रतिस्पर्धा गर्न नसक्ने उनको कथन छ । विगतमाभन्दा यसपटक विराटनगरको व्यापार झनै खस्किएको अर्का कपडा व्यापारी सोनुकुमार रजकको भनाइ छ ।
यसैबीच, विराटनगर भन्सार कार्यालयले भदौ महिनामा लक्ष्यको करिब ५७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०८०/८१ को भदौमा ५६.८१ प्रतिशत मात्रै राजस्व असुली गरेको हो । कार्यालयको तथ्यांकअनुसार भदौ महिनाका लागि ४ अर्ब ४५ करोड ६६ लाख राजस्व असुलीको लक्ष्य तोकिएकोमा २ अर्ब ५३ करोड १९ लाखमात्रै राजस्व असुली गरेको छ ।
साउनमा पनि विराटनगर भन्सार कार्यालयले लक्ष्यको ८१.५७ प्रतिशत मात्रै राजस्व असुली गरेको थियो । साउन महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई ३ अर्ब ४९ करोड ७६ लाख रुपैयाँ लक्ष्य तोकिएकोमा २ अर्ब ८५ करोड २९ लाखमात्रै असुली गरेको थियो । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा संकलन गरेको राजस्व अघिल्लो आर्थिक वर्षको सोही महिनामा संकलन गरेको राजस्वभन्दा कम हो ।
अघिल्लो आर्थिक वर्ष ०७९/८० को साउनमा विराटनगर भन्सार कार्यालयले २ अर्ब ९५ करोड १४ लाख १७ हजार राजस्व असुली गरेको थियो । यस्तै भदौमा ३ अर्ब ११ करोड १ लाख असुली गरेको थियो । विराटनगर भन्सार कार्यालयको राजस्व घट्नुमा देशभित्रको आर्थिक गतिविधि सुस्त हुनु नै मुख्य कारण रहेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले बताए ।